महानगर दिवसको अवसरमा ‘मृगौला बचाउन अभियान’ घोषणा गर्दै काठमाडौं महानगर

कोभिड–१९ अझै नियन्त्रणमा नआएकाले यो वर्ष राष्ट्रिय सभा गृहमा सीमित व्यक्तिहरुकाबीच कार्यक्रम आयोजना हुनेछ : मेयर शाक्य



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले यस पटकको महानगर दिवसका अवसमा ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने भएको छ । ‘यस बर्षको महानगर दिवसका अवसरमा ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने, काठमाडौं महानगरपालिकाले गरिरहेका पूर्वाधार विकास, सम्पदा निर्माण–पुननिर्माण, सेवा प्रवाहलगायतका सन्दर्भमा नागरिकको अभिमत लिनेलगायतको तयारी गरेका छौँ,’ आज बसेको २६ औं महानगर दिवस मुल समारोह समितिको बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘कोविड–१९ रोकथाम र नियन्त्रणका लागि विभिन्न विभिन्न प्रयास गर्दै आएको काठमाडौं महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा यस अघि पनि थुप्रै कार्यक्रम गर्दै आएको छ ।

रोग लागेपछि मात्रै उपचारका लागि अस्पताल जाने नभई रोग नै लाग्न नदिने वातावरण सिर्जना गर्नका लागि काठमाडौँ महानगरपालिकाले दक्ष चिकित्सकको टोलीसहित टोलटोलमै पुगेर मृगौला रोग लाग्नै नदिनका लागि के–कस्तो उपाय अपनाउनुपर्छ भन्ने जस्ता जनचेतनामुलक कार्यक्रम गर्नेलगायतको अभियान सञ्चालनका लागि ‘मृगौला बचाउ अभियान’ घोषणाको तयारी गरेको हो ।’

शाक्यले कोभिड–१९ अझै नियन्त्रणमा नआएकाले यो वर्ष राष्ट्रिय सभा गृहमा सीमित व्यक्तिहरुका बिच कार्यक्रम आयोजना गर्ने तयारी गरेको पनि जानकारी दिनुभयो । नागरिकको अभिमतका लागि तीन दिनसम्म महानगरका कालिमाटी चोक, कलंकी, बानेश्वर, कोटेश्वर, महाराजगञ्ज, बालाजु, बसन्तपुर, रत्नपार्क, न्युरोड, स्वयम्भू, पसुपति, लैनचौर, क्षेत्रपाटी, बागबजार, पुतलीसडक, त्रिपुरेश्वर, भाटभटेनी लगायतका विभिन्न ३० स्थानमा वुथ राख्ने तयारी महानगरपालिकाले गरेको छ । महानगरपालिकाले परम्परागत बाजा गुरु सम्मान, सुशासन पत्रकारिता पुरस्कार जस्ता विगतका कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिने बताएको छ ।

त्यसैगरी इन्द्रजात्रा सम्वन्धी ऐतिहासिक पुस्तक पनि विमोचनको गर्ने भएको छ । उत्कृष्ट वडा कार्यालय घोषणा र सम्मान कार्यक्रम पनि गर्ने भएको छ । काठमाडौंका पहिलो जननिर्वाचित सभापति स्व. जनकमान श्रेष्ठका नाममा यस बर्ष २ जना जनप्रतिनिधि र २ जना कर्मचारीलाई जनकमान श्रेष्ठ सुशासन पुरस्कार दिइनेछ । ४ जनाले पाउने यो पुरस्कार २ जना पुरुष २ जना महिलालाई प्रदान गरिने छ ।

१९७६ पुष ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको हो । यस बर्ष २६ औं दिवका कार्यक्रम सञ्चालन हुँदैछन् । म्हानगरका प्रमुख शाक्यको अध्यक्षतामा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरु सदस्य रहेको २६ औं महानगर दिवस मुल समारोह समिति गठन गरिएको छ । यसैगरी क्षेत्रगत कामका लागि विभिन्न उपसमितिहरु गठन गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्