आँधीखोला गाउँपालिकाद्वारा आँधीखोलामा ५२ हजार माछाका भुरा छोडियो



भूपराज बस्याल, स्याङ्जा ।

आँधीखोला गाउँपालिकाद्वारा पर्यावरणीय सन्तुलन कायम गर्न आँधीखोलामा ५२ हजार माछाका भुरा छोडिएको छ ।गाउँपालिकाले स्याङ्जा स्थित कालीगण्डकी माछा प्रजनन केन्द्रबाट १४ पोका भुरा ल्याएर आँधीखोलाको विभिन्न ७ ठाउँमा छोडेको हो । माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा छाडिएको गाउँपालिकाले जनाएको छ ।

आयातित माछाका प्रजातिका कारणले परम्परागत र स्थानीय माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुभयो । “नदी, ताल र तलाउको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुन्छ, जैविक विविधता नभएको नदी तथा तालको कुनै महत्व हुँदैन” उहाँले बताउनुभयो ।

खोलामा साना भुरा छोड्दा बकुल्लो लगायतका विभिन्न चरा तथा सर्पले समेत खाने सम्भावना बढि रहेकाले कम्तीमा पनि १० देखि १५ ग्रामका माछा छोडिएको कृषि प्राविधिक विवेक आचार्यले बताउनुभयो । ठेडे, हाँडे र गर्दी जातको माछाका भुरा जलाशयमा ल्याएर आँधीखोलामा छाडिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्