सयपत्री प्रतिष्ठानद्धारा डा.कोजूको सम्मान



भगवती तिमल्सिना,काठमाडौ ।

सयपत्री प्रतिष्ठान नेपाल बनेपाले प्रतिष्ठानका संस्थापक अध्यक्ष एंव समाजसेवी स्व. कृष्णकुमार केसीको चौथो बार्षिक पुण्य तिथिका अवसरमा काठमाडौ विश्व विद्यालय स्कूल अफ मेडिकल साईन्सका डीन तथा मुटुरोग विशेषज्ञ प्रा.डा.राजेन्द्र कोजूलाई सम्मान गर्यो ।

डा.कोजुलाई कोरोना संक्रमणका बेला स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गरेकोमा भौतिक दुरी कायम गर्दै एक कार्यक्रमको आयोजना गरि कृष्णकुमार केसी स्मृति सम्मान तथा पुरस्कारद्धारा बरिष्ठ साहित्यकार मोहन दुवालले टीका, माला, प्रशसापत्र, दोसल्लाका साथ १० हजार नगद राशी सहितले सम्मान गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार तथा बरिष्ठ साहित्यकार दुवालले डा.कोजूलाई सम्मान गर्नपाएकोमा हामी धन्य भएका छौं । कृष्णकुमार थोरै बोल्ने धेरै काम गर्ने व्यक्तिलाई प्रतिष्ठानले कदर गरेकोमा समाज प्रति खुशी व्यक्तभयो । उहाँले यो प्रतिष्ठानले साहित्यकारहरुलाई लक्ष्मीपुजाका दिन श्रीमान श्रीमतीलाई सम्मान गर्दै आएको छ । सबैले अक्षरको प्रेम गरौं साथ साथै साहित्यको पुजा गरौं भन्नुभयो ।

डा.कोजूले कोरोनाका कारण भौतिक दुरी टाढा बनाउँदै अनुहार छोपेर सुरक्षा अपनाउँनुपर्ने अवस्था छ । कोरोनालाई सामान्य नमानौ यसबाट धेरै त्रसित भएर पनि नभागौ, सक्दो सुरक्षा अपनाएर एकआपसमा सहयोगी भावनाको विकास गरौं भन्नुभयो ।
सोही अवसरमा सम्मानीत डा.कोजूका बारेमा धुलिखेल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.सुमनराज ताम्राकारले धुलिखेल अस्पतालका रामपछि डा.कोजू लक्ष्मणको भूमिकामा हुनुहुन्छ भन्नुभयो ।

उहाँले डा.कोजुको साहित्य, लेखन, चिकित्सकीय पेशा, कला, संगीत, सामाजिक क्षेत्रको विकास, शिक्षा र स्वास्थ्यका हस्ति भएको बताउनुभयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नं १० का वडा अध्यक्ष चन्द्रबहादुर खड्काले धुलिखेल अस्पतालले बीमा गरेका बिरामीलाई विशेष प्राथमिकतामा राखि कोरोनाको उपचारमा समेत समेट्न आग्रह गर्नुभयो ।

सोही अवसरमा लोकगायक मच्छेश्वर सापकोटाले आफैले रचेको लोकगित रुपहेर्दा छ उस्तै उस्तै मान्छेजस्तै देखिन्छ दुरुस्तै, समाजको ठूलोमान्छे मैहु भन्छ निमुखाको गाँस खोसी आफ्नै भुडि भर्छ भन्ने गित गाएर देशको बर्तमान अवस्थाको चरितार्थ गर्नुभएको थियो ।
प्रतिष्ठानका सचिव रामसुन्दर देउजा, उपाध्यक्ष प्रद्युम्न न्यौपाने लगायतले प्रतिष्ठानका बारेमा चर्चा गर्नुभएको थियो ।

मैले देखेको कोरोना कस्तो छ ?

  • डा.राजेन्द्र कोजू

कोरोनाले गर्दा हामी यति टाढा टाढा बसेका छौ । हामी सामाजिक प्राणी एकदमै नजिक बसेर एकले अर्कोलाई सहयोग गर्नुपर्ने आवश्यकता भएको व्यक्तिलाई प्रकृतिले कहाबाट कहाँ पुर्याईदियो टाढा पो जाउ भन्यो । आफ्नो नाक र मुख नदेखाए सम्म अनुहार कस्तो छ, भावना कस्तो छ नबुझीने बेलामा कोरानाले नाक, मुख सबै छोप्न लगायो । कति अप्ठ्यारो समयमा ल्याएर उभ्याईदिएकोछ ।

