रुपन्देहीको मर्चवारमा नेपाली सेनाद्वारा हाटबजार निर्माण



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको मर्चवार क्षेत्रका बासिन्दाको आर्थिक विकासमा टेवा पुराउने उद्देश्यसहित नेपाली सेनाले हाटबजार बनाएर हस्तान्तरण गरेको छ ।

नेपाली सेनाको सामाजिक आर्थिक विकास पूर्वाधार अन्तर्गत गरुडदल गण रामनगर बुटवलले मर्चवारी गाउँपालिकाको वडा नम्बर ५ मा हाटबजार ट्रष्ट निर्माण गरेको हो ।

हाटबजार एक कार्यक्रममका बीच आइतबार मर्चवारी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा नेपाली सेनाको २२ नम्बर बाहिनीपति सहायकरथी सुदर्शन सिलवालले गाउँपालिकाका अध्यक्ष केशवानन्द वानियाँलाई ट्रष्टको तस्विर हस्तान्तरण गर्नु भएको हो ।

सो अवसरमा बोल्दै बाहिनीपति सिलवालले जनतासंग गरिने यस्ता कार्यक्रमले नागरिक–सैनिक सम्बन्ध निर्माणमा विशेष महत्व राख्ने बताउनु भयो । जनताहरु प्रत्यक्ष लाभाविन्त हुने कार्य सेनाले गर्न पाउनु उत्साहजनक रहेको उहाँले बताउनु भयो । यो हाटबजार ट्रष्टले स्थानीय नागरिकको विकासमा टेवा पुग्ने समेत बाहिनीपति सिलवालले बताउनु भयो।

नेपाली सेनाले मर्चवार क्षेत्रमा स्वास्थ्य शिविरसहितका अन्य कार्यक्रम समेत गरिरहेको सहायक रथी सिलवालले बताउनु भयो । उहाँले ट्रष्ट निर्माणमा स्थानीय नागरिक र पालिकाबाट सहयोग पाएकोमा धन्यवाद समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष केशवनन्द बानियाले सेनाले निर्माण गरेको ट्रष्टले हाटबजार सञ्चालनमा ठूलो टेवा पुग्ने बताउनु भयो । ‘यो पूर्वाधारमा हाटबजारसहित सार्वजनिक गतिबिधिहरु गर्न समेत सकिनेछ, उहाँले भन्नु भयो । सेनाले मर्चवार क्षेत्रमा गर्ने गतिबिधिले नागरिक उत्साहित भएको उहांको कथन रहेको थियो ।

सेनाले सामाजिक आर्थिक विकासका पूर्वाधार कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ र पूर्वाधार निर्माणमा गाउँपालिकाले साढे ४ लाखको भौतिक सामग्री प्रदान गरेकावाट हाटबजार ट्रष्ट निर्माण भएको सह–सेनानी मधुसुधन पोखरेलले बताउनु भयो ।

ट्रष्ट निर्माणमा ३५ जनाको फौजले दुई महिनासम्म काम गरेका थिए । सो हाटबजारबाट ५ हजार किसान लाभान्वित हुने जनाइएको छ ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले ट्रष्ट निर्माणमा सहयोग पुराएका व्यक्तिहरुलाई प्रशंसापत्रले सम्मान गर्नु भएको थियो । १० वटा गाउँको बीचमा रहेको हाटबजारमा साप्ताहिक हाट शुरु गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्