कतार गएका श्रीमान् खोजिदिन श्रीमतीको आग्रह



भूपराज बस्याल, काठमाडौं

वैदेशिक रोजगारीको क्रममा कतार गएका प्रकाश काफ्ले पाँच वर्षदेखि सम्पर्कविहीन भएको भन्दै श्रीमती अनिता काफ्ले घिमिरेले खोजिदिन आग्रह गर्नुभएको छ ।

झापा जिल्लाको साविक चकचकी गाविस–३ र हाल बाह्रदसी गाउँपालिका–४ सिर्जनाचोक घर भएका काफ्ले २०७२ सालदेखि घर–परिवारको सम्पर्कमा नआएको भनी श्रीमान् खोजिदिन आग्रह गर्दै वैदेशिक रोजगार विभागमा समेत अनिताले निवेदन दिनुभएको छ ।

‘कतारको केएफसी कम्पनीमा पहिलोपटक २०६५ मा जानुभएको उहाँ प्रत्येक वर्ष घर आउने–जाने गर्नुहुन्थ्यो ।’ –श्रीमती अनिताले गहभरि आँसु पार्दै भन्नुभयो । आफन्त साथीहरूलाई सबैलाई खोज्न लगाइयो । केही पत्तो नलागेपछि वैदेशिक रोजगार विभागमा निवेदन दिएको उहाँले बताउनुभयो । ‘श्रीमान् सम्पर्कविहीन भएपछि घर–परिवारले पनि बस्न दिएनन्, १३ वर्षकी पढ्दै गरेकी छोरी लिएर २÷३ वटा घरमा काम गर्ने र हस्पिटल सफाइ गर्ने काम गरेर छोरीको पढाइ खर्च र आफूहरु बस्दै आएको कोठाभाडा तिर्दै आएको उहाँले बताउनुभयो । ‘अब त मलाई पनि सुगर, पाठेघरमा समस्यालगायतका बिरामीले
समातेको छ । यस्तो समयमा आर्थिक अभाव त छँदै छ, त्यसमाथि श्रीमान् हराएको पीडा छ ।’ –अनिता भन्नुहुन्छ ।

विवाहको केही समयपछि श्रीमान्ले बाहिर कोठा खोजी राखेर विदेश गएको र प्रत्येक वर्ष आउने–जाने गरेको अनिताले बताउनुभयो । ‘श्रीमान्–श्रीमतीको सम्बन्ध पनि राम्रै थियो तर उहाँ आएका बेला गाउँ जाने गरिन्थ्यो । पैसा पनि निरन्तर पठाउने गर्नुहुन्थ्यो तर विगत पाँच वर्षदेखि सम्पर्कविहीन भएपछि मेरो र छोरीको बेहाल भयो ।’ –उहाँले आफ्नो दुखेसो पोख्दै भन्नुभयो । माइतीघरमाआफू जेठी छोरी भएको र भाइहरु पनि स सानाभएको हुँदाखोजिदिने बलियो आफन्तनभएको पीडा पोख्नुभयो ।

विवाहलगत्तै श्रीमान्कै आग्रहमा घरबाहिर बस्दै आएकी अनिता श्रीमान् सम्पर्कविहीन भएपछि घर पुग्दा घरमा परिवारले एउटा बस्ने कोठासमेत नदिएर लखेटेको गुनासो गर्नुभयो । ‘म बाहिर बसे पनि विदेश हिँडेर कमाएको पैसाले त्यत्रो घर बनाउनुभयो । आज त्यही घरमा बस्न एउटा कोठा पाइनँ ।’ –उहाँले भन्नुभयो । घरमा जेठो छोरो भएका कारण बुबाआमालाई सुख दिन र भाइहरुलाई पढाइ–लेखाइ गर्ने जिम्मेवारी बोकेर वैदेशिक रोजगारीमा जानुभएको उहाँ आज सम्पर्कविहीन हुँदा खोजी गर्ने त परको कुरा त्यही वैदेशिक रोजगारीले कमाएर बनाएको घरमा बस्ने एउटा कोठासमेत पाउन नसकेको उहाँको गुनासो छ ।

पछिल्लोपटक २०७२ सालमा गएपछि दुईपटक टेलिफोनमा सम्पर्क भएको र त्यसपछि कुनै सम्पर्क हुन नसकेको अनिताको गुनासो थियो । उहाँले आफूले भेटे–जाने जतिलाई श्रीमान् अवस्था पत्ता लगाइदिन आग्रह गरेको बिलौना गर्नुभयो ।
वैदेशिक रोजगार विभागमा परेका उजुरीलाई सम्बन्धित देशको दूतावासमार्फत खोजिने वैदेशिक रोजगार विभागका सूचना अधिकारी टीकामणि न्यौपानेको भनाइ छ । ‘हामीलाई आएको निवेदन सम्बन्धित दूतावासमा पठाएका छौं ।’ –न्यौपानेले भन्नुभयो । त्यस्तै वैदेशिक रोजगारीको क्षेत्रमा निःशुल्क परामर्श दिँदै आएको पिपुल फोरमका अध्यक्ष सोम लुइँटेलले वैदेशिक रोजगारीमा गएर अलपत्र परेका वा सम्पर्कविहीन भएकाहरुको क्षेत्रमा खर्च गर्न वैदेशिक रोजगार कल्याणकारी कोष रहेको बताउनुभयो । ‘वैदेशिक रोजगारको क्षेत्रमा समस्यामा परेका व्यक्तिहरूलाई हालसम्म निःशुल्क कानुनी परामर्श दिँदै आएका छौं र आगामी दिनमा पनि दिनेछौं ।’ – उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्