म्याराथनमा पार्कीको नयाँ कीर्तिमान



कुमार श्रेष्ठ, बाँके
सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबका धावक गोपीचन्द्र पार्कीले म्याराथनमा नयाँ कीर्तिमान रचेका छन्।
छैठौं धारा नेपालगन्ज म्याराथनमा शनिबार पार्कीले नयाँ कीर्तिमान बनाएका हुन्। काठमाडौं म्याराथनमा नेपाल प्रहरी क्लबका भूमिराज राईले बनाएको २ घण्टा २० मिनेट ४० सेकेन्डको कीर्तिमानलाई पार्कीले तोडेका हुन्। पार्कीले २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा दूरी पार गर्न सफल भए। नेपालमा भएको प्रतियोगितामा यो नै नयाँ कीर्तिमान हो। विदेशी भूमिमा भने बैकुण्ठ मानन्धरको कीर्तिमान रहेको छ।

नेपालगन्ज म्याराथनमा प्रथम भएसँगै पार्कीको आगामी वर्ष जापानमा हुने टोकियो ओलम्पिकको यात्रासमेत तय भएको छ। पार्की गत मंसिरमा नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ५ किलोमिटर दौडमा पनि स्वर्णपदक जितेका थिए। पार्कीले कोरोना कहरपछि भएको पहिलो ठूलो प्रतियोगिता जित्न सकेकोमा धेरै खुसी लागेको प्रतिक्रिया दिएका छन्।

यस्तै, नेपालगनज म्याराथनमा नेपाल आर्मीका कृष्ण बस्नेत दोस्रो भए। नेपालगन्ज म्याराथनको दोस्रो संस्करणका विजेतासमेत रहेका बस्नेतले छैठौं संस्करणमा २ घण्टा २० मिनेट ४९ सेकेन्डमा दूरी पार गरेका हुन्। आर्मीका खगेन्द्र भाट दुई घण्टा २७ मिनेट २८ सेकेन्डमा दूरी पार गर्दै तृतीय भए। डिफेन्डिङ च्याम्पियन नवराज साउद भने यसपाली चौथो स्थानमा आएका छन्। आर्मीका साउदले दुई घण्टा ३१ मिनेट २१ सेकेन्डमा दूरी पार गरेका छन्। पाँचौंमा आर्मीकै ज्ञानप्रसाद भट्टराई, छैठौंमा सुदूरपश्चिमका मुकेशबहादुर पाल, सातौंमा कालिकोटका जगदीश गिरी र आठौं स्थानमा दाङका सनम घर्ती भए।
विजेताले क्रमशः ७५ हजार, ३० हजार, २० हजार, १० हजार, ८ हजार, ७ हजार, ६ हजार र ५ हजार रुपियाँ पाएका छन्।

यसैगरी, महिला हाफ म्याराथनमा एपीएफकै पुष्पा भण्डारी प्रथम भएकी छन्। गत मंसिरमा भएको १३औं सागमा रजत पदक विजेता भण्डारीले १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा उक्त दूरी पार गरेकी थिइन्। भण्डारीले लामो समयपछि खेल्दा सोचेजस्तो नतिजा आउन नसकेको बताइन्। जुम्लाकी मन्जु रावत दोस्रो भइन्। उनले एक घण्टा ३० मिनेट ७ सेकेन्डमा दूरी पार गरिन्। तेस्रो स्थानमा दाङकी शर्मिला घर्ती, चौथोमा सुदूरपश्चिमकी शकुन्तला ठगुन्ना, पाँचौंमा दाङकी अनिसा चौधरी र बर्दियाकी कल्पना चौधरी छैठौं भए। हाफ म्याराथन विजेताले क्रमशः ३० हजार, १५ हजार, १० हजार, ७ हजार, ६ हजार र ५ हजार रुपियाँ पुरस्कार पाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्