गोल्डेन ब्वाइ बने हालान्ड



लन्डन, (एजेन्सी)
जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डका अर्लिङ हालान्डले गोल्डेन ब्वाइको उपाधि जितेका छन्।
विश्व फुटबलमा २१ वर्ष उमेरभन्दा मुनिका उत्कृष्ट एक खेलाडीलाई प्रदान गरिने उक्त अवार्ड हो। यस वर्ष नर्वेका यी २० वर्षीय युवा खेलाडी गोल्डेन ब्वाइको अवार्ड जित्न सफल भएका छन्।

उक्त उपाधिको दाबेदारमा बोरुसिया डर्टमन्डकै खेलाडी जाडोन सान्चो, बायर्न म्युनिखका खेलाडी अल्फोन्सो डेभिस, म्यानचेस्टर युनाइटेडका फरवार्ड मासोन ग्रिनबुड तथा बार्सिलोनाका अन्सु फाती रहेका थिए।

तर, तिनीहरूलाई पछि पार्दै हालान्डले उपाधि जिते। अन्सु फाती मतदानमा दोस्रो स्थानमा रहे भने डेभिस तेस्रो स्थानमा रहे। इंग्लिस युवा खेलाडी सान्चो भने चौथो स्थानमा रहेका थिए। उनी उपाधिको प्रवल दाबेदारमा रहे पनि मतदानमा उनले धेरै मत प्राप्त गर्न सकेनन्।

हालान्डले बोरुसिया डर्टमन्डका लागि २०१९–२० सिजनमा सबै प्रतिस्पर्धामा गरी ४४ गोल गरेका थिए। त्यस्तै, उनले जारी सिजनमा डर्टमन्डका लागि सबै प्रतिस्पर्धामा गरी ११ खेलबाट ११ गोल गरेका छन्। नर्वेको सिनियर राष्ट्रिय टिमका लागि उनले ७ खेलमा ६ गोल गरेका छन् भने च्याम्पियन्स लिगमा ३ खेलबाट ४ गोल गरेका छन्। उनी गत जनवरीमा अस्ट्रियन च्याम्पियन आरबी साल्जबर्गबाट डर्टमन्डमा अनुबन्ध भएका थिए।

उक्त अवार्ड इटालियन सञ्चार माध्यम टुटोस्पोर्टसले हरेक वर्ष प्रदान गर्र्दै आएको छ। यसलाई विश्व फुटबलमा एक प्रतिष्ठित अवार्डको रूपमा हेरिएको छ। सन् २००३ देखि शुरू भएको उक्त अवार्डका लागि युरोपका प्रतिष्ठित सञ्चार माध्यमका खेल पत्रकारले मतदान गर्ने प्रावधान रहेको छ।
गोल्डेन ब्वाइको अवार्ड पाउने पहिलो खेलाडी नेदरल्यान्ड्सका राफेल भान डर भार्ट हुन्। सन् २००३ मा उनले यो अवार्ड जितेका थिए। गत वर्ष पोर्चुगिज फरवार्ड जोआओ फेलिक्सले सो अवार्ड जितेका थिए। त्यस्तै, म्यानचेस्टर युनाइटेडका पूर्वइंग्लिस खेलाडी वायने रोनी, बार्सिलोना तथा अर्जेन्टिनाका खेलाडी लियोेनल मेसी, स्पेनका पूर्वराष्ट्रिय खेलाडी सेच फाब्रिगास, अर्जेन्टिना तथा म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरोले उक्त अवार्ड जित्न सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस्