विश्वभरिको कोरोना भाइरस एक चम्चा बराबर



क्यानबेरा, (एजेन्सी)
कोरोना भाइरस विश्वभर फैलिएको महामारी हो। विश्वभरि ५ करोड ३० लाख बढी व्यक्ति यस भाइरसको चपेटामा आएका छन् भने लाखौंको मृत्यु पनि भएको छ।

विश्वभर फैलिएको यो भाइरसलाई एक ठाउँमा राख्ने हो भने यसले ओगट्ने ठाउँ भनेको एक चम्चा बराबरको मात्र हुने एक गणितज्ञले बताएका छन्।

विश्वभर यसको कुल मात्रा ८ मिलिलिटर रहेको टेलिभिजन हस्ती तथा गणितज्ञ म्याट पार्करले बताएका छन्। उनले धेरै आँकडाको अध्ययनपछि यो नतिजा निकालेका हुन्। यदि, भाइरसको मात्रा अत्यन्तै धेरै हुने हो भने पनि एक सानो गिलास जति हुने उनले बताए।

कोभिड–१९ मानव कोषको तुलनामा लाखौं गुणा सूक्ष्म रहेको पार्करले बताए। हरेक पीडितको जति कोशिकामा भाइरसले संक्रमण गरेको हो, त्यसका आधारमा पार्करले गणना शुरू गरेका हुन्।

यसका लागि उनले स्वाब तथा अनुसन्धानबाट प्राप्त भाइरस लोडको मद्दत लिएको बताएका छन्। हरेक दिन विश्वमा ३ लाख नयाँ संक्रमितको गणना १४ दिनसम्म जारी इन्फेक्सनसँगै गरिएको हो।

यसको गुणा गर्दा उनले ३ अर्ब ३० करोड भाइरल सेल आवादीमा हुने उनले पाएका छन्। यसको आकारको आधारमा यसले अत्यन्तै कम ठाउँ ओगट्ने बताए। पार्करका अनुसार भाइरस वास्तवमा एक कोड मात्र हुन्छ, जसले मानव शरीरमा गडबडी उत्पन्न गर्छ।

विश्वमा कोरोना भाइरसले हालसम्म १३ लाख बढीको ज्यान लिइसकेको छ। करिब एक वर्ष पहिला चीनको हुवेई प्रान्तबाट शुरू भएको संक्रमण हाल विश्वलाई नै आफ्नो चपेटामा लिएको छ।

यस भाइरस संक्रमणले मानव स्वास्थ्यलाई मात्र नभई मान्छेको जीवनशैली, आर्थिक, सामाजिकलगायत सबै पक्षलाई तहसनहस बनाएको छ।

हाल करिब १ सय ५० बढी खोपमा काम भइरहेको छ। तर, सर्वसाधारणसम्म केही खोप अर्को वर्ष मात्र पुग्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्