मंगलयात्राको सपना बोकेको स्पेसएक्सको रकेट परीक्षणमा विस्फोट



वासिङ्टन, (एजेन्सी)
अमेरिकी उद्योगपति तथा स्पेसएक्स कम्पनीका मालिक एलन मस्कको मंगल ग्रह जाने सपनालाई ठूलो धक्का लागेको छ । स्पेसएक्सको अन्तरिक्ष रकेट बुधबार टेक्सासको तटमा परीक्षण प्रक्षेपणका क्रममा भयानक विस्फोटसँगै ध्वस्त भएको छ ।

उक्त शक्तिशाली रकेट भविष्यमा मंगलग्रह यात्रामा प्रयोग गर्न सकिने कम्पनीको अपेक्षा थियो । विस्फोटका बाबजुद पनि स्पेसएक्सले यसलाई सानदार परीक्षण भनेको छ र पूरै स्टारसिप टोलीलाई बधाई दिएको छ ।

टेस्ला गाडी उत्पादन गर्ने कम्पनीका मालिक एलन मस्कले पनि उक्त प्रक्षेपणको केही मिनेटपछि ट्विट गरी भनेका थिए, ‘मंगल ग्रह, हामी आउँदै छौं’ । यद्यपि, पछि उनले रकेटको अवस्थाको जानकारी दिँदै रकेट अत्यन्त तीव्र वेगमा अवतरण भइरहेका कारण यसमा विस्फोट भएको बताए ।

उनले उक्त रकेटको सफल पक्षको स्मरण गर्दै भने, स्टारसिप रकेटले टकअफ ग¥यो र उडानका क्रममा आफ्नो स्थिति परिवर्तन ग¥यो र अवतरणका लागि ठीक–ठीक प्रक्षेपण पथमा आइसकेको थियो ।

एलन मस्कले ट्विट गरे– ‘हामी ती सबै आँकडा हासिल गरिसकेका छौं जसको हामीलाई आवश्यक थियो ।

स्पेसएक्स टोली तपाईंहरूलाई बधाई’ ।

बुधबार प्रक्षेपणमा रकेट सही समयमा उडान भरेको र सीधा माथि गएको थियो । यस क्रममा रकेटको अर्को इन्जिन चल्न थाल्यो । करिब चार मिनेट ४५ सेकेन्टको उडानपछि रकेटको तेस्रो इन्जिन चल्न थाल्यो र रकेट अत्यन्तै कुशल तरिकाले आफनो अपेक्षित स्थितितर्फ बढेको थियो ।

स्टारसिपको इन्जिन अवतरणको केही समय पहिला पुनः सुरु गरियो ताकि रकेटको गतिलाई सुस्त गर्न सकून् । तर, त्यस्तो हुन सकेन र रकेट आगोको गोलामा परिणत भयो । त्यसलगत्तै रकेट जमिनमा बज्रियो । एलन मस्क प्रकाशको गतिमा चल्ने रकेट बनाउन चाहन्छ ताकि त्यसलाई मंगल ग्रहमा पठाउन सकून् । यसअघि कयौंपटक यो रकेटको परीक्षण नगरेर समय सारिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्