एकले अर्कोलाई टीका लगाउँदा सम्म पनि हामीले एकदमै अप्ठ्यारो महसुस गर्नुपर्यो । सँगैबसेर खान पनि पाईन्न, धेरै कुराहरुले बाँधेको छ । यो कहाँबाट कसरी भयो भनेर चर्चा परिचर्चा गर्यो भने लामो समय लाग्छ । हरेक दिन सबेरै देखि यस्तै बिषयले स्थान लिन्छ । मलाई आजै बिहानदेखि मेरो मनमा लागेको कुरा चीनमा शुरु हुउञ्जेल ल यस्लाई रोकौ हेै रोकौ भनेर धेरै कुराहरुमा समय बितायौ ।

लकडाउन भयो घरमै थुनी राख्यो । हामीले पूर्व तयारी भन्यौ धेरै लामो समय भयो । केही हदसम्म कोरोना संक्रमण कम पनि भयो । तर अहिले आएर एकदमै व्यापक रुपमा बढ्यो । अब त हरेक दिन ४ देखि ५ हजारको परिक्षण पोजेटिभ आउँछ । कसैकसैलाई शंका पनि लाग्छ यो पोजेटिभ भन्ने मात्र हो । यो केही होईन निको भैहाल्छनि । तर पोजेटिभ पोजेटिभ नै हो ।

तर कोरोना भाईरस छ, नेपालमा धेरै जनालाई पोजेटिभ छ । कोरोना सम्बन्धि आफ्नै बिषयको विशिष्टता होईन तर आफ्नै दाजुभाई, आफ्नै दिदीबैनी, आफ्नै वरिपरिका छिमेकी, साथीभाईहरुको समस्यालाईसँगै राखेर आफ्नो अनुभवको आधारमा मैले देखेको कोरोना कस्तो छ ? अहिले हरेक दिन ५ देखि ६ वटा फोन नआई छोड्दै छोड्दैन ।

ती फोन अस्पताल सम्बन्धी नभएर चिनेजानको साथीभाईहरुले कोरोनाको लक्षण देखिएका बिषयमा अब के गर्ने ? अर्कोले पोजेटिभ पनि भयो, ज्वरो आयो, जिउ पनि दुख्यो के गर्ने ? अर्कोले भन्छ, खोकी पनि लाग्यो, सास फेर्नै गाह्रो भयो के गर्ने ? अर्कोलाई एकदमै अप्ठेरो भयो कुन अस्पताल लाने ? यस्तो खालका फोन आईनै रहन्छ, सयौ फोन नगरि बस्ने पनि छन् ।

अहिले सम्मान ग्रहण गरिरहदा ३ वटा फोन आईसक्यो । मेरो एकजना ५५ बर्षको दाजु कोरोनाकै शंकाले धरानमा गुमाउँनुपर्यो । उहाँलाई सास फेर्न गाह्रो भयो घरमै अक्सिजन ल्याएर जोड्दा जोड्दै अस्पतालमा आईसियू नपाएर उहाँ रातभरी आकस्मिक कक्षमा बस्नुभयो । आईसियूनै नपाएर बिहान उहाँ स्वर्गीय हुनुभयो । यस्तो समस्या धेरैजनालाई परेको छ ।

काठमाडौमा अझ धेरै समस्या बढेको छ । आईसियूमा पुर्याएका धेरैजनालाई फर्काउँन सकिएको छ । कसैकसैलाई धेरै कोसिस गरेर फर्काएका छौ । कोरोनासँग आत्तिनुपर्दैन तर हेलचेक्रयाई गर्नुभएन । यी दुबै कुरा सबै भन्दा महत्वपूर्ण हुन् । आतिनु किन पर्दैन भने मनोबल चाहिन्छ । भाइरसले संक्रमण गर्यो भने हामीलाई रुघाखोकी लागिरहन्छ, ज्वरो आउँछ, जिउ दुख्छ ठीक भएर जान्छ । १ हजार जनामा ९ सय ९५ जनालाई ठीक हुन्छ । तर त्यो ५ जनामा को पर्छ थाहा हुँदैन ।

९ सय ९५ मा पर्दा त आत्तिनुपनि परेन आत्मबल पनि बढायौ सबै कुरा ठीक छ त्यो गर्नैपर्छ । तर त्यो ५ जनामा पर्यो भने के गर्ने त्यो नै सबैभन्दा मुख्य कुरा हो । त्यो मुख्य कुरालाई ध्यान दिएर माथी भनिएका लक्ष्यणहरु देखा परेमा आईसियु पुर्याउँदैन । यस्तो अवस्थामा सिटामल खाने खानेकुरा राम्रोसँग खाएर आराम गर्यो भने ठीक हुन सक्छ ।

अहिलेको डरलाग्दो अवस्था भनेको जस्लाई सुख्खा खोकी लाग्यो । सास फेर्न गाह्रो नै भयो । एउटा भर्याङ पनि उक्लिन सकिएन, बोल्दा पनि बीच बीचमै रोकिने र ज्वरो आउँने भयो भने त्यस्ता व्यक्तिलाई तत्काल स्वास्थ्यकर्मीको सल्लाह अनुसार स्वास्थ्य संस्थामा पुर्याउँनुपर्छ । यस्तो अवस्थामा मलाई ठीक भैहाल्छ भनेर घरमा बस्नुहुन्न नजिकैको स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ ।

