फुङ्लिङको अभियान ‘आफ्ना लागि आफ्नै भवन’



नेपाल समाचारपत्र, ताप्लेजुङ ।

ताप्लेजुङको फुङलिङ नगरपालिकाले ‘आफ्ना लागि आफ्नै भवन’ नीति ल्याएर आफ्नो प्रशासकीय भवनसहित ११ वटा वडा कार्यालय निर्माण कार्य शुरु गरेको छ ।

भाडामा रहेको नगरपालिका आउँदो आर्थिक वर्षको शुरुमै फुङ्लिङ नगरपालिका–७ स्थित आफ्नै भवनमा सर्ने फुङ्लिङ नगारपालिका मेयर छत्रपति प्याकुरेलका बताउनुभयो । नगरपालिकाको भवन अहिले निर्माणाधीन अवस्थामा छ । ‘आफ्ना लागि आफ्नै भवन’ अभियानअन्तर्गत फुङ्लिङ नगरपालिका–४ ले शनिबारबाट भवन निर्माण कार्य प्रारम्भ गरेको छ । नगरपालिकाको न्युरोड क्षेत्र नजिक उसले भवन बनाउन शुरु गरेको हो । वडा नं ४ को प्रशासकीय भवनको शनिबार फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले शिलान्यास गर्नुभएको छ । नगर उप्रमुख बमबहादुर भट्टराई, प्रमुख प्रशासकीय अधिकृत बद्रीकुमार कार्की, कार्यपालिका सदस्य र नगरसभाका सदस्यसहितको उपस्थितिमा भवनको शिलान्यास गरिएको हो । आउँदो वैशाखभित्रमा भवन पूरा भई वडापालिकाले नयाँ भवनबाट वडाको सेवा सुचारु गर्ने फुलिङ नगरपालिका–४ का वडाध्यक्ष जितेन चेम्जोङ बताउनुहुन्छ ।

फुङ्लिङस्थित डेभिड निर्माण सेवाले दुई तला भएको पाँचकोठे (शौचालय तथा नुहाउने कक्षसहित) भवन भ्याटसहित ५२ लाख लागतमा बनाउने गरी ठेक्का पाएको छ । भवनको कुल अनुमानित लागत अनुमान भने भ्याटसहित ७४ लाखको रहेको वडाध्यक्ष चेम्जोङले बताउनुभयो । नगरपालिकाका अनुसार ११ वटा वडामा आफ्नै भवन बनाउन शुरु गर्ने वडा नं ४ दोस्रो वडा भएको छ । यसअघि वडा नं १ ले पनि आफ्नै प्रशासकीय भवन बनाउन शुरु गरिसकेको छ । नगरप्रमुख प्याकुरेलले यही कार्यकालमा नगरपालिका र नगरभित्र रहेका वडाका आफ्नै प्रशासकीय भवन बनाउने वचनबद्धता दिए अनुरूप धमाधम भवन बन्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्