लेकर्सको खडेरी समाप्त



फ्लोरिडा, (एजेन्सी)
लसएन्जल्स लेकर्सले लामो समयदेखि उपाधि जित्न नसकेको खडेरी समाप्त गरेको छ। एलए लेकर्सले मायामी हिटलाई १०६–९३ ले हराएपछि एनबीए फाइनल्स बास्केटबल प्रतियोगिताको उपाधि जितेको हो। विजेता टिमले बेस्ट अफ सेभेन फाइनल खेलमा ४–२ को अग्रतासँगै एक दशकपछि उपाधि हासिल गरेको हो।

फाइनलको मोस्ट भ्यालुबल खेलाडी लेकर्सका लेब्रोन जेम्स घोषित भए। उनले २८ स्कोर गर्नुका साथै १४ रिबाउन्ड र १० असिस्ट गरेका थिए। त्यस्तै, टिमका लागि एन्थोनी डेभिस र राजोन रोन्डोले १९÷१९ स्कोर योगदान दिए। लेब्रोन चौथोपटक मोस्ट भ्यालुएबल खेलाडी घोषित भए। एनबीए च्याम्पियनसिपमा माइकल जोर्डन सबैभन्दा बढी ६ पटक मोस्ट भ्यालुबल खेलाडी घोषित भएका छन्।

एनबीए च्याम्पियनसिपमा सर्वाधिक उपाधि जित्नेमा बोस्टन सेल्टिक्ससँगै लेकर्स शीर्ष स्थानमा रहेको छ। दुवै टिमले १७÷१७ उपाधि जितेका छन्। लेकर्सले पछिल्लोपटक एनबीए उपाधि सन् २०१० मा जितेको थियो।

त्यतिबेला कोबे ब्रायन्ट टिमका प्रमुख खेलाडी थिए। उनको यसै वर्ष जनवरीमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो। लेकर्सका लागि २०१५–१६ सिजन सबैभन्दा खराब रहन पुग्यो। टिमले उक्त सिजनमा केवल १७ खेल जित्दा ६५ खेलमा हार व्यहोरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्