कक्षा १२ को परीक्षा आजबाट

एउटा कोठामा २० जना मात्रै परीक्षार्थी



नेपाल समाचारपत्र, काठमाडौं

कोभिड–१९ कारण वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा आजबाट शुरु हुँदै छ । देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुने परीक्षा साढे १ घण्टाको हुनेछ । ४ हजार १ सय ५ विद्यालयमा हुने परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाइएको छ ।

परीक्षामा सामेल हुने विद्यार्थीको ज्वरो अनिवार्यरुपमा परीक्षण गर्नुपर्नेछ । मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको छ । करिब डेढ घण्टाको परीक्षा आफ्नै विद्यालयमा दिन पाउनेछन् अर्थात् बोर्डले होम सेन्टरको व्यवस्था गरेको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले एउटा कोठामा दुई मिटरको दूरी हुने गरी २० जनासम्म मात्र राख्न पाइने व्यवस्था भएको जानकारी दिनुभयो । स्थानीय निकायको सहयोगमा परीक्षा व्यवस्थापन गरिएको बोर्डको भनाइ छ ।

राष्ट्रिय परीक्षा बोर्डले घरपायक र फरक जिल्लाका परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएको छ । त्यसका लागि सम्बन्धित विद्यालयले विद्यार्थीलाई प्रवेशपत्र पठाउनुपर्नेछ । त्यसरी घरपायक फरक जिल्लाबाट परीक्षा दिने विद्यार्थीको संख्या करिब १३ हजार रहेको बोर्डको भनाइ छ । परीक्षा शुरु भएपछि अन्यलाई प्रवेशमा रोक लगाइएको छ । केन्द्राध्यक्ष र निरीक्षकले समेत अनिवार्यरुपमा ज्वरो परीक्षण गरी मास्क लगाउनुपर्ने व्यवस्था गरेको छ ।

विद्यालयले हेल्थ सेन्टर राख्नुपर्नेछ । बोर्डका अध्यक्ष प्राडा पौडेलले आजबाट शुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो । ‘हिमाली र उच्च पहाडी जिल्लामा प्रश्नपत्र पुगिसकेका छन् अन्यको हकमा विद्यार्थी परीक्षा हलमा प्रवेश गरेपछि मात्र अनलाइन प्रश्नपत्र पठाउनेछौं।’ –अध्यक्ष प्राडा पौडेलले भन्नुभयो ।

प्रश्नपत्र हेर्न सबै केन्द्रलाई छुट्टै कोर्डको व्यवस्था गरेको छ । कोड नम्बरअनुसार प्रश्नपत्र हेर्न पाइने व्यवस्था छ ।
यो वर्ष बोर्डले उपत्यका, पूर्वाञ्चल, पश्चिमाञ्चललगायतका प्रदेशअनुसार फरक प्रश्नपत्र तयार गरेको छ ।

‘अनिवार्य विषयका करिब ५ सेट प्रश्नत्रप तयार पारेका छौं।’ –अध्यक्ष प्राडा पौडेलको भनाइ छ । बोर्डले कोभिड संक्रमण देखिएका विद्यार्थीलाई छुट्टै परीक्षा दिने व्यवस्था गरेको छ ।

बोर्डले परीक्षा सञ्चालन कार्यविधिमा उल्लेख भएअनुसार परीक्षा सञ्चालन हुने जनाएको छ । परीक्षाअघि सबै प्रदेश र सम्पर्क कार्यालयले सबै केन्द्राध्यक्षलाई भर्चुअल माध्यमबाट कार्यविधिको विषयमा निर्देशन दिइसकेका छन् ।

अमर्यादित क्रियाकलाप रोक्न सबै सुरक्षा निकाय परिचालित हुनेछन् । परीक्षा अनुगमन र निगरानीका लागि बोर्डमा कन्ट्रोल रुमको व्यवस्था गरिएको छ । बोर्डका अध्यक्ष प्राडा पौडेल, सदस्य सचिव दुर्गा अर्याल, परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा र तीनै सुरक्षा निकायका अधिकारीले सो रुमबाट परीक्षाको अवस्थाबारे सोधपुछ गर्नेछन् ।

