नेपालको आइसक्रिमलाई अफ्रिकाबाट २ अवार्ड



सञ्चारकर्मी तथा निर्देशक संगीता श्रेष्ठको सर्ट फिल्म आइसक्रिमले अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिवलमा दुई विधामा अवार्ड चुम्न सफल भएको छ। गत शनिबार घोषणा गरिएको अवार्ड समारोहमा फिल्मले उत्कृष्ट बालकलाकार र सम्पादन गरी दुई विधामा अवार्ड जितेको निर्देशक श्रेष्ठले जानकारी गराएकी छिन्। गत नोभेम्बर ३ देखि ८ सम्म चलेको फेस्टिवलको पहिलो दिन नै संगीताको फिल्म स्क्रिनिङ भएको थियो।

फेस्टिवलमा उनको फिल्म बेस्ट फिल्म, बेस्ट डाइरेक्सन र बेस्ट स्क्रिनप्ले विधामा पनि मनोनयनमा परेको थियो। बाल यौन शोषणमाथि आधारित नौ मिनेट लामो फिल्मले सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा बोल्छ।

फिल्ममा बालिकाहरु यौन शोषणमा कसरी पर्छन् भन्ने देखाइएको र यस किसिमको अपराधबाट बचाउने उद्देश्यले फिल्म बनाएको संगीता बताउँछिन्।

फिल्म अमेरिकाको बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिवल, यूकेको फस्ट टाइम फिल्ममेकर सेसन्स, इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिवल र नेपालको मानव अधिकार फिल्म फेस्टिवलमा पनि छनोट भइसकेको छ। फिल्ममा योगिशा खत्री मुख्य भँमिकामा छिन्।

सयौं म्युजिक भिडियो, वृत्तचित्र तथा सर्ट फिल्म निर्देशन गरेकी संगीताले कथा काठमाण्डँबाट फिल्म निर्देशनमा डेब्यु गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्