राजधानीलाई महामारीबाट जोगाउन आग्रह



  • ईश्वरराज ढकाल, काठमाडौं

कोरोना संक्रमणले आक्रान्त पारेको राजधानीको भित्री शहरमा महामारी फैलने खतरा बढेको छ । भित्री शहरका एक दर्जन वडाध्यक्षले त अब यस्तै पारा हो भने राजधानीमा कोरोना महामारी फैलिने संकेत गरेका छन् ।
राजधानीका न्युरोड, असन, कमलाक्षी, भोटाहिटी, इन्द्रचोक, हनुमानढोका, नरदेवी, यट्खा, रञ्जना गल्ली, ब्रह्मटोल, लगन, जैसिदेवल, मरु, महाबौद्ध, वीर अस्पताल, टँुडिखेल, वटु, भोटेबहाल, गणबहाल, नरदेवी, भेडासिं, किलागल, ट्यागल, लगन, भुरुङखेल, सोह्रखुट्टे, ताल्सिपाखा, मरुहिटीलगायत भित्री शहरमा कोरोना संक्रमणको वृद्धि दर उच्च छ ।

कोरोना संक्रमितको संख्या बढेर अस्पतालका आईसीयू भरिभराउ छन् । बिरामी राख्ने ठाउँ छैन । कोही बिरामी परे बाँच्ने अवस्था छैन । सरकारले कोरोनालाई सामान्य ठान्दा राजधानीमा महामारी फैलिने खतरा बढेको छ । उनीहरुको अपिल छ– ‘सरकार महामहारीबाट राजधानी जोगाऊ ।’

परिवारलाई नै कोरोना संक्रमण भएका धेरै घटना छन् । त्यो भनेको समुदायमा फैलिएको संकेत हो । भित्री शहरको अवस्था हेर्दा भयावह देखिएको छ । अधिकांश पसल खुला छन् । न व्यापारीले स्वास्थ्य मापदण्ड पूरा गरेका छन्, न त ग्राहकले नै ।

सबै वडाध्यक्षले जनतामा चेतनास्तर कमी हुँदा समस्या बढेको बताएका छन् । उनीहरुले माइकिङ गरेर, ब्यानर टाँसेर जनचेतना जगाए पनि अटेर गरेको बताएका छन् । सबै वडाले मास्क वितरण, आइसोलेसनमा बसेकालाई सेनिटाइजर तथा संक्रमितलाई आयुर्वेदिक औषधी वितरण गरिरहेका छन् ।

पछिल्लो एक साता यता राजधानीको भित्री शहरमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । भित्री शहरमा झन्डै ३ हजारको हाराहारीमा संक्रमित देखिएको छ । देखिने क्रम जारी पनि छ । त्यतिकै संख्यामा कन्ट्रयाक्ट ट्रेसिङ गरी पीसीआर परीक्षण गरिरहेका छन् ।

भित्री शहरको पछिल्लो अवस्थाबारे वडाध्यक्षले भन्ने गरेका छन्– ‘अति भयो अब जोगिन सक्ने अवस्था नआउन पनि सक्छ । त्यसैले घरमा बस्ने, कोरोना सत्रंmमणलाई पराजित गर्ने नै हो ।’ विकराल अवस्थामा देखिएको संक्रमणबाट बच्न वडाले गर्नुपर्ने कामबारे वडाध्यक्षहरुको धारणा यस्तो छ ।

पीसीआर परीक्षणलाई निरन्तरता
विकास डंगोल
वडा नं १२
जनसंख्या कम भएकाले सोचेजति संक्रमित बढेको छैन । महिनाको एकपटक पीसीआर परीक्षण गर्ने गरेका छौं । आफ्नो वडा क्षेत्रभित्र पर्ने बैंकका कर्मचारी, किराना पसल, मुख्य व्यापारिक केन्द्रका कर्मचारी, बैंकको सुरक्षा गार्डलगायत भीडभाड हुने क्षेत्रमा परीक्षणको दर बढाएका छौं ।

कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुको पीसीआर परीक्षण गरेका छांै । वडामा स्वास्थ्य स्वयंसेवक परिचालन गरी संक्रमितको अवस्था बुझेका छौं । सूचना जारी गर्ने, मास्क लगाउन आग्रह गर्दै माइकिङ गर्ने, भीडभाडमा भौतिक दूरी कायम गर्न लगाउने, कोरोना संक्रमण भएका व्यक्तिलाई राहत उपलब्ध गराउनेलगायतका कामलाई उच्च प्राथमिकता दिएका छांै ।

अनुगमन गर्ने, भेला भएको स्थानमा निगरानी बढाउने र सुरक्षाकर्मीको सहयोगमा थप जनशक्ति परिचालन गरी संक्रमण नियन्त्रण गर्ने प्रयास गरेका छौं । यो वडामा न्युरोड, ओटु, महाबौद्ध, गुच्चाटोल, भोटेबहाल, टँुडिखेललगायत क्षेत्र छन् ।

हामी सर्वोपरि होइन, सरकारले गर्नुपर्छ
मुकुन्द रिजाल
वडा नं १६
हामी सर्वोपरि होइन । महानगर कार्यपालिकाको बैठकले गरेको निर्णय कार्यान्वयन गरेका छौं । यो वडामा संक्रमणको दर बढ्दो छ । कोभिड नियन्त्रण र रोकथाम समिति बनाएर काम गरिरहेका छौं ।
पीसीआर परीक्षणलाई निरन्तरता दिएका छौं । आइसोलेसनमा बसेका संक्रमितलाई औषधी वितरण गरिरहेका छौं । मास्क र सेनिटाइजर बाँड्ने कामलाई निरन्तरता दिएका छौं । ३४ जना महिला स्यवंसेवक परिचालन गरी सबै संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेको छौं । आवश्यकताको आधारमा अस्पताल पु¥याउने गरेका छांै ।

राजधानीको अवस्था विकराल हुन सक्ने अनुमान गरेका छौं । सबै सचेत नभए राजधानीको भित्री शहरको अवस्था गम्भीर हुन सक्छ ।

घरघरमा सूचना दिएका छौं

न्हुँच्छेकाजी महर्जन
वडा नं १८
हरेक दिनजसो माइकिङ गर्ने गरेका छौं । घर घरमा सूचना पु¥याएका छौं । माइकिङ गर्ने, ब्यानर राख्ने काम गरेका छौं । तैपनि अधिकांश व्यापारी र ग्राहकले वडाको निर्देशन अवज्ञा गर्ने गरेका छन् । हामी सपिङ गर्न आउन पनि नपाइने? मर्निङवाक गर्न नमिल्ने? भन्दै उल्टै थर्काउने गरेका छन् ।

के गर्ने भनेको मान्दैनन् संक्रमण फैलिएर भयाभह भए राम राम भन्नुपर्ने अवस्था आउन सक्छ । गर्नुपर्ने सबै काम गरेका छौं, वडावासीलाई सबै सूचना र सुविधा उपलब्ध गराएका छौं । पीसीआर गरेका छौं । कन्ट्रयाक्ट ट्रेसिङलाई निरन्तरता दिएका छौं । आइसोलेसनमा बसेका संक्रमितलाई निःशुल्क आयुर्वेदिक औषधी वितरण गरेका छौं । घरघरमा स्वास्थ्य स्वयंसेवक खटाएका छौं । कार्यपालिकाको बैठकले गरेका सबै निर्णय कार्यान्वयन गरेका छौं । आफ्नो वडाभित्रका सडक गल्ली र कार्यालयलमा डिस्इफेन्सन गर्ने गरेका छौं ।

