अब मोबाइल एप्सबाटै पढ्न सकिने



न्युज अफ नेपाल, काठमाडौं ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक विद्यार्थीलाई लक्षित गरी इ क्लास नेपाल मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । विद्यालय तहका विद्यार्थी तथा शिक्षकलाई तत्काल सेवा उपलब्ध गराउने उद्देश्यले सो एप्स सञ्चालनमा ल्याएको हो ।

एप्सको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गर्नुभयो । यस एप्समा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विकास गरी टेलिभिजनबाट प्रशारण गरिएका सबै पाठहरूमा रहेका पाठ्यपुस्तकहरूलाई अझ सरल ढंगबाट अध्ययन गर्न मिल्ने तथा शिक्षकहरूको लागि समेतउपयोगी हुने गरी विषयगत/कक्षागत शिक्षक निर्देशिका र पाठ्यक्रमहरू समावेश गरिएको केन्द्रका महानिर्देशक बैकृष्ठ अर्यालले बताउनुभयो ।

सामान्य मोवाइलमा, कम गतिको इन्टरनेट सेवा भएका स्थानबाट पनि सजिलै अध्ययन गर्न हेर्न मिल्ने गरी यी सामाग्रीहरू राखिएको जानकारी सहित विगतमा निश्चित समय तालिका अनुसार प्रशारण गरिएका पाठहरूलाई आफ्नो अनुकुल समयमा विद्यार्थीको सिकाइको गति अनुरुप हेर्न र अध्ययन गर्न सकिने भएकोले यो एप्स विद्यालय शिक्षा कक्षा १० सम्मका विद्यार्थीहरूको लागि निकै उपयोगी हुने उहाको भनाई छ ।

ई क्लास नेपाल नामको यो मोवाइल एप्स प्रयोग गर्दा विद्यार्थीहरूले आफ्नो सामान्य विवरण र मोवाइल नम्बर सहित विद्यार्थीको क्षेत्रबाट र शिक्षकले शिक्षकको क्षेत्रबाट प्रवेश गरी रजिष्टर गर्नुपर्ने व्यवस्था छ ।

एप्सका आफ्नो कक्षाको विषयगत रुपमा राखिएका Tutorial Class अन्तर्गत पाठअनुसारका श्रव्यदृश्य पाठहरू हेर्न सकिने छ । एप्समा पाठ्यपुस्तकहरू आफ्नो आवश्यकताअनुसारको पेजहरूमा गई अध्ययन गर्न सकिने छ । यसको अलावा शिक्षकहरूले शिक्षक निर्देशिका र विषयगत पाठ्यक्रमहरूको पनि आफ्नो आवश्यकतानुसार हेर्न र अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको महानिर्देशक अर्यालको भनाई छ ।

एप्सलाई अन्तरक्रियात्मक बनाउने उद्देश्यले विद्यार्थी मूल्याकनका लागि पाठअनुसारका प्रश्नहरू, नमुना प्रश्नपत्रहरू, सिर्जनशिलता प्रष्फुटन हुने खालका सामाग्रीहरू समेत समावेश गरी क्रमशः अद्यावधिक गर्दै लगिने उल्लेख गरीएको छ ।

कक्षा १ देखि १० सम्मका अनिवार्य विषय समावेश गरिएको एप्स एन्ड्राइभ मोवाइल तथा साधारण मोबाइलबाट शिक्षक तथा विद्यार्थीले प्रयोग गर्न सक्ने गरी तयार गरिएको छ ।

सो एप्सको उद्घाटनपछि सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक सत्रलाई क्षति हुन नदिनका लागि कक्षा १२ को परीक्षा सम्पन्न गरिएको र उच्च शिक्षाका लागि पनि विकल्पको खोजीका लागि छलफललाई अघि बढाएको बताउनुभयो । उहाले भन्नुभयो बदलिदो समयमा सूचना प्रविधिलाई अधिकतम प्रयोग गर्न यो एप्स प्रयोगमा ल्याएका हौ ।

प्रतिक्रिया दिनुहोस्