ललितपुरको बुङमतीमा बन्यो विपद्का बेला प्रयोग गर्ने भवन



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिकाको वडा नं २२ स्थित बुडमतीमा भूकम्प लगायतका प्राकृतिक विपद्का बेला विशेष अवस्थाका मानिसलाई राख्न बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गरिएको छ । यो भवनमा प्राथमिकताका आधारमा जेष्ठ नागरिक, बालबालिका, महिला, घाइतेलाई राखिन्छ ।

उक्त भवनको उद्घाटन शुक्रवार नेपालका लागि थाइल्याण्डका राजदुत भोसिटा भोरासफ र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले संयुुक्त उद्घाटन गरे । विपद्का बेला प्रयोग गर्न सकिने यस्ता भवन यो सहित महानगरमा दुईवटा छन् । यस अघि नै बालकुमारी वडा नं ८ स्थित गोइत दोमारमा निर्माण गरिएको हो । यस्तो भवन निर्माण गर्ने ललितपुर महानगरपालिका संभवत पहिलो स्थानीय तह हो । भूकम्पलगायतका प्राकृतिक प्रकोपमा थाईल्याण्ड सरकारको आर्थिक सहयोगमा जनताबाट जनताका लागि सहयोग: पुनर्लाभ र पुनर्निर्माण उत्थानशील समुदाय निर्माण परियोजना अन्तर्गत निर्माण गरिएको हो ।

भवन निर्माणका लागि आप्रवासनसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय अन्तराष्ट्रिय आप्रवासन संगठन ९आइओएम०को प्राविधिक सहयोग गरेको थियो ।

कार्यक्रममा राजदुत भोसिटा भोरासफले नेपाल र थाइल्याल्डबीचको सम्बन्ध र मित्रता पुरानो रहेको बताउँदै सहयोग आदानप्रदानले सम्बन्ध अझैं बलियो हुने विश्वास व्यक्त गरे । यो भवन निर्माणका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले २०७२ सालको भुकम्पले धेरै कुरा सिकाएको बताउँदै थाइल्याण्ड सरकार र त्यहाँका जनतालाई धन्यवाद दिए । थाइल्याण्डका जनताले आफ्नो सरकार मार्फत नेपालीलाई सहयोग गर्ने परियोजना अन्तर्गत यो भवन निर्माण गरिएको हो । भवन संरक्षणको जिम्मेवारी महानगरको भएको बताउँदै उनले भने, ‘ विदेशीले यस्ता भवन बनाइदिनुहुन्छ, तर हामी त्यसको संरक्षण गर्दैनौं , तर यहाँ यस्तो हुनुहँुदैन, हाम्रो सहयोगमा निर्माण भएको भवन हेर्न जाउन भन्दा लाज लाग्ने अवस्था नआओस् ।’ नगरप्रमुख महर्जनले यो भवनको उपयोग ठिक तरीकाले गर्न अनुरोध गरे ।

वडा न. २२ का वडा अध्यक्ष अम्बिरराज शाक्यले संरक्षण र व्यवस्थापन चुनौतीपूर्ण भएको त्यसको जिम्मेवारी महानगरपालिका र वडावासीको भएको स्पष्ट पारे । उनले थाइल्याण्डका जनतालाई धन्यवाद दिए । एक वर्ष १० महिनामा निर्माण सम्पन्न भएको यो भवन निर्माणको लागि करीब एक करोड तीन लाख १५ हजार लागेको हो ।

आइओएमका चिफ अफ मिसन लोरेना ल्याण्डोले भवन निर्माणका लागि थाई सरकार र जनतालाई धन्यवाद दिदैं भवन निर्माणका लागि प्राविधिक सहयोगको अवसर आइओएमलाई दिएकोमा खुशी व्यक्ति गरिन् । महानगरले महानगरका अन्य स्थान सुनाकोठी, हरिसिद्धि, धापाखेल र भित्री वडाहरुमा पनि यस्तो भवन निर्माण गर्ने तयारी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्