विशेष गरी प्रश्नपत्र पुगे नपुगेको, परीक्षामा अमयार्दित कार्य भए नभएको विषयमा जानकारी लिएर थप कार्ययोजना अघि बढाउन कन्ट्रोल रुमको व्यवस्था गरिएको सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो ।
प्रश्नपत्र नपुगेको खण्डमा तत्काल पु¥याउने व्यवस्था गर्ने र प्रश्नपत्र पुगेपछि परीक्षा सञ्चालन गर्न निर्देशन दिने अधिकार कन्ट्रोल रुमका अधिकारीको हुनेछ । सदस्य सचिव अर्यालले कन्ट्रोल रुमबाट परीक्षासम्बन्धी सम्पूर्ण विषयमा जानकारी लिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले परीक्षा सुरक्षाको बन्दोबस्त मिलाउनेछ ।

परीक्षाको प्रदेश परीक्षा कार्यालय, स्थानीय निकायका शिक्षा शाखा र जिल्ला शिक्षा समन्वय समितिले परीक्षा अनुगमन गर्नेछ । परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म डेढ घण्टाको हुनेछ । मंसिर ९ देखि सो परीक्षा १६ गतेसम्म हुनेछ । बोर्डले यो वर्ष ४० प्रतिशतका लागि मात्रै परीक्षा सञ्चालन गर्न लागेको हो । बाँकी ६० प्रतिशतमध्ये ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिनेछ ।

कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिकतर्फ प्राप्त विषयगत प्राप्तांकलाई शतप्रतिशत मानी ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिनेछ । बोर्डले परीक्षा सकिएको एक साताभित्र सबै उत्तरपुस्तिका परीक्षण गरी अंक पठाउन निर्देशन दिएको छ ।

ढुक्क भएर परीक्षा दिन आग्रह


शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोभिडविरुद्धका मापदण्ड सही ढंगले पालना गर्दै परीक्षामा सहभागी हुन परीक्षार्थीलाई अपिल गर्नुभएको छ ।
उहाँले कोभिड–१९ को संक्रमण जोखिमका कारण स्थगित भएको सात महिनापछि मंगलबारबाट शुरु गर्न लागिएको परीक्षाका बारेमा विद्यार्थी तथा अभिभावकलाई आश्वस्त पार्न सामाजिक सञ्जालमार्फत भिडियो अपिल सार्वजनिक गर्नुभएको हो ।
मन्त्री पोखरेलले विद्यार्थीलाई ढुक्क भएर परीक्षा दिन पनि अनुरोध गर्नुभएको छ । घरबाट परीक्षा केन्द्र आउजाउ गर्दासमेत आवश्यक सचेतना अपनाउन उहाँले अनुरोध गर्नुभएको छ ।
विद्यार्थीले प्राप्त गर्ने योग्यताको प्रमाणपत्रमाथि देश विदेशमा कहींकतै प्रश्न नउठोस् भन्नका लागि कक्षा १२ को परीक्षा लिन लागिएको मन्त्री पोखरेलले स्पष्ट पार्नुभएको छ ।
उहाँले परीक्षार्थीले सही ढंगले स्वास्थ्य मापदण्ड पालना गदै अरुका लागि दृष्टान्त बन्नसमेत उहाँको अनुरोध छ । परीक्षा केन्द्र वरिपरि भीडभाड नगर्न अभिभावकलाई अनुरोध गर्दै परीक्षा सफलतापूर्वक सम्पन्न गर्नका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ ।
उहाँले परीक्षा सम्पन्न गर्न तीनै तहका सरकार लागि परेको भए पनि मुख्य स्थानीय सरकारको नेतृत्वविना परीक्षा सफल हुन सक्दैन भन्दै स्थानीय सरकारलाई सचेततापूर्वक अग्रपंक्तिमा रहेर पहलकदमी लिन अनुरोध गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्