उस्ले अक्सिजनको स्याचुरेसन हेर भन्छ । यो ९० भन्दा तल झरेमा हेलचेक्रयाई गर्नु हुन्न छिटो भन्दा छिटो अस्पताल पुग्नैपर्छ । अस्पतालले नआईज बेड छैन भन्ने समस्या धेरैले भोगेका छौ । तर जसरी भएपनि कोरोना केयर सेन्टरको फोन लिएर अक्सिजन लिनतर्फ लाग्नुपर्छ । कतिपयलाई १५ देखि २० लिटर अक्सिजन दिँदा पनि गाह्रो हुन्छ । त्यस्तो व्यक्तिलाई आईसियूमा राखेर अरु औषधिका साथ अक्सिजनको मात्रा बढाउनुपर्छ ।

कतिपय अवस्थामा अक्सिजन बढाउँदा पनि भेन्टिलेटरमा नराखी नहुने भयो भनेर एक्सपर्टहरुले भन्छन् । यो अर्थमा भेन्टिलेटरमा राखेका ५ जना बिरामी मध्ये ४ जना फर्केका छैनन् । यदाकदा एकजनालाई मात्र फर्काउन सकिएको छ । किनभने भेन्टिलेटर भनेको मेकानिकल हो । आफ्नै शरिरको बलबुताले सासफेर्नुपर्नेबेलामा मेशिनमा निर्भर भएपछि आफ्नो काम भएन ।

कोरोना संक्रमणमा फोक्सोमा आफ्नै प्रयासले राम्रो गर्न नसकेपछि मेशिनको भरपर्दा पछि पुनः फर्काउन धेरै गाह्रो पर्छ । अहिले धेरै कोरोना संक्रमितहरु भेन्टिलेटरमा पुगेर पनि पाटन, धुलिखेल, प्राईभेट अस्पतालहरुमा मरिराखेका छन् । त्यसैले भेन्टिलेटर नै चाहिन्छ भन्ने कुरा नसोचौ, जतिसक्दो धेरै अक्सिजन दिएर बिरामी आफैलाई सकृय बनाउने हो ।

खोकी लाग्यो र सास फेर्न गाह्रो भो भने अक्सिजन नापेर ९० भन्दा कम भयो भने अस्पताल पुग्नै पर्छ । हुलमुलमा जीउ जोगाउ, अनिकालमा बीउ जोगाउ भन्ने आख्यानलाई मनन गरि आफुलाई जोगाएर राख्न अनिवार्य रुपमा भौतिक दूरी कायम गरि माक्स लगाउ, साबुन पानीले हात धोउ र स्यानीटाईजर बेला बेलामा लगाउँ ।

पहिला भनिए जस्तो उमेर पुगेका, मधुमेह भएका, दीर्घरोगीको कोरोना लाग्यो भने मृत्यु हुन्छ भन्थे तर अहिले त भर्खर भर्खरका मान्छेहरु कुनै रोग नलागेकाहरु मरिराखेका छन् । यो अलि डरलाग्दो अवस्था भएकाले सबैले आफुलाई ध्यान दिनु जरुरी छ । नेपाल सरकारले ल्याको स्वास्थ्य बीमा काभ्रे जिल्लामा पनि लागु भएको छ ।

३५ सय रुपैया तिरेपछि ५ जना व्यक्तिले १ लाख सम्मको उपचार पाउँछन् । धुलिखेल अस्पतालले पनि यो सेवा दिँदै आएको छ । यो सरकारी, सामुदायिक अस्पतालले मात्र हैन कुनै पनि नीजी अस्पतालले पनि सरकारले ल्याएको बीमा सेवा दिनुपर्छ । यसका लागि सरकारले कुनै लगानी गरेको छैन भन्नुभन्दा पनि मानवीयताका नाताले सरकारले दिने गरेकै सेवालाई एकलाख सम्मको सुविधा सरकारले तोकेको मूल्यमा नै दिनुपर्छ ।

२०७२ को संविधानमा नै स्वास्थ्य सेवा आम नागरिकको नैसर्गिक अधिकार भनेर उल्लेख गरिसकेको अवस्थामा विभेद् हुनुहुन्न । स्वास्थ्य बीमा भनेको जुनसुकै स्वास्थ्य संस्थामा जाँदा पनि पाउँनुपर्छ । जनतालाई कसरी सेवा दिने भन्ने बारेमा सरकारले सोच्नुपर्छ । अस्पतालको क्षमता भन्दा बढी बिरामीको भीड भयो भने स्वास्थ्य सेवा सोचे जस्तो नहुन सक्छ । त्यसैले सरकारले सरकारीमा मात्र नभै स्वास्थ्य बीमा प्राईभेटमा पनि लागु गर्न पहल गरोस् ।

प्रतिक्रिया दिनुहोस्