ललितपुरको बुङमतीमा विपद् भवन निर्माण



नेपाल समाचारपत्र, ललितपुर

ललितपुर महानगरपालिका–२२ बुङमतीमा भूकम्पलगायतका प्राकृतिक विपद्का बेला विशेष अवस्थाका मानिसलाई राख्न बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गरिएको छ । यो भवनमा प्राथमिकताका आधारमा जेष्ठ नागरिक, बालबालिका, महिला, घाइतेलाई राखिन्छ ।

उक्त भवनको उद्घाटन शुक्रबार नेपालका लागि थाइल्यान्डका राजदूत भोसिटा भोरासफ र ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले संयुुक्तरूपमा उद््घाटन गर्नुभएको थियो । विपद्का बेला प्रयोग गर्न सकिने यस्ता भवन योसहित महानगरमा दुईवटा छन् । यसअघि नै बालकुमारी–८ गोइत दोमारमा निर्माण गरिएको थियो । यस्तो भवन निर्माण गर्ने ललितपुर महानगरपालिका सम्भवतः पहिलो स्थानीयत तह हो ।

भूकम्पलगायतका प्राकृतिक प्रकोपमा थाइल्यान्ड सरकारको आर्थिक सहयोगमा जनताबाट जनताका लागि सहयोग ः पुनर्लाभ र पुनर्निर्माण उत्थानशील समुदाय निर्माण परियोजनाअन्तर्गत निर्माण गरिएको हो । भवन निर्माणका लागि आप्रवासनसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा राजदूत भोसिटा भोरासफले नेपाल–थाइल्याल्डबीचको सम्बन्ध र मित्रता पुरानो रहेको बताउँदै सहयोग आदान–प्रदानले सम्बन्ध अझैं बलियो हुने विश्वास व्यक्त गर्नुभयो । भवन निर्माणका लागि सहयोग गर्न पाउँदा खुसी लागेको उहाँको कथन छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले २०७२ सालको भूकम्पले धेरै कुरा सिकाएको बताउँदै थाइल्यान्ड सरकार र त्यहाँका जनतालाई धन्यवाद दिनुभयो । थाइल्यान्डका जनताले आफ्नो सरकारमार्फत नेपालीलाई सहयोग गर्ने परियोजनाअन्तर्गत यो भवन निर्माण गरिएको हो । भवन संरक्षणको जिम्मेवारी महानगरको भएको बताउँदै उहाँले भन्नुभयो– ‘विदेशीले यस्ता भवन बनाइदिनुहुन्छ, तर हामी त्यसको संरक्षण गर्दैनौं, तर यहाँ यस्तो हुनुहँुदैन, हाम्रो सहयोगमा निर्माण भएको भवन हेर्न जाऔं न त भन्दा लाज लाग्ने अवस्था नआओस् ।’

वडा नं २२ का वडाध्यक्ष अम्बिरराज शाक्यले संरक्षण र व्यवस्थापन चुनौतीपूर्ण भएको त्यसको जिम्मेवारी महानगरपालिका र वडाबासीको भएको स्पष्ट पार्नभयोे । १ वर्ष १० महिनामा निर्माण सम्पन्न भएको यो भवन निर्माणका लागि करिब १ करोड ३ लाख १५ हजार लागेको छ । आईओएमका चिफ अफ मिसन लोरेना ल्यान्डोले भवन निर्माणका लागि थायी सरकार र जनतालाई धन्यवाद दिँदै भवन निर्माणका लागि प्राविधिक सहयोगको अवसर आईओएमलाई दिएकोमा खुसी व्यक्ति गर्नुभयो ।
महानगरले महानगरका अन्य स्थान सुनाकोठी, हरिसिद्धि, धापाखेल र भित्री वडाहरुमा पनि यस्तो भवननिर्माण गर्ने तयारी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्