लुकाएर राखेको २३ किलो सुन बरामद



कृष्णउदास खनाल, वीरगन्ज

वीरगन्जको एक अपार्टमेन्टमा प्रहरीले छापा मारेर २३ किलोभन्दा बढी सुन बरामद गरेको छ । पर्साको वीरगन्ज महानगरपालिका–५ मा रहेको गणेश अपार्टमेन्टमा केही दिनदेखि निगरानी गरेको प्रहरीले शनिबर दुई घण्टा लामो समय छापा मारेर २३ किलोभन्दा बढी सुन बरामद गरेको हो ।

निलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा पहेंलो धातु बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिनुभयो । सुन र चाँदी बरामद भएको विषयमा पत्रकार सम्मेलन गरेर यसको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।

केही दिनदेखि निगरानी गरेको प्रहरीले शनिबार अपार्टमेन्टबाट एक केजीका दरले १३ वटा सुनका बिस्कुट १३ केजी, मझौला सुनका बिस्कुट ४६ पिस, ८ केजी ५ सय ७६ ग्राम र बिस्कुट सानो १०० ग्रामको दरले १० पिस एक केजी बरामद गरेको छ ।

त्यसै गरी सुनका गरगहनासमेत प्रहरीले बरामद गरेको छ । विभिन्न गहना ६ सय ८१ ग्राम भएको प्रहरीको भनाइ छ । त्यसै गरी चाँदीको जस्तो देखिने गरगहना, थाल र भाँडा गरेर दुई केजी २ सय ६२ ग्राम बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले बताउनुभयो ।

प्रहरी प्रमुख पन्तका अनुसार २३ किलोभन्दा बढी सुन र दुई केजी २६२ ग्राम बराबर चाँदीका सामान बरामद भएका छन् । पर्सा प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर सुन बरामद भएको जानकारी दिएको हो ।

यसैबीच वीरगन्जमा प्रहरीले शनिबार बरामद गरेको साढे २३ केजी सुन भारतीय सून तस्करको भएको खुलेको छ । बिहान झन्डै २ घण्टा लामो छापामारी अपरेसनपछि बरामद भएको सुन सीमावर्ती भारतीय बजार रक्सौल निवासी अशोक सिन्हाको भएको खुलेको हो ।

फ्ल्याटमा सीमावर्ती भारतीय बजार रक्सौलको विधानसभाको सिटमा उम्मेद्वारी दिएका प्रमोद सिन्हाका भाइ अशोक सिन्हा बस्ने गरेका थिए । पक्का सुराकका आधारमा घरको ढोका फोडेर छापा मार्दा उक्त परिमाणको सामान बरामद भएको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो ।

सिन्हा श्री गणेश अपार्टमेन्टको यो फ्ल्याटमा कहिलेकहीं मात्रै आएर बस्ने गरेको स्थानीय बताउँछन् । उनी बिहान मात्रै त्यस वरपर देखिएका थिए । तर प्रहरीले छापा मार्ने बेला भने फुत्किन सफल भएको बताइएको छ ।

तर, यस विषयमा थप अनुसन्धान जारी नै रहेको पर्सा प्रहरीले बताएको छ । उनले सुन नेपालको बाटो भएर खाडी मुलुकबाट भारत भित्र्याउन चाहेको बताइएको छ । त्यसका लागि वीरगन्जका केही सुन व्यवसायीहरुले सघाउने गरेकोसमेत पाइएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्