विद्यालय खोल्न ललितपुर महानगरको अनुमति : सामुदायिकका साढे १६ हजार विद्यार्थीलाई निशुल्क मास्क र साबुन



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिकाले कोरोना संक्रमण (कोभिड -१९)ले झण्डै नौ महिनादेखि बन्द रहेका विद्यालय खोल्न अनुमति दिएको छ । महानगरप्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले विद्यालयले विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक समिति , वडा कार्यालयसँग समन्वय गरी विद्यालय खोल्न अनुमति दिने निर्णय गरेको हो ।

बैठकमा नगरप्रमुख चिरीबाबु महर्जनले भने, ‘विद्यालयको भौतिक पूर्वाधार , विद्यार्थी संख्या समान छैनन् , यी सबै कुरा मध्यनजर गर्दै विद्यालय कहिलेबाट र कसरी संचालन गर्ने निर्णय व्यवस्थापन समितिलाई दिएका छौं, त्यो प्रभावकारी हुन्छ । ’

उनले विद्यालय संचालन गर्दा नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड र विद्यालय संचालन कार्यविधि अपनाउन समेत निर्देशन दिए । नगरप्रमुख महर्जनले सामुदायिक विद्यालयलाई आवश्यक पर्ने साबुन, पानी र मास्क महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता व्यक्ति गरे । यसैगरी बैठकले स्वास्थ्यविज्ञ सहित महानगरले विद्यालय संचालनको अवस्था थाहा पाउन अनुगमन समितिले अनुगमन समेत गर्ने निर्णय गरेको छ ।

बैठकमा उपप्रमुख गीता सत्यालले व्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्ष हुने भएकाले विद्यालय कहिले र कसरी खोल्ने निर्णय समितिलाई दिँदा त्यो प्रभावकारी हुने स्पष्ट पारिन् । उनले भनिन् ,‘ विद्यालय खोल्दा स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्छ ,त्यसको अनुगमन महानगरपालिकाले गर्छ । ’

सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले विद्यालयले स्वास्थ्य मापदण्ड पुरा गरी विद्यालय संचालन गर्ने जिम्मा व्यवस्थापन समितिलाई दिँदा प्रभावकारी हुने स्पष्ट पारे । बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला पनि उपस्थिति थिए ।

महानगरका शिक्षा सल्लाहकार लोकबहादुर खड्काले प्रविधि प्रयोग गरी लामो समयसम्म अध्ययन गरिरहेका विद्यार्थीमा मनोवैज्ञानिक समस्या उत्पन्न हुनसक्ने बताउँदै भने, ‘नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड अपनाउँदै जतिसक्दो छिटो विद्यालय खोल्नुपर्छ । ’

उनले वडा कार्यलय र शिक्षक अभिभावक समितिसँग छलफल गरी विद्यालय व्यवस्थापन समितिले गर्ने निर्णय प्रभावकारी हुने स्पष्ट पारे । ललितपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र क्षेत्रीले विद्यालय संचालन गर्दा विद्यालयको पूर्वाधार, क्षमतालाई ध्यान दिनुपर्ने धारणा राखे । स्वास्थ्य विशेषज्ञसहितको अनुगमन समितिले विद्यालयको अनुगमन गर्ने बताए ।

। छलफलमा अभिभावक संघका केन्द्रीय अध्यक्ष केशव पुरा, अभिभावक महासंघका सुप्रभात भण्डारीले वर्तमान अवस्थामा विद्यालय संचालन संवेदनशील विषय भएको बताउँदै स्वास्थ्य सतर्कता, मापदण्ड पुरा गर्नुपर्ने बताए । बैठकमा प्याब्सन, एनप्याब्सन, नेपाल शिक्षक महासंघ महानगरपालिका प्रतिनिधि लगायतको सहभागिता थियो । ललितपुर महानगरमा सामुदायिक र संस्थागत गरी झण्डै दुई सय पचास विद्यालय छन् । ती मध्ये ४० सामुदायिक विद्यालय हुन् ।

प्रतिक्रिया दिनुहोस्