छात्रावासको सोफामुनि चितुवा भेटियो



नयाँदिल्ली,(एजेन्सी) ।

भारतको एउटा महिला छात्रावासमा भौतारिएर अचानक छिरेर सोफा मुनि बसेका चितुवालाई निकाल्न बन्यजन्तु अधिकारी र चिडियाघरका कर्मचारीहरुले सामुहिक कोसिस गरेका छन् ।

गुहाटी स्थित हेन्गेरावारी क्षेत्रको सो छात्रावासका मालिन मौसमी बोराले खतरनाक घटना सम्झँदै भनेकीछन् , ‘ मैले शुरुमा त सोफा मुनि कुनै कपडा खसकेको हुनपर्ने सोचेकी थिएं । छोएर हेर्न लाग्दा पो बल्ल कुनै जंगली जनावर बसेको थाहा पाइयो ।’

प्रहरीलाई घटनाबारे जानकारी दिएर आसाम राज्य चिडियाघर र बन्यजन्तु तथा भूभाग विभागबाट अधिकारीहरु नआइपुगुन्जेल बोरा लगायत त्यहाँ रहेका अन्य पन्ध्र जना छात्रा तथा कर्मचारी एउटा कोठामा ढोका थुनेर बसेका थिए । अधिकारीहरुले सो चितुवालाई एउटा कुनामा पठाएर बेहोश हुने गोली हान्नलाई चार घन्टा संघर्ष गर्नुपरेको बताएका छन् ।

गोली लागि सकेपछि पनि नजिकैको अर्को घरमा लुकेको केहि समय पछि मात्र त्यो चितुवा बेहोश भएको थियो । पशु चिकित्सकहरुबाट स्वास्थ परिक्षण गराउनका लागि त्यसलाई आसाम राज्य चिडियाखानामा लगिएको छ । अधिकारीहरुले शरिरमा माइक्रोचिप जडान गरी त्यसलाई जंगलमा छाडिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्