फेरि राजनीतिक समस्या खडा गर्न खोजियो : प्रम ओली



नेपाल समाचारपत्र, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा फेरि राजनीतिक समस्या खडा गर्न खोजिएको बताउनुभएको छ । मंगलबार कीर्तिपुरको चोभारमा ‘शान्ति सुद्धम्मावासा’ जेष्ठ नागरिक आवास गृहको शिलान्यास गर्दै प्रमले उक्त कुरा बताउनुभएको हो ।

उहाँले राजनीतिक स्वार्थबाट देशमा कहिल्यै हित नहुने बताउँदै त्यस्ता स्वार्थ पूरा हुन नसक्ने जिकिर गर्नुभयो। सत्यभन्दा स्वार्थ बढी भएमा त्यसले कहिल्यै पनि शान्ति कायम गर्न नसक्ने प्रम ओलीले स्पष्ट पार्नुभयो ।

पछिल्लो समय मुलुकमा अशान्ति बढिरहेको तर्फ इंकित गर्दै ओलीले भन्नुभयो– ‘हामी नेपालीहरु बुद्धका अनुयायी हौं, हामी जहिल्यै पनि स्वार्थी नभई सत्यका पुजारी हुनुपर्छ ।’

नेकपा विप्लव समूहले मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठलाई डकैती शैलीमा हत्या गरेको बताउँदै त्यस्ता गतिविधि गर्नेलाई सरकारले कुनै हालतमा माफी नदिने समेत स्पष्ट पार्नुभयो ।

नेपालको पछिल्लो राजनीति अवस्थाप्रति कटाक्ष गर्दै उहाँले भन्नुभयो– ‘अहिले पंखा चलाएर आँधी ल्याउन खोजिरहेका छन्, त्यस्तो प्रवृत्तिलाई सफल हुन दिन्नौं ।’

कार्यक्रममा धर्म, आस्था र भगवान्को नाममा घृणा गर्ने कामलाई बन्द गर्नुपर्ने तर्क राख्दै प्रम ओलीले हरेक धर्म शान्ति र मेलमिलापका निम्ति भएको प्रसंग उठाउँदै अमेरिकाले आफ्ना सबै पाठ्यपुस्तकमा बुद्ध नेपालमा जन्मेको उल्लेख गरिसकेकाले अन्य मुलुकले बुद्ध अन्य देशमा जन्मेको हो भन्ने विषय तत्काल सच्याउनुपर्ने बताउनुभयो ।

यसअघि अमेरिकाले बुद्ध भारतमा जन्मेको भन्ने विषय पाठ्यपुस्तकमा समावेश गरेको थियो । प्रम ओलीले लुम्बिनीको गुरुयोजनाअनुसार दुई वर्षभित्र काम सक्ने गरी तयारी भएको जानकारी गराउँदै केही महिनाभित्रै लुम्बिनीमा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय ध्यानकेन्द्रको निर्माण सम्पन्न भइसक्ने बताउनुभयो ।

जेष्ठ नागरिक भवन निर्माण शुरु गरेकोमा खुसी व्यक्त गर्दै उहाँले यसलाई सरकारले पूरा गरेर छाड्ने वचनबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रम ओली र उहाँकी पत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले भूमिपूजा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले ७ वर्षको अथक प्रयासपछि सो भवन निर्माणले सार्थकता पाएको बताउनुभयो । उहाँले नगरपालिकाले भवन निर्माणमा सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा विहारकी प्रमुख एवं परियोजना प्रमुख डा. अनुजा गुरुमाले करिब ३० करोड लागतमा निर्माण गर्ने उद्देश्य रहेको भवनमा सबैको सहयोगको याचना गर्नुभएको थियो । उहाँले विहारले स्वास्थ्य, शिक्षा र बौद्ध शिक्षा, छात्रवृत्ति वितरणलगायतयका काम गरिरहेको जानकारीसमेत गराउनुभयो ।

भवनको विषयमा जानकारी गराउँदै शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले विहारका गुरुमा डा. अनोजा गुरुमाको लामो समयको प्रयासपछि निर्माण शुरु भएको बताउँदै यसलाई पूर्ण गर्न सरकारको सक्दो सहयोग हुने वचनबद्धता व्यक्त गर्नुभयो ।

प्रम पत्नी शाक्यद्वारा ५ लाख सहयोग
प्रधानमन्त्री पत्नी राधिका शाक्यले जेष्ठ नागरिक भवन निर्माण गर्न ५ लाख रुपियाँ सहयोग गर्नुभएको छ । सहयोग कार्यक्रमको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास कार्यक्रममा सहभागी हुनुभएकी शाक्यका तर्फबाट ५ लाख रुपियाँ सहयोग हुने बताउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्