भेन्टिलेटर नै चाहिन्छ भन्ने कुरा नसोचौं



डा. राजेन्द्र कोजू

कोरोनाले गर्दा हामी यति टाढाटाढा बसेका छौं । हामी सामाजिक प्राणी एकदमै नजिक बसेर एकले अर्कोलाई सहयोग गर्नुपर्ने आवश्यकता भएको व्यक्तिलाई प्रकृतिले कहाँबाट कहाँ पु¥याइदियो टाढा पो जाऊ भन्यो । आफ्नो नाक र मुख नदेखाएसम्म अनुहार कस्तो छ, भावना कस्तो छ नबुझिने बेलामा कोरानाले नाक, मुख सबै छोप्न लगायो । कति अप्ठ्यारो समयमा ल्याएर उभ्याइदिएको छ ।

एकले अर्कोलाई टीका लगाउँदासम्म पनि हामीले एकदमै अप्ठ्यारो महसुस गर्नुप¥यो । सँगै बसेर खान पनि पाइन्न, धेरै कुराहरुले बाँधेको छ । यो कहाँबाट कसरी भयो भनेर चर्चा परिचर्चा ग¥यो भने लामो समय लाग्छ । हरेक दिन सबेरैदेखि यस्तै विषयले स्थान लिन्छ । मलाई आजै बिहानदेखि मेरो मनमा लागेको कुरा चीनमा शुरु होउन्जेल ल यसलाई रोकांै है रोकौं भनेर धेरै कुराहरुमा समय बितायौं । लकडाउन भयो घरमै थुनिराख्यो ।

हामीले पूर्वतयारी भन्यौं धेरै लामो समय भयो । केही हदसम्म कोरोना संक्रमण कम पनि भयो । तर अहिले आएर एकदमै व्यापकरुपमा बढ्यो । अब त हरेक दिन ४ देखि ५ हजारको परीक्षण पोजेटिभ आउँछ ।

पहिला भनिएजस्तो उमेर पुगेका, मधुमेह भएका, दीर्घरोगीलाई कोरोना लाग्यो भने मृत्यु हुन्छ भन्थे तर अहिले त भर्खरभर्खरका मान्छेहरु कुनै रोग नलागेकाहरु प्नि मरिराखेका छन् । यो अलि डरलाग्दो अवस्था भएकाले सबैले आफूलाई ध्यान दिनु जरुरी छ ।

कसैकसैलाई शंका पनि लाग्छ यो पोजेटिभ भन्ने मात्र हो । यो केही होइन निको भइहाल्छ नि । तर पोजेटिभ पोजेटिभ नै हो । तर कोरोना भाइरस छ, नेपालमा धेरै जनालाई पोजेटिभ छ । कोरोनासम्बन्धी आफ्नै विषयको विशिष्टता होइन तर आफ्नै दाजुभाइ, दिदीबहिनी, वरिपरिका छिमेकी, साथीभाइको समस्यालाई सँगै राखेर आफ्नो अनुभवको आधारमा मैले देखेको कोरोना कस्तो छ? अहिले हरेक दिन ५ देखि ६ वटा फोन नआई छोड्दै छोड्दैन ।

ती फोन अस्पतालसम्बन्धी नभएर चिनेजानको साथीभाइले कोरोनाको लक्षण देखिएका विषयमा अब के गर्ने? अर्कोले पोजेटिभ पनि भयो, ज्वरो आयो, जिउ पनि दुख्यो के गर्ने? अर्कोले भन्छ, खोकी पनि लाग्यो, सास फेर्नै गाह्रो भयो के गर्ने? अर्कोलाई एकदमै अप्ठेरो भयो कुन अस्पताल लैजाने? यस्तो खालका फोन आई नै रहन्छ, सयौं जना फोन नगरी बस्ने पनि छन् ।

धरानका मेरो एक जना ५५ वर्षका दाजुलाई कोरोनाकै शंकाले गुमाउनुप¥यो । उहाँलाई सास फेर्न गाह्रो भयो, घरमै अक्सिजन ल्याएर जोड्दा जोड्दै अस्पतालमा आईसीयू नपाएर उहाँ रातभरि आकस्मिक कक्षमा बस्नुभयो । आईसीयू नै नपाएर बिहान उहाँ स्वर्गीय हुनुभयो । यस्तो समस्या धेरै जनालाई परेको छ । काठमाडौंमा अझ धेरै समस्या बढेको छ । आईसीयूमा पु¥याएका धेरै जनालाई फर्काउन सकिएको छ । कसैकसैलाई धेरै कोसिस गरेर फर्काएका छांै ।

कोरोनासँग आत्तिनुपर्दैन तर हेलचेक्र्याइँ गर्नुभएन । यी दुवै कुरा सबैभन्दा महत्वपूर्ण हुन् । आतिनु किन पर्दैन भने मनोबल चाहिन्छ । भाइरसले संक्रमण ग¥यो भने हामीलाई रुघाखोकी लागिरहन्छ, ज्वरो आउँछ, जिउ दुख्छ ठीक भएर जान्छ । १ हजार जनामा ९ सय ९५ जनालाई ठीक हुन्छ । तर त्यो ५ जनामा को पर्छ थाहा हुँदैन ।

९ सय ९५ मा पर्दा त आत्तिनु पनि परेन आत्मबल पनि बढायौं सबै कुरा ठीक छ त्यो गर्नैपर्छ । तर त्यो ५ जनामा प¥यौं भने के गर्ने त्यो नै सबैभन्दा मुख्य कुरा हो । त्यो मुख्य कुरालाई ध्यान दिएर माथि भनिएका लक्ष्यणहरु देखापरेमा पनि आईसीयू पु¥याउनै पर्दैन । यस्तो अवस्थामा सिटामोल खाने, खानेकुरा राम्रोसँग खाएर आराम ग¥यो भने पनि ठीक हुन सक्छ ।

