चाडवाड आयो आएनन् ग्राहक, दोहोरो मर्कामा सुनचाँदी व्यवसायी



न्युज अफ नेपाल, हेटौँडा ।

कान्तिराजपथमा रहेको श्याम दुतराज एण्ड सन्स् सुनचाँदी पसलमा लकडाउन खुल्दा पनि ब्यापार शून्य अबस्थामै रहेको छ । सुनचाँदी पसल सञ्चालक श्याम गजमेर दशैंको समयमा पनि सुनचाँदी किन्ने ग्राहक नआएको बताउनुहुन्छ ।

दिनहुँजसो सुनचाँदीको भाउ घटबढ भइरहनु, लकडाउनका कारण आर्थिक अबस्था कमजोर हुनु तथा कोरोना संक्रमणको जोखिमलाई ध्यान राखेर सुनचाँदी किन्न नआउनु जस्ता मुख्य कारण व्यबसाय फस्टाउन नसकेको गजमेरले बताउनुभयो ।

उहाँले भन्नुभयो–घरको भाडा २० हजार छ । व्यबसायमा मन्दी छ । सरकारलाई कर तिर्नुपर्ने बाध्यता छँदैछ । सटर भाडा महिना मर्ने बित्तिकै तिर्नुपर्छ । ब्यापार शून्य छ । दशैंको समयमा पनि सोचेजस्तो ब्यापार भएन । अघिल्ला वर्षहरुमा तिजदेखि दशैं र विवाहको लगनहरु भएका महिनामा सोचेभन्दा बढी ब्यापार हुने गरेको उहाँको भनाइ छ ।

कान्तिराजपथमा नै रहेका सफल सौगात सुनचाँदी पसल सञ्चालक सफल दुतराजले पनि उस्तै पीडा सुनाउनुभयो । लकडाउनभर पसल बन्द भयो । बल्ल लकडाउन खुकुलो भयो, तब सुनको भाउ बढ्यो । ‘भाउ बढेपछि किन्न आउने भन्दा बेच्न आउनेको संख्या बढी हुन थाल्यो,’ उहाँले भन्नुभयो । चाडपर्वको समयमा बिक्री धेरै हुनुपर्ने बेला ग्राहक नै आउने नगरेको उहाँले गुनासो पोख्नुभयो । भन्नुभयो–दशैंको समयमा लाखौंको ब्यापार हुने गरेको थियो । कोरोनाको प्रभावले होला सुन किन्न आउने मानिस नै छैैनन् आजकाल ।

अन्य व्यबसायहरु जस्तै सुनचाँदी व्यबसायीलाई पनि उत्तिकै असर परेको पाइएको छ । लगभग ६ महिना लामो बन्दाबन्दीको मार खेप्न बाध्य भएका व्यबसायीलाई दशैंको अवसरमा राम्रो ब्यापार गर्न सकिन्छ कि भन्ने आशा लागेको थियो । तर, नवरात्रिको चौथो दिनसम्म आइपुग्दा पनि व्यबसायीहरुको ब्यापार शून्यमै सीमित रहेको पाइएको छ । लत्ताकपडा, भाडा, मोबाइल, इलेक्ट्रिकल सामान, सुनचाँदीलगायतको दोब्बर ब्यापार हुने सिजनमध्ये पहिलो दशैं नै हो । अघिल्लो वर्ष एउटै पसलमा लाखौंको ब्यापार गर्ने व्यबसायीहरुलाई यस वर्षको दशैंमा रुनु न हाँस्नु जस्तै भएको छ ।

ठूला व्यबसायीदेखि साना व्यबसायीहरु सबैलाई दशैं जस्तो पर्वमा समेत ब्यापार नहुँदा दिक्क बनेका छन् । सुनचाँदी व्यबसायीलाई त उल्टै घाटा लागेको व्यबसायीहरु बताउँछन् ।

पहिले थोरै मूल्यमा बिक्री गरिएको सुन हाल मूल्यबृद्धि भएको समयमा उल्टै बेच्न ल्याउने गरेका छन् । किन्नैपर्ने व्यबसायीको बाध्यता पनि हो । किनकि, आफ्ना ग्राहकसँग दुःखसुखमा उस्तै व्यबहार गर्नु जरुरी पनि छ । त्यसैले, उल्टै घाटा लाग्ने गरेको हेटौंडाका सुनचाँदी व्यबसायी बताउँछन् ।

मर्कामा परेका सुनचाँदी व्यबसायीहरुको हितका लागि सुनचाँदी व्यबसायी महासंघ बागमती प्रदेशसँग कुरा अघि बढाइएको सुनचाँदी व्यबसायी संघ मकवानपुर अध्यक्ष केशब रसाइलीले बताउनुभयो । चाडपर्वको समयमा केही गर्न नसकिएपनि दशैं तिहारपछि राम्रो सहयोग हुने खालका योजना ल्याइने अध्यक्ष रसाइलीको भनाइ छ । मकवानपुरमा हाल १ सय १० वटा सुनचाँदी पसल सञ्चालनमा छन् ।

हिन्दुहरुको महान् पर्व दशैं सुरु भइसकेको छ । घरघरमा जमरा उम्रने सुरसार भइसकेको छ । तर, पनि कोरोना महामारीका कारण दशैं आइसकेजस्तो अनुभूति भने कमै मात्रामा भएको छ ।

दशैंका लागि सरसामान बिक्री जस्ता कार्यहरु यसपालि नभएको भएर पनि होला यो वर्षको दशैं खल्लो अनुभूति भइरहेको हेटौंडामा विभिन्न व्यबसाय सञ्चालन गर्दै आएकाहरुले बताएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असरका कारण सुनचाँदी व्यबसायमा पनि अस्तव्यस्तता छाएको छ ।

दशैंको समयमा लत्ताकपडासँगै गरगहनादेखि घरमा आबश्यक सामानहरु किन्ने चलन छ । मिठो खाने, राम्रो लगाउने पर्वको रुपमा पनि दशैं पर्वलाई चिनिने गरिएको छ । तर, यस वर्षको दशैं नरमाइलो, खल्लोे होला कि भन्नेमा सबै चिन्तित देखिन्छन् । सामान किन्नका लागि बजार आउजाउ गर्नाले कोरोनाको जोखिम रहला भन्ने त्रासले पनि धेरैजसो मानिसले अत्याबश्यकबाहेक बिलासीका सामान नकिन्ने निर्णय गरेको पाइएको छ । यसकारण पनि हेटौंडा बजार तथा आसपासको मुख्य बजारहरुमा सुनचाँदीदेखि लत्ताकपडासम्मका पसलहरु शून्य देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्