हिमाली क्षेत्रमा मूल्यवृद्धि उच्च



काठमाडौं, (नेस)

चालू आर्थिक पहिलो त्रैयमासमा मूल्यवृद्धि गत वर्षको भन्दा कम रहे पनि सबैभन्दा बढी हिमाली क्षेत्रमा उच्च रहेको छ ।

नेपाल राष्ट्र बैंकका असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ७९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६ दशमलव २१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ५० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ४६ प्रतिशत रहेको छ ।

गत वर्षको असोजको तुलनामा यसपटकको असोजमा तरकारी उपसमूहको मूल्यवृद्धि २३ दशमलव १० प्रतिशत र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि १३ दशमलव ८६ प्रतिशत रहेको छ । सो महिनामा काठमाडौं उपत्यकामा ३ दशमलव ३५ प्रतिशत, तराईमा ४ दशमलव ४६ प्रतिशत, पहाडमा ३ दशमलव शून्य ३ प्रतिशत र हिमालमा ४ दशमलव ३९ प्रतिशत मुद्रास्फीति रहेको छ । गत वर्षको असोजमा यी क्षेत्रहरुमा क्रमशः ८ दशमलव १४ प्रतिशत, ५ दशमलव ७५ प्रतिशत, ४ दशमलव ८९ प्रतिशत र ५ दशमलव ११ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

असोजमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८ दशमलव २६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७ दशमलव २९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८ दशमलव ८७ प्रतिशत, ८ दशमलव ७८ प्रतिशत र ३ दशमलव १३ प्रतिशत रहेको छ । तर, निर्माण सामग्रीको थोक मूल्य भने २ दशमलव १३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्