विप्लव समूहमाथि सुरक्षा निकायको निगरानी



नेपाल समाचारपत्र, काठमाडौं । 

विप्लव समूह र पूर्वराजावादीहरुको गतिविधिमाथि सुरक्षा निकायले निगरानी राख्न शुरु गरेको छ ।
अस्थिर राजनीतिक अवस्थाको फाइदा उठाउँदै प्रतिबन्धित समूहको चलखेल बढेको निष्कर्ष निकाल्दै सुरक्षा निकायले ती समूहको गतिविधिमाथि निगरानी राख्न शुरु गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर उनीहरुले गर्न सक्ने अराजक गतिविधिको बारेमा निगरानी र नियन्त्रण गर्न निर्देशन दिनुभएको छ ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चरम गुटबन्दीका कारण पार्टी विभाजनको तहमा पुगेको र दलप्रति जनताको धारणा नकारात्मक बन्दै गएका कारण पूर्वराजावादीहरुले राजधानीलगायत देशभर मंसिर १५ गतेबाट मौन जुलुस निकाल्ने घोषणा गरेपछि सरकार सशंकित भएको छ ।

पूर्वमाओवादीबाट विभाजन भएर भूमिगत भएको विप्लव समूहले समेत आफ्नो गतिविधिलाई अहिले नै तीव्रता दिएपछि गृहमन्त्री थापाले त्यस्ता समूहको गतिविधिमाथि निगरानी राख्न र उनीहरुले उद्देश्यलाई निस्तेज पार्न पनि सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

गोप्यरुपमा पटकपटक बसेको बैठकले कार्ययोजनासमेत बनाएर अगाडि बढ्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको ती उच्च अधिकारीले दाबी गरेका छन् ।

तराईका जिल्लाहरुमा यसअघि नै ‘राजा आऊ देश बचाऊ’ भन्ने नारासहित जुलुस प्रदर्शन भइसकेको र मंसिर १५ गतेबाट संगठितरुपमा नै पूर्वराजावादीले आन्दोलन गर्ने घोषणा गरेपछि सरकार थप सशंकित भएर त्यस्ता क्रियाकलाप नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको बताइएको छ ।

सरकारले देशभर विप्लवको पछिल्लो गतिविधि र राजावादीहरुको गतिविधिका बारेमा समेत अवस्थाको मूल्यांकन गरी गृह मन्त्रालयलाई जानकारी गराउनसमेत गृहमन्त्री थापाले निर्देशन दिनुभएको छ ।

पछिल्लो समय विप्लव समूहले सैन्य दस्तासमेत तयार पारेको सूचना पाएको सरकारले उनीहरुको अराजक गतिविधि रोक्न आग्रह गर्नुभएको ती अधिकारीले जानकारी दिए ।

अहिले संगठितरुपमा विप्लव समूहले चन्दा संकलन कार्यलाई समेत तीव्रता दिएकाले उक्त गतिविधि रोक्न मन्त्री थापाले सुरक्षा प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

सरकारको निर्देशनपछि सुरक्षा निकायले ७७ जिल्लामा रहेका आफ्ना युनिटमार्फत विप्लव र राजावादीहरुको गतिविधिका बारेमा जानकारी गराउन निर्देशन दिएको छ । अहिले जिल्लाका विभिन्न ठाउँंमा रहेका सुरक्षा निकायका युनिटहरुले सूचना संकलन गर्ने कामलाई तीव्रता दिएका छन् ।

विप्लवका ६ जना समातिए
लमजुङ प्रहरीले सोमबार विप्लव समूहका जिल्ला इन्चार्जसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई दोर्दी गाउँपालिकाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लमजुङ जिल्ला इन्चार्ज जंगबहादुर भण्डारी (आक्रोश), दोर्दी गाउँपालिका–७ का जिल्ला सेक्रेटरी बिलबहादुर गुरुङ (गौरव), मध्यनेपाल नगरपालिका–४ का जिल्ला कमिटी सदस्य नारायणबहादुर कुँवर, राइनास नगरपालिका–६ का जिल्ला कमिटी सदस्य रवीन्द्र नखोला, दोर्दी गाउँपालिका–७ का दुर्गालाल तामाङ र मध्यनेपाल नगरपालिका–१० का सुजन थापा रहेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिनुभयो ।

उनीहरुका साथबाट ८ थान मोबाइल र ६ थान सिमकार्डसमेत बरामद गरिएको छ । पक्राउ परेका उनीहरूलाई विस्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्