वृद्धाश्रमलाई स्वास्थ्य सामग्री र नगद हस्तान्तरण



नेपाल समाचारपत्र, काठमाडौं

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले विभिन्न वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकको सुरक्षार्थ सामग्रीसहित केही राहत उपलब्ध गराउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी दातृ निकायहरूसमक्ष पहल गरेको छ ।

यसै सिलसिलामा, हेल्प एज कोरियाको सहयोगमा हालको विश्वव्यापी महामारी कोभिड–१९ मा ज्येष्ठ नागरिकलाई निःशुल्करूपमा आश्रय दिई सञ्चालनमा रहेका वृद्धाश्रमहरू, ॐ वृद्धाश्रम, हेटौडा, सिद्धपोखरी सेवा सदन, पाँचथर, विश्रान्ती मन्दिर, धनकुटा, महिला तथा वृद्ध सेवा केन्द्र, कञ्चनपुर, प्रशान्ति वृद्धाश्रम केन्द्र, सुर्खेत, विराटेश्वर वृद्धाश्रम सेवा समिति, विराटनगर, पदम भुवनेश्वरी नमुना वृद्धाश्रम, सर्लाही, ज्येष्ठ नागरिक सम्मान वृद्धाश्रम, बारा, पोखरा वृद्धाश्रम, कास्की, लक्ष्मिनारायण वृद्धाश्रम, घोराही दाङलगायत काठमाण्डौंका आस्था वृद्धाश्रम, निःसहाय सेवा सदन, मातातीर्थ वृद्धाश्रम र हिमालय वृद्धाश्रम गरी १५ ओटा वृद्धाश्रमहरूमा आश्रित ४ सय ३० जनालाई पुग्ने गरी स्वास्थ्य सामग्रीहरू प्रतिव्यक्तिलाई ३१ थान मास्क, १ बट्टा स्यानिटाइजर, ७ पीस ग्लोब्स, १ पीस साबुन र १ पीस सन्चोसहित प्रतिव्यक्ति १ ह्जार १ सय ५५ रुपियाँका दरले नगदसहित करिब ९ लाख रुपियाँ बराबरको सामान एवं नगदसमेत वृद्धाश्रमका सञ्चालकहरूलाई हस्तान्तरण गरिएको महासंघका अध्यक्ष मदनदास श्रेष्ठले जानकारी दिनुभएको छ ।

‘कोभिड १९ विरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न वितरित सामग्रीहरुको प्रयोग गर्ने संक्षिप्त विधिसहित वितरित सामग्री र नगद सम्बन्धित वृद्धाश्रमहरूले आफ्नो आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई वितरण गनेछन्।’ – श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्