पर्सामा मलको अभाव



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साको ग्रामीण क्षेत्रहरूमा गहुँको लागि चाहिने युरिया र डीएपी मलको अभाव भएको छ ।सरकारबाट प्राप्त भएको अनुदानको मल वितरण व्यवस्थापन गर्ने निर्देशिकाअनुसार मल वितरण व्यवस्थापन समितिको संयोजक पालिकाको उपप्रमुख र सदस्य प्रमुख प्रशासकीय अधिकृत र कृषि शाखा प्रमुख सदस्य सचिव हुनेगरी तीन सदस्यीय समिति गठन गरिएको भए पनि पालिकाको नियम मापदण्डविपरीत कृषि सहकारीहरुले मलखाद जथाभावी बिक्री वितरण गर्दा किसानले मल पाउन सकेका छैनन् ।

पालिका र जिल्लास्तरीय निकायबाट अनुगमन नहुँदा वडाको लागि ल्याइएको मलखाद बाटोबाटै अन्यत्र बिक्री वितरण हुने गरेको सखुवा प्रसौनी गाउँपालिकाका किसान शम्भु यादवले बताउनुभयो । अर्का किसान बिनोद यादवका अनुसार प्रसौनी र कौवावन टोलमा अनुदानमा किसानको लागि पालिकाबाट आएको जुनसुकै सेवा सुविधा स्वतन्त्र रुपमा सबैले नपाउने गरेको बताउनुभयो । पालिकामा वितरण गरिएको मलखाद जनप्रतिनिधिको आसेपासेलाई मात्र पाउने गरेको किसानको गुनासो छ । सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर ५ महुवानमा मात्रै एक दर्जनको हराहरी खादमलको कारोबार गर्ने सहकारी रहेका छन् । पालिका भरी २५ वटा मलखाद बिक्री वितरण गर्ने सहकारीहरु रहेको तर ती संस्थाहरुको सरकारले तोकेको आवश्यक मापदण्डअनुसार नरहेको गाउँपालिकाकी उपाध्यक्ष फुलमतिदेवी थरुनीले बताउनुभयो ।

सरकारी मापदण्ड अनुसार कर चुक्ता, नवीकरण र संस्थाको होडिङ बोर्ड, भण्डारण पसल इत्यादी नरहेको, संस्थाका पदाधिकारीको नाम विवरण लगायतका कागजात सबै जसो सहकारी संस्थाको चुस्त दुरुस्त नरहेको गुनासो स्थानीयले गर्ने गरेको गाउँपालिकाकी उपाध्यक्ष फुलमतिदेवी थरुनीले बताउनुभयो । सबैको प्रभावकारी अनुगमन गरी आवश्यक कागजात पालिकामा झिकाई मलखादको कारोबार गर्न कसलाई दिने कसलाई नदिइने भन्ने विषयमा आवश्यक प्रक्रिया बुझेर मात्र टुंगो लगाईने सखुवा प्रसौनी गाउँपालिकाकी उपप्रमुख फुलमतीदेवीको भनाइ छ । सखुवा प्रसौनीमा एउटै परिवारका सदस्यहरुको तीन वटा सहकारी संस्थाबाट मलखाद लिएर विक्री वितरण गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्