प्लाज्मा थेरापीका लागि जनप्रतिनिधी र पत्रकारसहित १३ जनाले गरे रक्तदान



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कोरोना संक्रमणमुक्त भएका जनप्रतिनिधि, कर्मचारी लगायतले मंगलबार प्लाजमा संकलनको लागि रक्तदान गर्नु भएको छ । कोभिड–१९ बाट संक्रमित भई निको भएकाहरुले अन्य संक्रमित बिरामीहरुको जीवन रक्षाको लागि प्लाजमा दान गर्नुभएको हो ।

संक्रमितको उपचारमा प्लाजमा थेरापीको प्रयोग हुँदै आएको छ । प्लाजमा दान गर्न नगरबासीलाई प्रेरणा मिलोस् भनेर रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिनुभयो ।
रक्तदानमा नगर प्रमुख बासुदेव घिमिरे, वडाध्यक्ष तामानाथ पाण्डेय, तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेलसहित ११ जना कोरोना संक्रमणमुक्त हुनुभएकाहरुले प्लाजमा संकलनको लागि रक्तदान गर्नुभएको थियो ।

यस्तै नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीसहित १३ जनाले पनि रक्तदान गर्नुभएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
रुपन्देहीमा समेत कोरोना संक्रमितको उपचारको लागि प्लाजमाको माग बढ्दै गइरहेको अवस्थामा नगरपालिकाले आफ्नैं कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल स्वयंम्सेवी रक्तदाता संघ रुपन्देहीका अध्यक्ष कृष्ण चौहानका अनुसार प्लाजमाको लागि संकलन गरिएको रगत ६ महिनासम्म प्रयोग गर्न सकिन्छ ।

कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना भाइरस संक्रमणका बिरामीहरुलाई उपचार गरिन्छ । यसका लागि कोरोना संक्रमण देखिएर निको भइसकेको व्यक्तिहरुको रगतबाट छुट्याइएको एन्टिबडी सहितको प्लाजमा (जुन रगतमा ५५ प्रतिशत हुन्छ) अर्को संक्रमितलाई दिइन्छ ।

प्रतिक्रिया दिनुहोस्