अहिलेको डरलाग्दो अवस्था भनेको जसलाई सुख्खा खोकी लाग्यो, सास फेर्न गाह्रो नै भयो, एउटा भ¥याङ पनि उक्लिन सकिएन, बोल्दा पनि बीचबीचमै रोकिने र ज्वरो आउने भयो भने त्यस्ता व्यक्तिलाई तत्काल स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य संस्थामा पु¥याउनुपर्छ । यस्तो अवस्थामा मलाई ठीक भइहाल्छ भनेर घरमा बस्नुहुन्न नजिकैको स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ ।

उसले अक्सिजनको स्याचुरेसन हेर भन्छ । यो ९० भन्दा तल झरेमा हेलचेक्र्याइँ गर्नुहुन्न छिटोभन्दा छिटो अस्पताल पुग्नैपर्छ । अस्पतालले नआइज बेड छैन भन्ने समस्या धेरैले भोगेका छौं । तर जसरी भए पनि कोरोना केयर सेन्टरको फोन लिएर अक्सिजन लिनतर्फ लाग्नुपर्छ । कतिपयलाई १५ देखि २० लिटर अक्सिजन दिँदा पनि गाह्रो हुन्छ । त्यस्ता व्यक्तिलाई आईसीयूमा राखेर अरु औषधीका साथ अक्सिजनको मात्रा बढाउनुपर्छ ।

कतिपय अवस्थामा अक्सिजन बढाउँदा पनि भेन्टिलेटरमा नराखी नहुने भयो भनेर एक्सपर्टहरुले भन्छन् । यो अर्थमा भेन्टिलेटरमा राखेका ५ जना बिरामीमध्ये ४ जना फर्केका छैनन् । यदाकदा एक जनालाई मात्र फर्काउन सकिएको छ, किनभने भेन्टिलेटर भनेको मेकानिकल हो । आफ्नै शरीरको बलबुताले सास फेर्नुपर्ने बेलामा मेसिनमा निर्भर भएपछि आफ्नो काम भएन । कोरोना संक्रमणमा फोक्सोमा आफ्नै प्रयासले राम्रो गर्न नसकेपछि मेसिनको भरपर्दा पछि पुनः फर्काउन धेरै गाह्रो पर्छ । अहिले धेरै कोरोना संक्रमितहरु भेन्टिलेटरमा पुगेर पनि पाटन, धुलिखेल, प्राइभेट अस्पतालमा मरिराखेका छन् । त्यसैले भेन्टिलेटर नै चाहिन्छ भन्ने कुरा नसोचौं, जतिसक्दो धेरै अक्सिजन दिएर बिरामी आफैलाई सक्रिय बनाउने हो ।

खोकी लाग्यो र सास फेर्न गाह्रो भो भने अक्सिजन नापेर ९० भन्दा कम भयो भने अस्पताल पुग्नैपर्छ । हुलमुलमा जिउ जोगाऊ, अनिकालमा बिउ जोगाऊ भन्ने आख्यानलाई मनन गरी आफूलाई जोगाएर राख्न अनिवार्यरुपमा भौतिक दूरी कायम गरी मास्क लगाउने, साबुनपानीले हात धुने र बेलाबेलामा स्यानिटाइजर गर्नुपर्छ । पहिला भनिएजस्तो उमेर पुगेका, मधुमेह भएका, दीर्घरोगीको कोरोना लाग्यो भने मृत्यु हुन्छ भन्थे तर अहिले त भर्खर भर्खरका मान्छेहरु कुनै रोग नलागेकाहरु मरिराखेका छन् । यो अलि डरलाग्दो अवस्था भएकाले सबैले आफूलाई ध्यान दिनु जरुरी छ ।

नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा काभ्रे जिल्लामा पनि लागू भएको छ । ३५ सय रुपियाँ तिरेपछि ५ जना व्यक्तिले १ लाखसम्मको उपचार पाउँछन् । धुलिखेल अस्पतालले पनि यो सेवा दिँदै आएको छ । यो सरकारी, सामुदायिक अस्पतालले मात्र हैन कुनै पनि निजी अस्पतालले पनि सरकारले ल्याएको बीमा सेवा दिनुपर्छ । यसका लागि सरकारले कुनै लगानी गरेको छैन भन्नुभन्दा पनि मानवीयताका नाताले सरकारले दिने गरेकै सेवालाई एक लाखसम्मको सुविधा सरकारले तोकेको मूल्यमा नै दिनुपर्छ ।

२०७२ को संविधानमा नै स्वास्थ्य सेवा आम नागरिकको नैसर्गिक अधिकार भनेर उल्लेख गरिसकेको अवस्थामा विभेद हुनुहुन्न । स्वास्थ्य बीमा भनेको जुनसुकै स्वास्थ्य संस्थामा जाँदा पनि पाउनुपर्छ । जनतालाई कसरी सेवा दिने भन्नेबारेमा सरकारले सोच्नुपर्छ । अस्पतालको क्षमताभन्दा बढी बिरामीको भीड भयो भने स्वास्थ्य सेवा सोचे जस्तो नहुन सक्छ । त्यसैले सरकारले सरकारीमा मात्र नभई स्वास्थ्य बीमा प्राइभेटमा पनि लागू गर्न पहल गरोस् ।

(डा. कोजू, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डीन तथा वरिष्ठ मुटुरोग विशेषज्ञ हुनुहुन्छ । प्रस्तुति ः भगवती तिमल्सिना)

प्रतिक्रिया दिनुहोस्