अपांगमैत्री छैनन् आइसोलेसन



रोशन पराजुली, हेटौंडा

हेटौंडा महानगरपालिका–३ की सीता मल्ल बैशाखी टेकेर हिँड्नुहुन्छ । मल्लले कृत्रिम खुट्टाको सहारमा आफ्नो जीवन चलाउँदै आउनुभएको छ । असोज २२ गते उहाँ कोरोना संक्रमित हुन पुग्नुभयो । सरकारी आइसोलेसन अपांगमैत्री नभएका कारण उहाँ होम आइसोलेसनमा बस्नुभयो । त्यस अवधिमा आफूलाई स्वास्थ्यकर्मीदेखि जनप्रतिनिधिले कुनै चासो व्यक्त नगरेको उहाँको गुनासो छ ।

अन्य वडामा अपांगता भएकालाई कोरोना संक्रमण हुँदा जनप्रतिनिधिको साथ पाउँदा आफ्नो स्थानीय सरोकारवाला निकायले कुनै चासो नलिएकोमा उहाँको गुनासो थियो । स्वास्थ्यकर्मीको सल्लाहबिना नै आफू ‘कोरोनामुक्त’ भएको उहाँले जानकारी गराउनुभयो । घरमा नै औषधि प्रयोग गरेर आफू संक्रमणमुक्त भएको मल्लले बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिकाकी सानुमाया स्यान्तान कात्तिक ५ गते कोरोना संक्रमित भएको जानकारीमा आयो । मेरुदण्डमा समस्या भएकी उहाँले त्यस समय जनप्रतिनिधि र स्वास्थ्यकर्मीबाट साथ त पाउनुभयो । तर, हेटौंडा–१ मा बस्दै आएकी स्याङ्तानलाई वरिपरि बस्नेहरुले छिःछिः–दुर्दुर गरे ‘छरछिमेकीको त्यस बेलाको व्यवहार सधैं सम्झिरहनेछु ।’ –स्याङ्तानले भन्नुभयो ।

अपांग सानु स्याङ्तान भन्नुहुन्छ– ‘मलाई सार्वजनिक बसमा यात्रा गर्न मुस्किल हुन्छ । अपाङ्गमैत्री सिट भनिएको ठाउ“मा बस्न पाउने नगरेको उहाँले गुनासो गर्नुभयो । अपांग भएकै कारण धेरै समस्या पर्न गएको उहाँले बताउनुभयो । ‘वर्षैपिच्छे उही र उस्तै मान्छे मात्र कार्यक्रममा सहभागी हुने र उस्तै प्रकारका कार्यक्रमले खासै परिवर्तनको अनुभूति हुन सकेको छैन ।’ –उहाँको भनाइ छ ।

हेटौंडामा हरेक वर्षझैं यस वर्ष पनि अन्तर्राष्ट्रिय अपांगता दिवस (डिसेम्बर ३) मा मनाइयो । यो २९औंं दिवस हो । लंैगिक हिंसाविरुद्ध १६ दिने अभियानभित्र पर्ने दिवस ‘कोभिड–१९ पश्चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपांगता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासका लागि हामी सबैको प्रतिवद्धता’ भन्ने अन्तर्राष्ट्रिय नारासहित मनाएको छ । अपांगता भएका व्यक्तिले हक–अधिकार सुनिश्चिततासँगै जीवन परिवर्तनको अपेक्षा गरेका छन् ।

वर्षैपिच्छे आउने दिवस केवल दिवसका रूपमा मात्र सीमित छ । यही कोरोनाकै समयमा पनि मकवानपुरमा अपांगता भएका व्यक्तिले थुप्रै समस्या भोग्नुपरेको गुनासो छ । जिल्लामा हाल १ हजारभन्दा बढी अपांग छन् । जसमा २ जना कोरोना संक्रमति हुन पुगेका छन् ।

दिवसले अपांगता भएकाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याओस् भन्ने हिसाबले मनाइन्छ । तर, अवस्था उस्तै छ । हालसम्म पनि कुनै आइसोलेसन अपांगमैत्री बन्न नसकेको उनीहरुको गुनासो छ । यस अवधिमा अपांगता भएका धेरैले आइसोलेसनमा बस्न असहज भएर घरमा बस्दा धेरै लाञ्छना सहनुपरेको उनीहरुको भनाइ छ ।

राष्ट्रिय अपांग महासंघ बागमती प्रदेश अध्यक्ष अश्विन लम्साल भन्नुहुन्छ– ‘अपांगता दिवस मनाइराख्दा कतिपय संघ–संस्थाले केवल ह्विलचियर र केही थान अन्य सामग्री बाँडेर अपांगताको क्षेत्रमा सहयोग गरिरहेका छन् । यो सहयोग पनि राम्रो हो । तर, म भन्छु अब यसमा मात्र सीमित नगरियोस् । उनीहरुको जीवनयापनका लागि अपांगमैत्री आइसोलेसन तथा बाटोतर्फ सोच्न लम्सालले आग्रह गर्नुभयो ।

सबै सार्वजनिकस्थल र साधनहरु अपांगमैत्री हुनुपर्दछ । शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरबाट अधिकांश अपांगता भएकाहरु वञ्चितिमा छन् । उनीहरुबारे राज्य संवेदनशील हुनुपर्छ । ‘भावी दिनमा अपांगता सहायक साम्रगी प्रत्येक प्रदेशमा उत्पादन हुने योजनातिर ध्यान दिन अनुरोध गर्दछु ।’ –लम्सालले भन्नुभयो ।

अपांगतासम्बन्धी कानुनहरु प्रभावकारी कार्यान्वयन हुन नसकेको लम्सालको गुनासो छ । आरक्षणमा दुरुपयोग भएको तथा स्थानीय सरकारहरु अपांगतामैत्री हुन सकेका छैनन् । संघीय संरचनाबाट तीन तहको सरकार भइरहेको सन्दर्भमा अब अपांगता भएकाको आवाज स्थानीय तहमै सुनुवाइ हुुनुपर्ने उहाँको माग छ ।

प्रतिक्रिया दिनुहोस्