जेष्ठ नागरीकलाई गाह्रो, भत्ता लिन अब बैक जानुपर्ने



पनौती, काभ्रे ।

यस अघि वडा कार्यालयबाट भत्ता वुझ्दै आएका जेष्ठ नागरीकहरुले अब बैकिङ प्रणाली मार्फत मात्र रकम प्राप्त गर्ने भएका छन् । सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतका सम्पुर्ण भत्ता बैकिङ प्रणाली मार्फत भुत्तानी दिने भएपछि सामाजिक सुरक्षा कार्यक्रमका लाभग्राहीले अनिवार्य बैक खाता खोल्नु पर्नेछ ।

बैकको उपलब्धता र साधन स्रोतलाई हेरेर आर्थिक वर्ष ०७८/८९ सम्म देशभरी नै बैंक मार्फत भुत्तानी दिने भएपछि बैकिङ क्षेत्रको पहुच नभएको र दुरदराजमा यो समस्या देखिने भएको छ । साथै, सामाजिक सुरक्षा कार्यक्रमका हिडडुल गर्न नसक्ने लाभग्राहीलाई समेत थप सकस हुने देखिन्छ ।

नेपाल सरकार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गत सञ्चालित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ७० वर्ष माथिका जेष्ठ नागरिकलाई मासिक ३ हजार भत्ता उपलब्ध गराईदै आएको छ भने ६० देखि ७० वर्ष सम्मका जेष्ठ दलित नागरिकलाई मासिक २ हजार रुपैया उपलब्ध गराईदै आएका छ । यो कार्यक्रम अन्तर्गत ६० वर्ष माथिका एकल महिला र ६० वर्ष मुनिका विधुवा महिलालाई मासिक दुई/दुई हजारको दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराईदै आएको छ । साथै अपाङ्ग नागरिकलाई ‘क’ र ‘ख’ मा वर्गिकरण गरि मासिक ३ हजार र २ हजार भत्ता उपलब्ध गराईदै आएको छ । यो कार्यक्रम अन्तर्गत ५ वर्ष मुनिका दलित बाल बालिककालाई पनि बाल पोषण खर्च बापत मासिक चारसय रुपैया दिइन्छ ।

पनौती नगरपालिकाका सामाजिक विकास सहायक केशव वञ्जारा

सरकारले बैकिङ प्रणाली मार्फत रकम भुत्तानी गर्ने सुचना जारी गरेपछि पनौती नगरपालिकाले पनि सबै लाभग्राहीहरुलाई बैकिङ प्रणाली मार्फत रकम भुत्तानी गर्ने तयारी गरिरहेको छ । पनौती नगरपालिकाका सामाजिक विकास सहायक केशव वञ्जाराले जानकारी दिएअनुसार पनौती नगरपालिकाले सकेसम्म यहि चौमासिक वा तेस्रो चौमासिक सम्ममा बैकिङ प्रणालीमा जाने तयारी गरेको हो ।

पनौती नगरपालिकाले विशेष समाजिक सुरक्षा कार्यक्रम भन्दै नगरपालिकाको कोषबाट अविवाहित महिला, सम्बन्ध विच्छेद भएका महिला र पति वेपत्ता भएका महिलालाई पनि भत्ता दिदै आएको छ । नगरपालिकाका सामाजिक विकास सहायक वञ्जाराका अनुसार विशेष सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ३५ वर्ष देखि ६० वर्ष सम्मका अविवाहित महिला, पति संग सम्बन्ध विच्छेद भएका महिला र १५ वर्ष देखि पति बेपत्ता भएका महिलालाई नगरपालिकाको कोषबाट मासिक १ हजार ५ सय भत्ता उपलब्ध गराउदै आएको छ । पनौती नगरपालिकामा अहिले सम्म यो कार्यक्रमम अन्तर्गत भत्ता लिनेको संख्या अविवाहित महिला १ सय ४० जना, सम्बन्ध विच्छेद भएका महिला ५ जना र पति बेपत्ता भएका महिला २३ जना छन् । यो कार्यक्रम अन्तर्गत नगरपालिकाको अहिले वार्षिक ३० लाख भन्दा बढी खर्च भैरहेको छ ।

अघिल्लो चौमासिकमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत पनौती नगरपालिकामा भत्ता वुझ्नेको संख्या ३ हजार ९ सय ४० थियो । जस अन्र्तगत जेष्ठ नागरिकको संख्या १ हजार ६ सय ४२ थियो भने जेष्ठ नागरिक दलितको संख्या १ सय १४ थियो । यसैगरि एकल महिलाको संख्या १५ थियो भने विधवा महिलाको संख्या १ हजार ७ सय १० थियो । पुर्ण अपाङ्गको संख्या १ सय ६ थियो भने अति अशत्त अपाङ्गको संख्या १ सय ६४ थियो । वाल पोषण भत्ता पाउनेको संख्या १ सय ८९ थियो ।

पनौती नगरपालिकाका सामुदायिक विकास सहायक बञ्जाराका अनुसार सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत जम्मा लभग्राहीको संख्या ४ हजार १ सय १४ भएपनि केहि भत्ता लिन नआउने तथा केहिको मृत्यु भएकोले यो संख्या घटेर ३ हजार ९ सय ४० भएको हो । आर्थिक वर्ष २०७६/७७ मा पनौती नगरपालिकामा सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत ११ करोड ४५ लाख ४ हजार निकासा भएकोमा ११ करोड ४२ लाख १९ हजार ४ सय वितरण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्