राजमार्गमा विमान अवतरित



न्युयोर्क, (एजेन्सी)

अमेरिकाको मिन्नियापोलिसको एउटा व्यस्त राजमार्गको इन्टरस्टेटमा अचानक एउटा सानो विमान अवतरण हुँदा त्यहाँ सवारीसाधन चलाउँदै गरेका ड्राइभरहरू अक्क न बक्क भएका छन् । इन्जिनमा खराबी आएपछि सो विमानलाई त्यसरी राजमार्गको बीच भागमा अवतरण गरिएको बुझिएको छ ।

मिन्नियापोलिसदेखि करिब सात माइल उत्तर–पूर्वमा पर्ने आर्डन हिल्सको इन्टरस्टेट ३५ वेस्टमा सो विमानको आपतकालीन अवतरण गरिएको थियो । राम्से काउनिट सेरिफको फेडरेसनले सो विमानको इन्जिन फेल भएको अनुमान गरेको छ ।

मिन्नेसोटा यातायात विभागले जडान गरेका क्यामेराबाट यस अस्वाभाविक अवतरणको भिडियो खिच्न सफल भएका छन् । प्रहरीका अनुसार बेल्लान्का भाइकिंग विमान अवतरणको क्रममा एउटा कारसँग ठोकिए पनि कसैलाई कुनै चोटपटक लागेको छैन । पायलट मिन्नियापोलिस निवासी ५२ वर्षीय क्रेग गिफोर्ड रहेका छन् ।

सोखका लागि मात्र विमान चलाउने उनी अन्तर्राष्ट्रिय एरोब्याटिक उडान टोलीका सदस्य रहेको डब्ल्यूसीसीओ टेलिभिजनले जनाएको छ । यस घटनापछि घण्टांैसम्म सो राजमार्ग अवरुद्ध हुनपुगेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्