जिमिनेजको गोलमा वुल्भसको जित



लन्डन, (एजेन्सी)  ।

लिड्स युनाइटेडलाई १–० ले हराएर वुल्भरहेम्पटन वान्डेर्स (वुल्भस) इंग्लिस प्रिमियर लिगको अंक तालिकाको छैठौं स्थानमा उक्लेको छ।
लिड्सको योर्कसायरस्थित घरेलु मैदानमा वुल्भसलाई जित दिलाउन राउल जिमिनेजले निर्णायक गोल गरेका हुन्। पोर्चुगिज खेलाडीले खेलको ७०औं मिनेटमा डेडलक तोडेर टिमलाई जित दिलाएका थिए। जिमिनेजले मेक्स किलमेनको पास सदुपयोग गरे। त्यो जितसँगै वुल्भस ५ खेलबाट ९ अंक जोडेर छैठौं स्थानमा उक्लिँदा पराजित लिड्स ७ अंकसहित १०औं स्थानमा झरेको छ।

त्यसो त खेल घरेलु टिम लिड्सले अग्रता लिएको थियो। खेलको आठौं मिनेटमा ज्याक ह्यारिसनबाट आएको पासमा प्याट्रिक बामफोर्डले गोल गरेका थिए। तर, यो गोल अफसाइड घोषित हुँदा लिड्स अग्रता लिनबाट वञ्चित भयो। त्यसको दुई मिनेटपछि रोड्रिगाको प्रहार क्रस बारमा लागेर बाहिरिँदा लिड्स फेरि अग्रता लिनबाट चुकेको थियो।

३७औं मिनेटमा जोओ मौटिन्होको कर्नरमा जिमिनेजको प्रहार क्रस बारमा लाग्दा वुल्भस अग्रता लिनबाट चुक्यो। ३९औं मिनेटमा ह्यारिसनको क्रसमा बामफोर्डले गरेको प्रहार वुल्भसका कप्तान कोनोर कोडेले रोकिदिएका थिए। पहिलो हाफको इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा लियन्डर डेडनकेरको क्रसमा ड्यानियल पोडेन्सको शक्तिशाली प्रहारलाई लिड्सका गोलरक्षक इलान मेसलिएरले बचाएका थिए।

५३औं मिनेटमा पोडेन्सको पासमा रोमेन सइसले फ्लिकमार्फत गोल गरे पनि भिएआर ९भार० बाट मान्यता नपाउँदा वुल्भस अग्रता लिनबाट चुकेको थियो। ७०औं मिनेटमा किलमेनको पासमा जिमिनेजले गोल गर्दै वुल्भसलाई १–० को अग्रता दिलाए। यो उनको सिजनमा तेस्रो गोल थियो। त्यसपछि थप गोल निस्कन नसक्दा वुल्भसले स्पष्ट ३ अंक जोडेको हो। वुल्भसको यो लगातार दोस्रो जित हो भने यसअघि तीन खेलमध्ये दुई खेलमा टिम पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्