एक लाख नगद सहितको फुटबल प्रतियोगीताको उपाधि चेवाल युथ क्लबलाइ



पुष्कर बुढाथोकी,भक्तपुर।

भक्तपुरको चाँगुनारायण नगरपालिका–७ भंगेरी डाँडास्थित खेल मैदानमा आज सम्पन्न उपत्यकाव्यापी फूटबल प्रतियोगिताको उपाधि ललितपुरको चेवाल युथ क्लब पाटनले हात पारेको छ ।भक्तपुर खेलकुद विकास समितिको आयोजना तथा वागेश्वरी मजुवा युथ क्लब चाँगुनारायणको सह–आयोजनामा दुईसातादेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा चेवाल युथ क्लब पाटनले चाँगुनारायण–९ ताथलीको माता पञ्चकन्या युथ क्लबलाई ५–४ गोलको अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो ।

प्रतियोगितामा माता पञ्चकन्या युथ क्लब दोश्रो भयो भने मिर्मिरे सामुदायिक अध्ययन केन्द्र चरेली चाँगुनारायणले रोयल ताथली फुटबल क्लबलाई ५–१ गोलको अन्तरले पराजित गर्दै केन्द्रले तेश्रो स्थान हासिल गरेको गरेको थियो । उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौं र ललितपुरका १५ वटा समूहको सहभागिता रहेको थियो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र र जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछ्वाले प्रथम, द्धितिय र तृतिय हुने समूह, उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतियोगितामा प्रथम हुने चेवाल युथ क्लब पाटनलाई रु. एक लाख, दोश्रो हुने माता पञ्चकन्या युथ क्लबलाई रु. ५० हजार र तेश्रो हुने मिर्मिरे सामुदायिक अध्ययन केन्द्रलाई रु. २५ हजार नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा अंजित ढकाल र जेनिस प्रजापति उत्कृष्ठ खेलाडी घोषित भएका थिए ।
प्रमुख मिश्रले चाँगुनारायण नगर क्षेत्र पर्यटकीय गन्तव्य मात्रै नभई अन्तर्राष्ट्रिय खेलकुद मैदानका रुपमा समेत पहिचान बनाउन सफल भएको चर्चा गर्नुभयो ।

त्यसअवसरमा जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष कासिछ्वाले समितिमा नयाँ नेतृत्व आए पछि आफ्नै कार्यालय स्थापना गर्नदेखि भक्तपुरमा खेलकुदको विकासमा सिंगो समिति क्रियासिल रहेको बताउनुभयो ।
प्रतियोगिता आयोजनाका लागि चाँगुनारायण नगरपालिकाले रु. ५० हजार, प्रथम र तेश्रो पुरस्कारका लागि समाजसेवी एवं व्यवसायी विज्ञान राई, किरण थापा, पूर्ण लिम्बु र दोश्रो पुरस्कारका लागि रमेश बुढाथोकीले रकम प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा खेलकुदका विकासमा टेवा परुयाउनका लागि वागेश्वरी मजुवा युथ क्लबलाई नगरकोट जीपलाइनका प्रो. प्रेम बस्नेतले रु. एक लाख र वागेश्वरी हाउजिङ्गका राजु खड्काले रु. ५० हजार प्रदान गर्नुभयो ।
रमेश लामाको सभापतित्वमा सम्पन्न प्रतियोगिता सफल पार्न जिल्ला खेलकुद विकास समितिका सदस्य एवं पदाधिकारीहरु सरोज थापा, रत्नकेशरी प्रजापति, स्थानीय प्रकाश लामिछाने, श्याम नायबु लगायतले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

आयोजकका अनुसार प्रतियोगितामा कूल रुं पाँच लाख ७५ हजार खर्च भएको छ ।अध्यक्ष कासिछ्वाले समिति कै पहलमा नगरकोटको भंगेरी डाँडामा अन्तर्राष्ट्रिय खेल मैदान बनाउन सफल भएको बताउदै अब फुटबल खेलका लागि मैदान खोज्दै भौतारिनु पर्ने अबस्थाको अन्त्य भएको बताउनुयो ।

अध्यक्ष कासिछ्वाले करिब २०० रोपनी क्षेत्रफलमा २ अर्व ४० करोड रुपैयाँको लागतमा रग्बी बहुउद्देश्यिय अन्तर्राष्ट्रिय खेल मैदान निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढेकाले सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्