अब टोल–टोलमा कोभिड सहजीकरण समूह



नेपाल समाचारपत्र, काठमाडौं

काठमाडौं उपत्यकालगायत अन्य जिल्ला तथा अन्य व्यापारिक केन्द्रमा कोरोना संक्तमणको दर बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न वडाध्यक्षलाई पूर्ण अधिकारसहितको कोभिड सहजीकरण समूह परिचालनसम्बन्धी मार्ग निर्देशन जारी गरेको छ ।

मार्ग निर्देशनमा संक्रमण दरलाई घटाउन जनसहभागितामा रोग रोकथाम तथा नियन्त्रण क्रियाकलाप सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

कोभिड नियन्त्रण गर्न हरेक टोलमा कम्तीमा एउटा समूह गठन गर्ने, एक समूहले बढीमा ५० घरको निगरानी गर्ने, टोल सुधार, क्लब उपभोक्ता समिति, गुठीमार्फत परिचालन गर्ने मार्ग निर्देशनमा उल्लेख छ । मन्त्रालयले उपत्यका मेयर फोरम, विभिन्न स्थानीय निकायसँगको परामर्शमा मार्ग निर्देशन तयार गरेको हो ।

मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न मार्गनिर्देशन जारी गरेको जानकारी गराउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले मार्ग निर्देशन जारी गरेलगत्तै सबै वडामा समूह गठन गर्न शुरु गरिएको बताउनुभयो ।

उहाँका अनुसार सबै वडाका समूह, टोल सुधार समिति, क्लबलगायत संस्थासँग आबद्ध पदाधिकारीसहितको समूह गठन गरी परिचालन गरिनेछ ।

मार्गनिर्देशनमा कोभिडको विषयमा समुदायस्तरमा जनचेतना फैलाउने, क्वारेन्टिन र आइसोलेसनमा बसेका व्यक्तिहरुको मापदण्ड पालना गरे नगरेको विषयमा निगरानी गर्न समूह गठन गरिएको उल्लेख छ ।

सबै वडाले समिति गठन गरी सोही समितिमार्फत निगरानी गर्ने, अनुगमन गर्ने, क्वारेन्टाइन, आइसोलेसनको अवस्थाबारे जानकारी लिने, टोलमा अनावश्यक भीडभाड र भेला नगर्न सचेत गराउने, ६० वर्षभन्दा माथिका दीर्घरोगीलाई घरबाहिर नजान र जानै परेको अवस्थामा अनिवार्यरुपमा मास्क प्रयोग गर्न सहजीकरण गर्ने मार्गनिर्देशनमा उल्लेख छ ।

समूहले सम्बन्धित वडाध्यक्षलाई कार्यप्रगति र अन्य चुनौतीको नियमित प्रतिवेदन बुझाउनुपर्नेछ । समाधान गर्न नसकेका विषयलाई वडाध्यक्ष वा सम्बन्धित पालिकाका स्वास्थ्य संयोजकसँग समन्वय गर्ने, स्थानीय तहले वडाध्यक्षको सहयोगमा कार्य प्रगतिको नियमित अनुगमन गर्ने उल्लेख छ ।

कामपा जनस्वाथ्य विभाग प्रमुख हरिबहादुर कँुवरले मार्गनिर्देशनका आधारमा काम शुरु भइसकेको जानकारी गराउनुभयो । उहाँले सबै वडामा समूह गठन गरी अनुगमन शुरु गरिसकेको जानकारी दिनुभयो ।

मार्गनिर्देशनमा हरेक समिति र समूहमा कम्तीमा ५ जना स्थानीय सदस्य रहने व्यवस्था गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविका, समाजिक परिचालक, शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय क्लब, आमा समूह र गुठीका सदस्यलाई समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सबै समूहले वडाध्यक्षलाई हरेक विषयमा जानकारी गराउनुपर्ने, समूहले होम आइसोलेसन क्वारेन्टिनमा बसेका व्यक्तिको पहिचानगरी अनुगमन र निगरानी गर्नुपर्ने, लगातार फलोअप गर्नुपर्ने, कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिको पहिचान गर्ने र उनीहरुको निगरानी गर्ने विषय मार्ग निर्देशनमा समेटेको छ ।

प्रतिक्रिया दिनुहोस्