करोडौं मूल्य पर्ने मन्दिरको जग्गा व्यक्तिका नाममा



कृष्णउदास खनाल, वीरगन्ज

वीरगन्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र घण्टाघर नजिक रहेको करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा गराएर घर बनाउन थालेपछि स्थानीयले विरोध जनाएका छन् । मन्दिरको ७ धुर जग्गा नसिमा खातुनले मालपोत कार्यालयबाट आफ्नो नाममा रजिस्ट्रेसन पास गराएकी हुन् ।

मन्दिर र मन्दिरको जग्गा रहेको वडा नम्बर ८ का वडाध्यक्ष राजकिशोर गुप्ता खातुनले आफ्नो नाममा पास गराएको जग्गा मन्दिरको सार्वजनिक जग्गा नै भएको बताउनुहुन्छ । मन्दिरको जग्गा सार्वजनिक हुने र त्यो खरिद–बिक्री गर्नै नमिल्ने भन्दै भू–माफियाहरुले रकमको चलखेल गरी ४–४ पटकसम्म किन–बेच गराएको अवस्था भेटिएको उहाँले बताउनुभयो । वडाध्यक्ष गुप्ताले खातुनले जग्गामा निजी संरचना निर्माणका लागि नक्सापासको सिफारिस माग्न वडा कार्यालय आउँदा आफूले मन्दिरको जग्गामा नमिल्ने भन्दै फर्काइदिएको स्पष्टीकरणसमेत दिनुभएको छ ।

मन्दिरको जग्गाको कागजात संकलन गरेर राखेका स्थानीय युवा रञ्जित साहले करोडौैं मूल्यको जग्गामा आँखा लगाएर भू–माफियाले मन्दिरको जग्गा जालसाजी गरी निजी बनाउन खोजेको बताउनुभयो । जग्गा मन्दिरकै हो भनेर प्रमाणित गर्ने सबै सरकारी कागजपत्र आफूसँग सुरक्षित रहेको भन्दै उहाँले मन्दिरको जग्गा र सम्पत्ति संरक्षणका लागि आफूहरु जस्तोसुकै कदम उठाउन पनि तयार रहेको बताउनुभयो ।

महानगरपालिकाको वडा नम्बर ८ मा पर्ने घण्टाघर नजिकको शिवा हस्पिटल रोडमा अवस्थित सुवर्ण मन्दिरको नाममा १ कट्ठा ११ धुर २ कनवा जग्गा छ । त्यसमध्ये ७ धुर जग्गा खातुनले मालपोत कार्यालयबाट आफ्नो नाममा रजिस्ट्रेसन पास गराएकी हुन् ।

मन्दिरको उक्त सार्वजनिक जग्गामा खातुनले बिहीबार राति रातारात एस्काभेटर लगाएर जग खनेपछि शनिबार बिहान वडाध्यक्षसहितका स्थानीयले त्यहाँ पुगेर विरोध जनाएका थिए । शुक्रबार बिहान वडअध्यक्ष, हिन्दूवादी अगुवा र स्थानीयको भीडले निर्माण कार्यमा अवरोध गरेपछि केही बेर तनावसमेत भएको थियो । सम्भावित झडपलाई मध्यनजर गरी मन्दिरको उक्त जग्गामा प्रहरी पनि परिचालन गरिएको थियो ।

मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा, निजी व्यक्तिको नाममा रजिस्टेसन पास हुनै नसक्ने भन्दै स्थानीयले मन्दिरको जग्गामा निजी संरचना बनाए त्यसले ठूलो दुर्घटना निम्त्याउने चेतावनी पनि दिएका छन् । मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा, भू–माफियाले मालपोत र नापी शाखाका कर्मचारीको मिलोमतोमा फर्जी तरिकाले आफ्नो नाममा गराएको स्थानीयको भनाइ छ ।

२०४७ सालको नापीअनुसार साविकको वडा नम्बर १० र अहिले वडा नम्बर ८ स्थित कित्ता नम्बर ५ को १ कट्ठा ११ धुर २ कनवा जग्गा, एक राणा परिवारले २०४९ साल वैशाख १३ गते सुवर्ण मन्दिरको नाममा दान गरी रजिस्ट्रेसन पास गरिदिएका थिए । मन्दिरको नाममा रजिस्टेसन पास गरिएको ७ वर्षपछि २०५६ साल पुस २ मा कित्ता नम्बर ५ बाट कित्ताकाट गराई ७ धुर जग्गाको कित्ता नम्बर ३०२ कायम गरिएको देखिन्छ ।

त्यस बीचमा मन्दिरको १ कट्ठा ११ धुर २ कनवा जग्गामध्ये १० धुर जग्गा चारपटक खरिद–बिक्री भएको देखिन्छ । २०५१ साल साउन १६ गते मन्दिरको नाममा रहेको १० धुर जग्गा, रतनकुमार शर्माले मुरलीधर शर्मासँग खरिद गरी आफ्नो नाममा रजिस्ट्रेसन पास गरेको देखिन्छ । त्यसपछि २०५६ साउनकै २६ गते त्यही जग्गा रतनले आशादेवी अग्रवालको नाममा पास गरी बिक्री गरेको देखिन्छ । आशादेवीले भने २०५६ असोज २५ गते १० धुरमध्येको ७ धुर जग्गा बिक्री गरी वासुदेव माडवारीको नाममा रजिस्ट्रेसन पास गरेर बाँकी ३ धुर जग्गा भने आफ्नै नाममा राखेको देखिन्छ ।

अहिले जग्गाको धनी भएको दाबी गर्ने नसिमा खातुनले भने वासुदेव माडवारीबाट उक्त ७ धुर जग्गा २०५६ साल कात्तिक १७ गते आफ्नो नाममा रजिस्ट्रेसन पास गराएको देखिन्छ ।

यता, जग्गाको धनी दाबी गर्ने नसिमाका भाइ जौवाद आहमदले २०५६ सालमा आफ्नो बहिनीले वासुदेवबाट माडवारीबाट ७ धुर जग्गा खरिद गरेकाले मन्दिरको जग्गा नभएको दाबी गर्नुभयो । नापी शाखाका अमिनले आएर आफूहरुको ७ धुर जग्गा छुटयाएर गएको भन्दै उहाँले निजी जग्गामा घर बनाउनका लागि नगरपालिकाले नक्सापास नगरिदिएर अप्ठ्यारोमा पारिदिएको गुनासो पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्