आत्तिने र मात्तिने पुरानै रोगले फेरि गाँज्यो



नेपाल समाचारपत्र, काठमाडौं

अघिल्ला कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले उच्च बिन्दु र उच्च कारोबार जस्ता रेकर्ड बनाउँदै आएकोमा आइतबार भने गिरावटमा रेकर्ड कायम गरेको छ । आइतबार नेप्से परिसूचक १२३ दशमलव ३४ अंकले गिरावट भएसँगै उच्च अंकको गिरावटमा रेकर्ड कायम गरेको हो ।

नेप्सेमा गिरावट हुनुको खास कारण नदेखिए पनि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षालाई लगानीकर्ताहरूले आधार मानेका छन् । केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षामा सेयर धितो कर्जाको वर्तमान व्यवस्थालाई पुनरावेदन गर्ने उल्लेख गरेपछि त्यसको मनोवैज्ञानिक असर सेयर लगानीकर्ताहरूलाई परेकाले नेप्सेमा पहिरो गएको आरोप लगानीकर्ताहरूको छ । सेयर लगानीकर्ताहरूका पाँच संगठनका प्रतिनिधिहरूले आइतबार नै सेयर बजारबारे मौद्रिक नीतिमा उल्लेख भएका विषयमा पुनरावलोकन गर्न नहुने भन्दै राष्ट्र बैंकसमक्ष विरोधपत्रसमेत बुझाएका छन् ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर धितो कर्जालाई ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पु¥याउनुका साथै यसअघि १८० दिनको सेयर मूल्यको आधारमा सेयर धितो कर्जा दिने व्यवस्थालाई घटाएर १२० दिनमा झारेको थियो । राष्ट्र बैंकको सो नीति तथा कर्जाको ब्याज दरमा आएको गिरावटलगायतका कारणले पछिल्ला दिनमा नेप्से परिसूचक उर्लिंदै आएको थियो । ‘बुलिस ट्रेन्ड’ मा देखिएको नेप्सेले हरेक दिनजसो रेकर्ड ब्रेक गर्दै आएको थियो ।

नेप्सेले हरेक दिन उचाइ लिँदै गर्दा नेपाल राष्ट्र बैंक भने कतै ऋणका कारण यस्तो भइरहेको त छैन भन्दै कारण खोज्न मौद्रिक नीतिको व्यवस्थालाई पुनरावलोकन गर्ने योजना बनाइएकोे विश्लेषकहरूको भनाइ छ । यद्यपि, यिनै कारणले लगानीकर्ताहरू विचलित हुन नहुने तर्क एकथरीको छ ।

कम्पनीहरूले लाभांश दिने बेला भएको छ । नेपाली लगानीकर्ताहरू स–साना कुरामा आत्तिने र मात्तिने पुरानै रोग हो । पुँजी बजारप्रति अर्थ मन्त्रालय र केन्द्रीय बैंक सकारात्मक रहेको स्थिति छ । अन्य कुनै कारणले लगानीकर्ता हत्तोसाही हुने कारण नदेखिएको सेयर विश्लेषकहरू बताउँछन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले आइतबार नै लगानीकर्ताका प्रतिनिधिहरूसँगको छलफलमा अहिले लगानीकर्ता आत्तिने स्थिति नरहेको र केन्द्रीय बैंकले कुनै नीति परिर्वतन गर्नुपर्ने अवस्था आए सरोकारवालाहरूसँग छलफल गर्ने स्पष्ट पार्नुभएको सहभागीहरूको भनाइ छ ।

साना लगानीकर्ताहरूलाई तर्साएर बजारमा चलखेल गर्न खोज्नेहरू पनि यो अवस्थामा सिर्जना गराएको हुन सक्ने अर्काथरीको भनाइ छ । सेयर बजार बढेर उचाइ कायम लिइरहेका बेला बजारमा चलखेल गर्नेहरू सलबलाएका पनि छन् । कम्पनीको वित्तीय स्थितिलाई मूल्यांकन गरेर लगानी गर्नेभन्दा हल्लाका पछाडि दौडदै लगानी गर्दा साना र नया“ लगानीकर्ता फस्दै आएका छन् ।

बिहीबारको कारोबारमा पनि नेप्से दोहोरो अंकले घटेको थियो । त्यसलाई स्वाभाविकरूपमा लिने लगानीकर्ताहरू आइतबार के मौद्रिक नीतिको समीक्षाले मात्रै तर्सिएका हुन् कि, हल्लाको पछाडि दौडिएका हुन् ? प्रश्न अनुत्तरित नै छ ।

प्रतिक्रिया दिनुहोस्