म्याराडोनाको निधनमा नयाँ खुलासा



ब्युनस आयर्स, (एजेन्सी)

अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाको निधनको मामिलामा नयाँ खुलासा भएको छ । जाँच स्रोतका अनुसार म्याराडोनाका तीन छोरीहरुले उनीहरुका बुबाको उपचारप्रति शंका गरेपछि ब्युनस आयर्सका प्रहरीहरुले जाँच शुरु गरिसकेका छन् । प्रहरीले यो मामिलामा हत्या हो कि भन्ने कोणबाट जाँच गरिरहेको पनि जनाएको छ ।

म्याराडोनाको निधनको ४ दिनपछि प्रहरीहरुले उनका निजी डाक्टर ३९ वर्षीय लियोपोल्डो लुकेको क्लिनिक र घरमा छापा मारेका छन् । उनीहरुले डाक्टरका कम्प्युटर, मोबाइल र मेडिकल नोट्स जफत गरेका छन् । डाक्टरसँग सोधपुछ भइरहेको छ ।

स्रोतका अनुसार म्याराडोनाका छोरीहरु डाल्मा, जियानिन्ना र जानाले टिग्रेमा घरमा म्याराडोनाको हार्ट कन्डिसनको उपचारमै शंका गरेका हुन् ।

न्युज एजेन्सीले जब म्याराडोनाका निजी डाक्टरसँग सम्पर्क गर्न कोसिस गरेको थियो, तर उनले कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको पनि स्रोतले जनायो । डाक्टर लुकेले १२ नोभेम्बरमा म्याराडोनासँग एक तस्वीर सामाजिक सन्जालमा पोस्ट गरेका थिए । त्यही दिन म्याराडोनाको मस्तिष्कबाट जमेको रगत हटाउन शल्यक्रिया गरेका थिए । त्यही दिन उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्