कर्मचारी र विरामीमा कोरोना पुष्टि भएपछि अस्पताल अनिश्चितकालीन वन्द



न्युज अफ नेपाल,पाल्पा ।

जिल्लाको सरकारी अस्पताल पाल्पा जिल्ला अस्पतालमा कार्यरत कर्मचारी र उपचाररत विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । असोज २७ गते अस्पतालबाट कर्मचारी, बिरामीसहित ९ जनाको स्वाब पिसीआर परीक्षणका लागि पठाइएकोमा शुक्रबार ७ जनामा कोरोना पुष्टि भएको थियो ।

संक्रमितमध्ये ४ जना अस्पतालका कर्मचारी र अन्य ३ जना उपचाररत बिरामी रहेको अस्पतालले जनाएको छ । अस्पतालले एक सूचना जारी गर्दै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले आकस्मिक बाहेकको सेवा बन्द गरिएको जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश कुवँरका अनुसार कर्मचारीमा संक्रमण देखिएपछि सेवाग्राहीमा पर्न सक्ने जोखिमलाई मध्येनजर गर्दै आकस्मिक बाहेकका सेवा बन्द गर्नुपरेको हो । सेवा बन्द गर्दा पर्न गएको असुविधाप्रति अस्पतालले क्षमा मागेको छ ।

प्रतिक्रिया दिनुहोस्