दूषित मासुमुक्त दशैं : काठमाडौं सचेत छ, तपाईं नि !



ईश्वरराज ढकाल, काठमाडौं ।

दूषित मासु खाँदा झाडापखाला, इकोलाई, क्षयरोग, बु्रसेला, एन्थ्रास, जुकापर्ने, आउँ, रगत मासी, चर्मरोग, फुड प्वाइजन, वान्ता आउने, खान मन नलाग्ने, छाला चिलाउने, फुस्रो हुने, घाउ खटिरा आउने र पाक्ने, ब्रेनसिस्ट, दमलगायतका रोग लाग्ने सम्भावना बढेपछि सरकारले काठमाडौं भित्रिने चौपायाको चेकजाँचलाई कडाइ गरेको छ ।

काठमाडौं महानगरपालिकाले चेकजाँचसँगै स्वस्थ मासु खान आह्वान गरेको छ । आजबाट अर्थात् फूलपातीदेखि नवमीसम्म पशुवली दिने र काटमार गर्ने प्रचलन रहेको छ । उपत्यकामा भित्रिने खसीबोकालगायत चौपायाको स्वस्थ मासु खुवाउन सरकारले परीक्षणलाई तीव्रता दिएको हो । राजधानीका काठमाडौं महानगर र अन्य क्षेत्रमा प्रदेश र संघ सरकारको सहयोगमा चौपायाको स्वास्थ्य परीक्षण भइरहेको छ ।

‘हामीले उपत्यकावासीलाई स्वाथ्य मासु खुवाउन परीक्षण गरेको चौपाया मात्र किन्न अनुरोध गरेका छौं।’ –काठमाडौं महानगरपालिका पशुसेवा महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाले बताउनुभयो ।

उहाँका अनुसार महानगरले यो वर्ष खसी र बोकामा महामारी रोग लागेको छ कि छैन भनी परीक्षण गर्न रगत संकलन गरिएको छ । त्यसको रिपोर्टका आधारमा काठमाडौं भित्र्याइएका जिल्लामा रहेका खसीबोकाको अवस्थाबारे जानकारी हुने भएको छ ।

उहाँले भन्नुभयो– ‘यो रिपोर्टले कुन जिल्लामा पालिएका खसीको वातावरणीय अवस्था कस्तो छ, रोग प्रतिरोधी क्षमतालगायका विषयमा अनुसन्धान गर्न सजिलो हुन्छ ।’

अहिले नै परिणामबारे जानकारी पाउने भन्दा पनि कुन ठाउँको चौपायाको स्वास्थ्य अवस्था कस्तो देखिएको छ, अब त्यस्ता जिल्लाबाट खसीबोका ल्याउन स्वीकृत दिने कि नदिनेसम्मको अध्ययन गर्न सहज हुने भएकोले पहिलो पटक रगत परीक्षण गरेको डा. झाले जानकारी दिनुभयो ।

उहाँले निरोगिताको प्रमाण स्वरुप सिङमा हरियो रङ लगाएको चौपायाको मासु खान आग्रह गरेको बताउँदै त्यसका लागि सबै बिक्री केन्द्रमा परीक्षणलाई तीव्रता दिएको दाबी गर्नुभयो । कामपाले घटस्थापनादेखि परीक्षण शुरु गरेको थियो । विशेषज्ञसहितको टोलीले राजधानीको कलंकी खसीबजार, बालाजु, टुकुचामा परीक्षण जारी राखेको छ ।

बिहीबारसम्म टुकुचा बिक्री केन्द्रमा २ हजार ४ सय ७, कलंकीमा ९ हजार १३ र बालाजुस्थित च्याङग्रा बिक्री केन्द्रमा ६९ गरी ११ हजार ५ सय खसीबोका र च्याङग्राको स्वास्थ्य परीक्षण सम्पन्न गरिसकेको छ ।

यो परीक्षण आगामी तीन दिनसम्म निरन्तर जारी रहने महाशाखा प्रमुख डा. झाले बताउनुभयो । ‘अहिले जिउँदो चौपायाको स्वास्थ्य परीक्षण गरेका छौँ, अब बधशाला र अन्य बिक्री केन्द्रमा काटेको मासु परीक्षण शुरु गर्नेछौं।’ –उहाँले भन्नुभयो ।

उहाँका अनुसार दशैंसम्म करिब ३० हजार चौपायाको स्वास्थ्य परीक्षण गरिनेछ । ‘हाम्रो मूल उद्देश्य स्वाथ्यमा गम्भीर असर पर्ने खालका बासी, सडेगलेका र रोगी चौपायाको मासु खान नदिनु नै हो, रोग लाग्नुभन्दा पनि रोग लाग्नै नदिन हामीले सावधानी अपनाएर परीक्षणलाई जारी राखेका हौँ ।’ –डा. झाले बताउनुभयो ।

कामपाले पशु चिकित्सक डा. पूजा खनाल, डा. अञ्जिरमान सिं डंगोल र डा. डम्बरबहादुर बमको नेतृत्वमा ३ टोली बनाएर चौपायाको स्वास्थ्य गरिरहेको छ । टोलीमा कामपा प्रहरी र केही प्राविधिक सम्मिलित छन् ।

टोलीले अस्वस्थ देखिएको चौपायाको सिङमा रातो रङ लगाएर २४ घण्टा निगरानीमा राख्ने र पूर्ण स्वस्थ्य भएपछि सिङमा हरियो रङ लगाएर बिक्री खुला गर्न दिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्