संक्रमितको संख्यामा दैनिक वृद्धि

दोस्रो परीक्षण नगरे धर्ना दिने संक्रमितको चेतावनी



चिरञ्जीवी मास्के, दोलखा

दोलखामा शनिबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या एक सय ३७ पुगेको छ ।

धुलिखेल अस्पतालको सञ्चालनमा रहेको दोलखाको गौरीशङ्कर अस्पतालमा व्यक्तिगत शुल्क तिरेर स्वाब दिएका २७ जनामध्ये १० जनाको रिर्पोट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

कात्तिक १३ गते माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका २५ जना र अन्य दुई जना गरी २७ जनाले पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा एक महिलासहित १० जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका २५ जनामा ९ जनाको रिपोर्ट पोजेटिभ आएको र अन्य दुई जनामध्ये एक जना महिलाको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । दशैं मनाएर काममा फर्कन थालेका ९ जनामा कोरोना संक्रमण देखिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।

दोलखा जिल्लामा दशैंको अवधिमा मात्र ४८ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा अहिलेसम्म एक सय ३७ जनामा कोरोना पोजेटिभ देखिएको र अहिले पनि ७८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

सचेतनाको अभाव
जिल्लामा दैनिक कोरोना संक्रमित थपिए पनि स्थानीय प्रशासन र नागरिक स्वयंसमेत सचेत नभएको सरोकारवालाहरुको आरोप छ । दोलखाको स्थानीय तहहरुले शङ्कास्पद र कन्ट्र्याक ट्रेसिङका आधारमा स्वाब सङ्कलन गरी परीक्षणको लागि धुलिखेलस्थित प्रदेश प्रयोगशालामा पठाए पनि प्रयोगशालाले अनावश्यक स्वाब पठाएको भनी रिर्पोट दिन आनाकानी गरेको र स्वाब नपठाउन भनेको दोलखाका पालिकाहरुले गुनासो गरेका छन् ।

दोस्रो टेस्ट नभए धर्ना दिने
कोरोना संक्रमितहरुको निश्चित दिनपछि हुनुपर्ने दोस्रो स्वाब टेस्ट आवश्यक नभएको भन्दै स्वास्थ्य कार्यालय दोलखाले स्वाब परीक्षण गर्न अस्वीकार गरेपछि संक्रमितहरुले आन्दोलनको चेतावनी दिएका छन् । दोस्रो टेस्टका लागि स्वाब सङ्कलन नगरिए जिल्ला प्रसाशन कार्यालयमा धर्ना दिने र संक्रमण ठीक भएको स्वघोषणा गर्ने उनीहरुको चेतावनी छ ।

स्थानीय पालिकाहरुको सहयोगमा कोभिड कोषको रकमसमेत उपयोग गरेर कन्ट्र्याक ट्रेसिङ तथा संक्रमितको दोस्रो परीक्षणका लागि स्वाब परीक्षणलाई निरन्तरता दिइने प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्