कोरोनाभाइरस खोप : ९०% लाई सुरक्षा दिने खोप तयार भएको घोषणा



एजेन्सी । कोरोनाभाइरस विरूद्धको पहिलो प्रभावकारी खोपले त्यस्तो खोप लगाएका मध्ये ९०% भन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।उक्त खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले यस्तो नतिजा प्राप्त भएपछी ‘विज्ञान र मानवताका लागि एक महान दिन’भएको बताएका छन्।

तिनीहरूले तयार पारेका खोप विभिन्न छ देशका ४३ हजार ५०० मानिसमा परिक्षण गरिएको थियो र त्यसक्रममा सुरक्षा सम्बन्धी कुनै पनि चिन्ताहरू देखा परेका थिएनन्।

ति कम्पनीहरूले यो महिनाको अन्त्यसम्ममा उक्त खोपको प्रयोगका लागि आवश्यक अनुमति आपतकालिन रूपमा प्राप्त गर्न आवेदन दिने योजना बनाएका छन्।

चुनौती

अगाडि अझै पनि ठूला चुनौतीहरू बाँकी नै छन् तर यो घोषणालाई वैज्ञानिकहरूले स्वागत गरेका छन्।केहीले यो खबर सुनेपछी आफू मुस्काएको बताएका छन् भने केहीले आगामी वसन्त ऋतुसम्ममा विश्वको जनजीवन सामान्य भैसक्ने आशा व्यक्त गरेका छन्।

खोप र राम्रो उपचारको व्यवस्था नै आम मानिसहरूको जनजीवनमा उथलपुथल ल्याउने गरी कोरोनाभाइरसको महामारीका कारण लागु विभिन्न प्रतिबन्धहरूबाट पार पाउने उत्तम उपाय हुन् भनिएको छ।

झण्डै एक दर्जनजति खोपहरू फेज ३ भनिने परिक्षणको अन्तिम चरणमा रहेका छन्। तर अहिले घोषणा गरिएको खोप प्रभावकारी लक्षण देखाउन सफल पहिलो हो।

प्रयोगात्मक

यसले सम्पूर्ण रूपमा प्रयोगात्मक प्रकृया अपनाएको छ जुन प्रकृयामा मानव शरिरको रोग प्रतिरोधी क्षमतालाई कोरोनाभाइरस विरूद्ध लड्न अभ्यस्त तुल्याउन उक्त भाइरसको जेनेटिक कोडको एक भागलाई सुई मार्फत शरिरमा प्रवेश गराउने विधि स‌ंलग्न छ।

पहिलेका परिक्षणहरूले उक्त खोपले शरिरलाई कोरोनभाइरससँग लड्न उक्त भाइरस विरोधी एन्टिबडि निर्माण गर्न र टि-सेल भनिने शरिरको रोध प्रतिरोधी क्षमताको अर्को भाग तयार पार्न अभ्यस्त तुल्याउने देखाएका थिए। तीन हप्ताको अन्तरालमा उक्त खोपको दुई मात्रा आवश्यक पर्दछ।

अमेरिका, जर्मनी, ब्रजिल,आर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परिक्षणहरूमा उक्त खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरू मध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस सङ्क्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो। बिबिसी नेपालीबाट

प्रतिक्रिया दिनुहोस्