इन्टर मिलान विजयी



लन्डन, (एजेन्सी)
बेल्जियन फरवार्ड रोमेलु लुकाकुले दुई गोलको योगदान गरेपछि इन्टर मिलानले घरेलु ‘सिरी ए’ लिगमा चौथो जित निकालेको छ। आइतबार राति आफ्नो घरेलु मैदानमा भएको खेलमा मिलानले पाहुना टोली टोरिनोलाई ४–२ को गोल अन्तरले हराएको हो। खेलको ६३औं मिनेटसम्म मिलान २–० ले पछि परेको थियो।
तर, त्यसपछि मिलानले उत्कृष्ट पुनरागमन गर्न सफल भयो। पाहुना टोली टोरिनोका लागि पहिलो हाफको थप समयमा सिमोनी जाजाले गोलको खाता खोलेका थिए। त्यसपछि, ६२औं मिनेटमा पेनाल्टीमार्फत क्रिस्टिएन अन्साल्डीले गोल गरेपछि टोरिनो २–० अघि रहेको थियो।
तर, दोस्रो गोल व्यहोरेको दुई मिनेटमै मिलानका लागि एलेक्सिस सान्चेजले गोल गरेर टिमलाई खेलमा फर्काएका थिए। त्यसको ३ मिनेटमै लुकाकुले गोल गरेपछि खेल २–२ को स्थितिमा पुगेको थियो। त्यस्तै, खेलको ८४औं मिनेटमा मिलानले पेनाल्टी पायो। टोरिनोका खेलाडीले डिबक्समा अचरफ हाकिमीलाई फाउल गरेपछि रेफ्रीले मिलानलाई भिएआरमार्फत पेनाल्टी दिएका थिए । जसलाई लुकाकुले प्रहार गर्दै टिमको तेस्रो गोल सम्भव पारे।
त्यसैगरी, खेलको ९०औं मिनेटमा लौटारो मार्टिनेजले डिबक्सभित्रबाट प्रहार गरेको बलले जाली चुमेपछि मिलानको जित ४–२ ले पक्का भयो। जितपछि मिलानले ८ खेलबाट १५ अंक जोडेको छ। पराजित टोरिनोको भने १० अंक रहेको छ।
‘सिरी ए’ अन्तर्गतकै अर्को खेलमा ३८ वर्षीय फरवार्ड ज्लाटन इब्राहिमोभिच चम्किएपछि एसी मिलानले पनि नापोलीलाई हराएको छ। आइतबार राति भएको लिगको आठौं खेलमा मिलानले नापोलीमाथि ३–१ को उत्कृष्ट जित निकालेको हो।
नापोलीको घरेलु मैदानमा भएको खेलमा मिलानलाई जिताउन ३८ वर्षीय भेट्रान स्वीडिस फरवार्ड ज्लाटन नायक बने। खेलको २०औं मिनेटमा ज्लाटनले हर्नान्डेजको लामा एरियल पासमा उत्कृष्ट हेडिङमार्फत गोल गर्दै मिलानलाई १–० ले अघि पारेका थिए।
त्यसपछि, खेलको ५४औं मिनेटमा ज्लाटनले नै व्यक्तिगत दोस्रो गोल गरे। यसपटक एन्टे रेबिचको क्रस पास ज्लाटनको घुँडामा लाग्दै गोलपोस्टमा छिरेपछि घरेलु टोली २–० ले पछि परेको थियो।
तर, खेलको ६३औं मिनेटमा नापोलीका लागि ड्रिएस मार्टेन्सले गोल गर्दै टिमलाई खेलमा फर्काउने संकेत गरेका थिए। उनले डिबक्सभित्रबाट मिलानका डिफेन्डरलाई बिट गर्दै निकै आकर्षक गोल गरेका थिए। त्यसको दुई मिनेटपछि नै नापोली १० खेलाडीमा समेटियो। बाकायोको दोहोरो पहेंलोका साथ रातो कार्ड खाएर मैदान छाडेपछि घरेलु टोली झनै दबाबमा परेको थियो।
त्यसपछि, थपिएको समयको पाँचौं मिनेटमा जिन्स पेटर हाउगेले गोल बक्सभित्रबाट उत्कृष्ट कला देखाउँदै गोल गरेपछि मिलानले खेल ३–१ ले जित्यो। जितपछि मिलानले ८ खेलमा अपराजित रहँदै २० अंक बनाएको छ। साविक विजेता युभेन्ट्सको समान खेलबाट मात्रै १६ अंक मात्र छ। पराजित नापोलीको भने १४ अंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्