सगरमाथा जोड्ने पदमार्गमा मोटरेबल पुल



यदुप्रसाद भट्ट, अँधेरी, सोलुखुम्बु

विश्वका पर्यटकको आकर्षणको केन्द्र मानिने पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्रलाई सीधा जोड्ने मोटरेबल पुल सञ्चालनमा आएको छ ।

राजनीतिक खिचतानीले सामाजिक सञ्जालमा निकै चर्चा कमाएको सो पुलको १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

मुख्यमन्त्री राईले सगरमाथाको फेदलाई मोटरबाटोले जोड्न सके स्वर्गीय निम दोर्जे शेर्पाप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । उहाँले सो पुलले नेपालको सबभन्दा होचो ठाउँ झापाको केचनाकवल र संसारकै अग्लो ठाउँ सगरमाथालाई जोड्ने काम गरेको बताउनुभयो । संघीयताविरुद्ध आवाज उठिरहेका बेलामा संघीयताकै कारणले विकासको काम अघि बढेको उहाँको भनाइ थियो ।

संसारकै अग्लो छानो सगरमाथा छुवाउने पदमार्गका रुपमा लिइएको माप्य–खुम्बु मितेरी मोटरेबल पुल निकै तामझामसहित औपचारिकरुपमा उद्घाटन गरिएको हो ।

ठेकेदार कम्पनी जलप नेपालले ओर्लाङघाटस्थित सो पुलको निर्माण कार्य गत वैशाखमै सम्पन्न गरेको थियो । माप्य र खुम्बु पासाङल्हामु गाउँपालिकाका स्थानीयको लाइफ लाइन मानिएको सो मोटरेबल पुल निर्माणका लागि संघीय सांसद कोषमार्फत १ करोड, प्रदेश सरकारबाट २ करोड र माप्य दूधकोसी गाउँपालिका तथा खुम्बु पासाङल्हामु गाउँपालिकाले ५०–५० प्रतिशत खर्च बेहोरेका थिए ।

९ करोड ४५ लाखको डीपीआर बनेपछि टेन्डर आह्वान गरिएकोमा जलप नेपाल कम्पनीले त्यसको १३ प्रतिशत न्यून रकममा काम गरेको थियो । कम्पनीले जम्मा ७ करोड २९ लाख ९७ हजार २ सयमा काम सम्पन्न गरेको बताएको छ ।

दूधकोसीमा निर्मित सो पुल नगरपालिकामा पर्ने भए पनि दुई गाउँपालिकाले एकलौटीरुपमा नगरपालिकालाई खबर नगरी उद्घाटन गरिएको थियो । राजनीतिक प्रतिशोध लिएर एकले अर्कालाई दोष थुपार्ने कामले विकासमा बाधा पर्ने प्रदेश नं. १ का योजना तथा आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले बताउनुभयो ।

सगरमाथाको फेदी खुम्बुसम्म मोटरबाटो पु¥याउने मार्गमा अवस्थित सो पुललाई निकै महत्वका साथ हेरिएको छ । मन्त्री आङ्बोले दलीयरुपमा खुट्टा तानेर विकास सम्भव नभएको धारणा राख्दै तीनवटै सरकारलाई विरोध नगर्न आग्रह गर्नुभयो ।

भौगोलिक विकटता भएको सोलुखुम्बुका ८ वटा स्थानीय तहमध्ये अझै पनि दुईवटा गाउँपालिकालाई मोटरबाटोले छुन सकेको छैन । प्रत्येक गाउँपालिकाको केन्द्रसम्म मोटरबाटो पु¥याउने सरकारको योजनालाई सफल बनाउन चाँडै नै ट्र्याक खोल्ने तयारीमा अहिले सोलुका स्थानीय प्रतिनिधि लागेका छन् । दूधकोसीमा मात्रै ६ वटा पुल बन्ने पक्कापक्की छ । मानिस वा खच्चडले सामान ढुवानी गर्दा लाग्ने लागतमा सो पुलले कमी ल्याउने स्थानीयले विश्वास गरेका छन् ।

कार्यक्रमका वक्ताले सो पुलको टाढैबाट फोटो खिचेर कांग्रेसले दुष्प्रचारप्रसार गरी बाधा अड्चन खडा गरेको आरोप लगाएका भए पनि कार्यक्रममा कांग्रेसका कुनै प्रतिनिधिलाई बोलाइएको थिएन । छोटो समयमै सम्पन्न भएको सो पुल हुँदै जाने बाटो गाउँपालिकाको केन्द्र चौंरीखर्कसम्म पु¥याउने लक्ष्य छ । जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राईले दुई गाउँपालिकालाई मोटरबाटोले नछोएको हुँदा बजेट विनियोजन गर्न माग गर्नुभयो ।

त्यसै गरी प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले सो पुल बनाउन चार वर्षअघि ठेक्का लागेको बताउँदै संसारको छानो सगरमाथा छुवाउने काम पूरा गर्न माग गर्नुभयो । प्रदेश सांसद उत्तमकुमार बस्नेतले भ्यागुतोको चालमा काम गर्दा पनि फड्को मार्न सफल भएको बताउनुभयो । भौगोलिक विकटताका कारण खर्च बढी भएको वक्ताहरुले बताएका थिए ।

प्रतिनिधि सभाका सांसद हेमकुमार राईले अहिलेका जनप्रतिनिधि जे गर्छौं जनतालाई त्यही भन्छौं भन्दै पहिले र अहिलेका प्रतिनिधिबीच फरक भएको धारणा राख्नुभयो । यसअघि दूधकोसीमा निर्मित सो पुलको सात जनाले सातवटै रिबन काटेर उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्