बन्जी र स्विङमा आन्तरिक पर्यटकको ओइरो



दुर्गाप्रसाद शर्मा, पर्वत

कोभिड–१९ का कारण सधैं पर्यटकले भरिभराउ हुने धेरै स्थान अहिले सुनसान छन् । तर, केही पर्यटकीयस्थल भने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेका छन् । यस्तै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको पर्यटकीय गन्तव्य हुन् कालीगण्डकी नदीको गहिरो खोंचमा बनेको विश्वकै दोस्रो अग्लो बन्जीजम्प र विश्वकै अग्ला पर्वतको सदरमुकाम कुस्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो झुन्डिएको पुलमा बनेको विश्वकै अग्लो बन्जी तथा स्विङ। यहाँ दैनिक सयौं आन्तरिक पर्यटक आउन थालेका हुन् ।

द क्लिफ प्रालिले निर्माण गरेको बन्जी, स्विङ र नेपालकै एक मात्र स्काई साइक्लिङ तथा गुलेली शैलीको पिङ व्यावसायिकरूपमा सञ्चालनमा आएपछि मुलुकभरबाट आन्तरिक पर्यटक ओइरिएका छन् । दैनिकरूपमा ५० जनाले बन्जी र स्विङ गरिरहेका छन् भने पुल, गुलेली पिङ खेल्ने तथा रिसोर्टमा आउनेको संख्या उल्लेख्य छ । ‘दैनिक ४० जनाभन्दा बढीले बन्जी गर्दै आउनुभएको छ’, द क्लिफका अध्यक्ष राजु कार्कीले भन्नुभयो– ‘अग्रिम बुकिङ नगरी आउनेले त्यसै फर्कनुपर्ने अवस्था पनि छ ।’

महेन्द्रनगर, पोखरा, काठमाडांै, बुटवलदेखि आउनेहरुको संख्या उल्लेख्य छ । कम्पनीले दैनिक ४० जना भने पनि भीड हुने दिनमा १ सय जनासम्मले बन्जी गरिरहेका छन् । कालीगण्डकीको खोंचमा झन्डै २८ करोड रुपियाँको लगानीमा साहसिक खेलको परियोजना तयार भएको हो । प्रालिले कात्तिक १५ गतेदेखि औपचारिकरूपमा सबै साहसिक पर्यटकीय खेलहरु सञ्चालनमा ल्याएको थियो ।

५ सय २५ मिटर लामो झोलुंगे पुलको बीचमा कालीगण्डकी नदीको ठीक माथि बन्जी र स्विङका लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ । खोलादेखि पुलको उचाइ २ सय २८ मिटर अर्थात् ७ सय ४८ फिट छ । हाल विश्वकै अग्लो बन्जी मकाउमा ७ सय ६४ फिट उचाइमा र दोस्रो अग्लो स्विजरल्यान्डको भरजस्का बाँधमाथि ७ सय २० फिट उचाइमा छ ।

द क्लिफ प्रालिको यो परियोजनापछि स्विरल्यान्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो र पुलमा बनेको विश्वकै अग्लो बन्जीका रूपमा स्थान पाएको छ । बन्जी र स्विङ दुवैको मूल्य ७ हजार तोकिएको छ । पोखरादेखि कुस्माको दुईतर्फी गाडीको सुविधासहित बन्जी वा स्विङको ८ हजार ४ सय ५० रहेको छ । टेन्डम (जोडी) स्विङको १२ हजार मूल्य निर्धारण गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

बन्जीमा नेपालकै एक मात्र गुलेली शैलीको पिङ पनि निर्माण गरिएको छ । बन्जीका लागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ भने सोभन्दा माथि बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ । जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङभन्दा फरक छ । यो गुलेलीको शैलीमा निर्माण गरिएको छ । सामान्यतया पिङमा अरूले हल्लाइदिनुपर्ने हुन्छ । तर, यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडिबाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ । पिङ खेल्न प्रतिव्यक्ति २ सय ५० रुपियाँ निर्धारण गरिएको छ ।

यसै गरी, स्टिल कोर केबल प्रयोग गरी स्काई साइक्लिङ तयार गरिएको छ । विश्वकै सबैभन्दा उचाइमा सञ्चालित कालीगण्डकी खोंचको स्काई साइक्लिङ २ सय २८ मिटर अग्लो छ भने लम्बाइ ३ सय मिटर छ । दुईतर्फी ३ सय मिटर लम्बाइ रहेको रुटमा एकपटकमा दुई जनाले साइक्लिङ गर्न मिल्ने अध्यक्ष कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्