सिन्धुलीमा पीसीआर प्रयोगशाला स्थापना



बुद्ध नेपाली, सिन्धुली ।

आईतवार देखि सिन्धुलीमै कोरोना भाईरस(कोभिड १९)को पीसीआर परिक्षण हुनेभएको छ । बाग्मती प्रदेश सरकारको करीव एक करोड २५ लाख र सिन्धुली अस्पतालको १५ लाख रुपैयाँ बराबरको लागतमा पीसीआर परिक्षण प्रयोगशाला स्थापना भएसँगै सिन्धुलीमै कोरोना भाईरसको परिक्षण हुने भएको हो ।

कमलामाइ नगरपालिका –६ शिवनगरमा पीसीआर मेसिन जडान गरि पीसीआर प्रयोगशाला ल्याब सञ्चालनमा ल्याईएको छ । शनिबार बागमती प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्की सहित ३ जनाको प्राविधिक टोलीले पिसिआर मेसिन जडान गरेर नमुना परीक्षण गरेका थिए ।

प्रयोगशालामा २० जनाको स्वाब परीक्षण गर्दा परीक्षण सफल भएको निर्देशक कार्कीले जानकारी दिनुभयो । कोभिड १९ परीक्षण प्रयोगशाला सञ्चालनका लागि ९ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।

ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई आवासको समेत व्यवस्था गरिएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताउनुभयो । अध्यक्ष पोखरेलका अनुसार बागमती प्रादेशिक प्रयोगशाला धुलिखेलबाट आएको प्राविधिक टोलिले ल्याबमा कोरोना परिक्षण गर्ने स्वास्थ्यकर्मीलाई कोरोना परिक्षण बारे तालिम दिने र दक्ष बनाउनेछन् ।

यसअघि कोरोना आशंका गरिएका बिरामीको स्वाब हेटौडा, धुलिखेल वा काठमाडौं पठाउनु पर्ने बाध्यता थियो । जिल्लामै पिसिआर मेसिन भएपछि अब पिसिआर परिक्षणका लागि स्वाव संकलन गरि बाहिर पठाउनु पर्ने बाध्यता हटेको छ ।

कमलामाइ नगरपालिका –६ शिवनगरमा जनस्तरबाट नवनिर्मित ५० बेडको कोभीड १९ अस्पताल, सिन्धुली अस्पताल मातहत संचालनमा आईसकेको छ । यो अस्पतालमा ३ वेडको आईसियु र २ बेडको भेन्टिलेटर पनि छिट्टै जडान हुने जनाईएको छ ।

आइसियु र भेन्टिलेटर जडानमा आवस्यक सबै सामान आईसकेकाले एक साता भित्रै भेन्टिलेटर र आइसियु सञ्चालनमा आउने सिन्धुली अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलले बताउनुभयो । कोभिड अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम पनि थालिएको उहाँले जनाउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्