उपाधि विजेता मुण्डियालका खेलाडी सम्मानित



न्युज अफ नेपाल, हेटौंडा ।

हालै सिराहाको बन्दीपुरमा सम्पन्न राष्ट्रव्यापी आमन्त्रित उपमेयर प्रशिक्षणात्मक फुटबल प्रतियोगिताको उपाधि विजेता हेटौंडाको एफसी मुण्डियालका खेलाडीलाई नगदसहित पुरस्कृत र सम्मान गरिएको छ । हेटौंडा–५, पिप्लेस्थित पिप्ले युवा क्लबको समन्वयमा भएको सम्मान कार्यक्रममा हेटौंडा उपमहानरपालिका–५ वडा अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यता थियो ।

पिप्ले युवा क्लब अध्यक्ष सुशील घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष सानु लामा, मकवानपुर जिल्ला फुटबल संघ अध्यक्ष टीका लामा, जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख खुशराज दाहाल, एन्फाका पूर्वकेन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ र टिमका प्रमुख प्रशिक्षक सुबिन घिमिरेको उपस्थिति थियो ।

सोमबार भएको फाइनलमा एफसी मुण्डियालले दुई लाख २२ हजार रुपियाँ नगदसहित उपाधि जितेको थियो । कर्जन्हा नगरपालिका वडा–२, बन्दीपुरको मैदानमा भएको फाइनलमा मुण्डियालले चर्च ब्वाइज युनाइटेडलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

पहिलो हाफमा रवि थिङले गोल गर्दै मुन्डियाललाई १–० अग्रता दिलाएका थिए । दोस्रो हाफमा अफ्रिकी खेलाडी हमजद होसिउले थप १ गोल गर्दै मुन्डियाललाई सहज जित दिलाए ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी मुण्डियालका डिफेन्डर जनक कार्की, उत्कृष्ट गोलरक्षक मुण्डियालकै अनिष देउला घोषित भए भने फाइनल खेलको म्यान अफ दी म्याच पनि एफसी मुण्डियालकै थिङ भए ।

प्रतिक्रिया दिनुहोस्