श्रीमतीको लुङ्गीले घाँटी कसेर हत्या, उल्टै प्रहरीमा खोजीका लागि निवेदन



दुर्गाप्रसाद शर्मा, पर्वत ।

दाईको घरमा काम गर्न गएको बिषयमा भएको घर झगडाका क्रममा श्रीमानले लुङ्गगीले घाँटी कसेर श्रीमतीको हत्या गरेको खुलेको छ । पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका तुलसे नेपालीले श्रीमती पुर्णकलाले लगाएको लुङ्गगीले घाँटी बाँधेर हत्या गरेको खुलासा भएको हो ।

गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि प्रहरी अनुसन्धानका क्रममा घटना घटेको १२ दिनपछि मात्रै श्रीमानले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन । कुुश्मा नगरपालिका १३ बाम्रामा घर भएका तुलसे नेपाली आफ्नै दाजुको घरमा धान भित्र्याउन गएको बिषयमा श्रीमतीले निहुँ खोजेपछि सामान्य घरायसी झगडा भएको थियो ।

दाईकोमा किन गएको भनेर बिबाद झिकेपछि झगडा भएको र श्रीमती घर छाडेर हिडेपछि खोज्न जाने क्रममा भेटेको अभियुक्त नेपालीले बयान दिएका छन । लुकेर बसेको ठाउँमा मैले देखेपछि उनी (श्रीमती) भाग्न खोज्दा ठोक्किएर लडेपछि मैले घाँटी कसे।’ उनले बयानमा भनेका छन् ‘मदिरा सेवन गरेको झोकमा उनैले लगाएको लुङ्गी झिकेर उनको घाँटीमा बाधेँ । बाँधेपछि उनको परान गयो ।’

श्रीमतीको हत्या गरे पनि आरोत नेपालीले भने आफू घटनामा संलग्न नभएको देखाउनका लागि भोलिपल्ट कास्कीको पोखरामा रहेको पूर्णकलाको माइतमा उनलाई खोज्न भनी गएको र पूर्णकलाका माइती पक्ष र आफूसहित फेरि घरमा फर्केर कुश्मा नगरपालिका १२ को ठूलीपोखरी प्रहरी कार्यालयमा मङ्सिर १५ मा खोजीका लागि उजुरी दिएका थिए ।

उनले निवेदन दिएकै दिन साँझ पूर्णकला मृत अवस्थामा भेटिएपछि मृतकका दाजु डकेन्द्र नेपालीले जिल्ला प्रहरी कार्यालय पर्वत समक्ष श्रीमान तुलसे नेपालीलाई नै किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीका आधारमा प्रहरीले लामो समयसम्म अनुसन्धान गरे पनि तुलसे नेपालीले वास्तविक घटनाको बारेमा नखुलाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतले पोलिग्राफरको समेत प्रयोग गरेको थियो ।

प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको सहयोगमा पोलिग्राफर प्रयोग गरिएको थियो । ‘ ‘पोलिग्राफरमा साँचो बोलेको र झुट बोलेको भन्ने कुरा जाँच्न सकिने र तुलसे नेपालीलाई परीक्षण गर्दा समेत झुट बोलेको प्रविधिले देखाएपछि हामीलाई थप सोधपुछमा सहयोग पुग्यो ।’

प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो ‘ घटना भएको १२ औँ दिनमा मात्रै तुलसे नेपालीले श्रीमती पूर्णकलाको हत्या आफैले गरेको स्विकारेका थिए।’ प्रहरीले तुलसेलाई कर्तव्य ज्यान मुद्दामा पर्वत जिल्लाा अदालतमा पेस गरेपछि पुर्पक्षका लागि जेल चलान भका छन ।

प्रतिक्रिया दिनुहोस्