बझाङमा लिप्टिङ प्रविधिबाट खानेपानी



ललित सिंह, बझाङ ।

खानेपानीको चरम अभाव रहेको सदरमुकाम चैनपुरमा अब सेती नदीको पानी तानेर खानेपानीका लागि उपयोग गरिने भएको छ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा नेपाल सरकारबाट साना शहरी खानेपानी योजनाअन्तर्गत सदरमुकाम चैनपुरमा खानेपानी योजना निर्माण गरिन लागेको हो ।

सदरमुकाम चैनपुर बजार क्षेत्रसहित आसपासका बस्तीमा खानेपानीको वितरण गरिने योजनाअनुसार हाल ११ सय ६५ धारा निर्माण हुँदै छन् भने पछि धारा थपेर २ हजार परिवारसम्मका लागि खानेपानी वितरण गर्न सकिने आयोजनाका इन्जिनियर विनीत जोशीले बताउनुभयो । योजनाको ७० र उपभोक्ताको ३० प्रतिशत लागतमा निर्माण भइरहेको यो योजनाबाट विपन्न असहाय ३ हजार ७ सय ५० परिवारलाई धारा र चर्पीमा अनुदानसमेत दिइएको उहाँको कथन छ ।

यो आयोजनाका लागि २०७६ सालमा ठेक्का भएर आशिष सीएबी जेबी निर्माण सेवाले काम गरिरहेको छ । २१ करोड ७३ लाखको लागतमा निर्माण हुन लागेको चैनपुर शहरी खानेपानी योजनाको चैनपुर सिमभाडीमा ७ लाख क्षमताका चारवटा पानी रिजर्व गर्ने ट्याङ्कीसहित नदीको पानी फिल्टर गर्ने अन्य प्रविधिसहितका पूूर्वाधारहरु निर्माण हुँदै छन् । जिल्लामा नदीको पानी लिप्टिङ गरेर खानेपानीमा उपयोग गरेको यो पहिलो योजना हो ।

सेती नदीमा पानी संकलनका लागि ट्याङ्कीदेखि समुदायस्तरमा पाइपलाइन विस्तार भएका छन् । मिटर प्रविधिबाट पानीको वितरण हुने यस योजनाको अहिले ५१ प्रतिशत काम सकिएको आयोजनाको काम गरिरहेका कामदार बताउँछन् । एउटा धारा जडानका लागि १६ देखि २० हजार रुपियाँ उपभोक्ताले दिनुपरेको उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताउनुुभयो । सदरमुकाम क्षेत्रका लागि अहिले चैनपुर खानेपानी उपभोक्ता समितिले खानेपानीको वितरण गरिरहेको छ । यो योजना आउँदो चैतभित्र सकिने यहाँ बताउनुुहुुन्छ ।
सदरमुकाम चैनपुरमा खानेपानी आपूूर्तिका लागि मुहानको अभाव र भएको पानी पनि उचित व्यवस्थापन नहुँदा लामो समयदेखि खानेपानीको समस्या छ ।

प्रतिक्रिया दिनुहोस्