रोनाल्डो र मेसी आज आमने–सामने हुँदै



लन्डन, (एजेन्सी)

युरोपियन युएफा च्याम्पियन्स लिगअन्तर्गत मंगलबार हुने खेलमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो आमने–सामने हुने भएका छन् ।

मंगलबार राति १ बजेर ४५ बजे हुने खेलमा युभेन्टस् र बार्सिलोनाको खेल हुने भएपछि यी दुई दिग्गज खेलाडी एक अर्का टिमसँग भिड्न लागेका हुन् । यो खेल स्पेनको बार्सिलोना शहरस्थित केम्प नोउ रंगशालामा हुनेछ ।

इटालियन सिरी ‘ए’ टिम युभेन्टस र स्पेनी टिम बार्सिलोना च्याम्पियन्स लिगअन्तर्गत समूह ‘जी’ मा परेका हुन् ।

यी दुई टिमले यसअघि समूहको पहिलो लिग खेल २९ अक्टोबरमा खेलेको थियो । सो खेलमा बार्सिलोनाले युभेन्टस्लाई २–० ले हराएको थियो, जसमा मेसीले पेनाल्टीमा एक गोल गरेका थिए । तर, उक्त खेलमा कोरोना पोजेटिभ देखिएपछि रोनाल्डोले भने खेल्न पाएका थिएनन् ।

बार्सिलोनाले युभेन्टस्विरुद्धको खेलिएका १० खेलमध्ये ४ खेलमा जित हात पारेको छ । युभेन्टस्ले २ मा जित हासिल गरेको छ भने ४ खेल बराबरी नतिजामा टुंगिएको छ । आज राति हुने खेल यी दुईबीच ११औं भिडन्त हुनेछ । बार्सिलोना समूह ‘जी’को शीर्ष स्थानमा रहेको छ भने ३ अंकले पछि परेको युभेन्टस् दोस्रो स्थानमा छ ।

सो समूहका अन्य दुई टिम डायनामो किभ र फेरेन्भारोस निकै कमजोर भएपछि दुवै टिम च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगिसकेका छन् । किभ र फेरेन्भारोसले ५ खेलबाट मात्र १ अंक जोडेका छन् । आज राति हुने खेल शीर्ष स्थान को हुने भन्ने टुंगो लाग्नेछ ।

बार्सिलोनाले जित या बराबरी नतिजा निकालेमा शीर्ष स्थानमै हुनेछ । तर, युभेन्टस्को लागि भने जित मात्रै पर्याप्त हुनेछैन । इटालियन टिमले शीर्ष स्थानमा उक्लिन बार्सिलोनालाई कमसेकम ३ गोलको अन्तरले हराउनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्