द भ्वाइस अफ नेपालको अडिसन शुरू



गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–३ को डिजिटल अडिसन शुरु भएको छ। द भ्वाइस अफ नेपाल हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ। सोको तेस्रो सिजनका लागि शनिबारबाट डिजिटल अडिसन शुरु भएको हो। द भ्वाइस अफ नेपालको प्लेटफर्ममार्फत सांगीतिक करियर निर्माण गर्न चाहने प्रतिभाले अडिसनमा सहभागी हुन पाउने छन्।

१६ वर्ष उमेर पुगेका युवादेखि ४५ वर्षसम्मका प्रतिभाले यो रियालिटी शोमा भाग लिन पाउनेछन्। डिजिटल अडिसनमार्फत आफ्नो गीतको भिडियो रेकर्ड पठाई यसमा आवेदन गर्न सकिने आयोजकले जनाएका छन्। अडिसनमा नेपाली नागरिकमात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपालीमूलका विदेशी वा विदेशी नागरिक पनि सहभागी हुन सक्नेछन्। यस्ता प्रतिभा अडिसन दिन वा कार्यक्रममा सहभागिता जनाउनका लागि काठमाडांैमा भौतिकरूपमै उपलब्ध हुन सक्ने हुनुपर्छ।

कुनै पनि डिजिटल माध्यममा पहुँच नहुने प्रतिभा पनि यो अडिसनबाट वञ्चित हुनुनपर्ने आयोजकले जनाएका छन्। इन्टरनेटको पहुँच नभएका प्रयोगकर्ताले द भ्वाइस अफ नेपालको उत्पादन टिमलाई सम्पर्क गरेर पनि अडिसनका लागि समन्वय गर्न सक्नेछन्।

सिजन–२ मा आफ्नो टिमका राम लिम्बुलाई उपाधि दिलाउन सफल टिम प्रमोदका कोच तथा गायक प्रमोद आचार्यले सिजन–३ को उपाधिका लागि दाबेदारीसहित अडिसनमा आउन नवप्रतिभाहरुलाई आह्वान गरेका छन्। यस्तै सिजन–२ देखि भ्वाइसमा आबद्ध भएका कोच राजु लामाले पनि सिजन–३ मा नयाँ–नयाँ प्रतिभासँग काम गर्न आफू निकै उत्साहित रहेको बताउँछन् ।

द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलका अनुसार डिजिटल अडिसनमार्फत सहभागी भएका प्रतिभाको क्षमता परीक्षणपछि १ सय जना प्रतिभालाई ब्लाइन्ड अडिसनमा सहभागी गराइनेछ। ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही बिन्दुबाट शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्