के गर्ने जति नै गरे पनि नागरिक सचेत नभएसम्म कोरोना नियन्त्रण गर्न सकिने अवस्था छैन । त्यसैले स्वास्थ्य मापदण्ड पालना गरी कोरोनालाई पराजित गर्नुपर्छ । यो वडामा नरदेवी, किलागल, भुरुङखेल, ट्यागल, ताल्सिपाखालगायतका क्षेत्र छन् ।

वडाबासी सचेत हुनुपर्छ

शशीलाल श्रेष्ठ
वडा नं १९
वडावासी सक्रिय नभएसम्म कोरोनालाई जित्न असम्भव देखिएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरे संक्रमणबाट सजिलै जोगिन सकिन्छ । पीसीआर गरेका छौं । औषधी वितरणलाई निरन्तरता दिएका छौं । सबैलाई निःशुल्क मास्क वितरण गरेका छौं । माइकिङ गरेका छौं । ठाउँठाउँमा ब्यानर राखेर सचेत गराएका छौं ।

संक्रमितको घरमा औषधी बाँडेका छौं। संक्रमितलाई समस्या भएमा स्वास्थ्यकर्मी परिचालन गरी उपचारमा सहयोग गर्ने गरेका छौं । राजधानीको भित्री शहरमा महामारीका रुपमा फैलना थालेको संक्रमणलाई रोक्न वडा कार्यालयले सबै संयन्त्र परिचालन गरेको छ ।

संक्रमित बढिरहेका छन्

राजेन्द्र मानन्धर
वडा नं २०
हालसम्म यकिन तथ्यांक आएको छैन । यो वडामा संक्रमण बढ्दो क्रममा रहेको छ । घट्ने अवस्था देखिएको छैन । महामारी जस्तै जटिल समस्या भएको छ । जनचेतनाको कमीको कारण समस्या बढेको छ । जति पटक सूचना जारी गरे पनि भनेको मान्दैनन् । मास्क लगाउँदैनन् । जथाभावीरुपमा पसल खुला गरिरहेका छन् । स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दा उल्टै गाली गर्न थालेका छन् । चाडबाडको समयमा झन् बढ्ने खतरा देखिएको छ ।

यो वडाको क्षेत्र जैसिदेवल शान्ति निकुञ्ज, काण्ठमण्डप, विष्णुमति खोलाको किनारालगायत पर्छन् । त्यहाँका जनतामा चेतना भए पनि त्यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने भावना देखिएको पाइँदैन ।

अटेर गर्ने बानी हटेन

उदयचूडामणि वज्राचार्य
वडा नं २१
सबै क्षेत्रमा अनुगमन गरेका छौं । निःशुल्क मास्क वितरण गरेका छौं । सबै संक्रमितको घर पुगेर समस्याबारे जानकारी लिने गरेका छौं । सबै वडाको समस्या एउटै छ । अटेर गर्ने परम्परा छाडेका छैनन् । केही व्यापारी र किनमेल गर्न आउनले मास्क लगाएका छैनन् । हामीले सबैलाई सम्झाउने गरेका छौं । वडाले दैनिकजसो जनचेतनामूलक काम गर्ने गरेको छ । महानगरको कार्यपालिकाको बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न दिएको अधिकारअनुसार सबै काम गरेका छौं ।

वडाका स्वास्थ्यकर्मीको टोलीले निरन्तर अनुगमन गरिरहेका छन् । समस्या भए वडामा जानकारी दिन अनुरोध गरेका छौं । सोहीअनुसार वडामा आएको सूचनाको आधारमा काम गरिरहेका छौं । यस वडामा जैसिदेवल, भोटेबहाललगायत स्थानको क्षेत्र पर्छन् ।

जटिल अवस्थामा पुगेका छौं

चिनिकाजी महर्जन
वडा नं २२
महानगरपालिकाको गाइडलाइनअनुसार काम गरिरहेका छौं । तर समस्या झन् झन् जटिल बन्दै गएको छ । कुनै पनि अस्पतालमा आईसीयू छैन् । संकट हुनुअघि जति थियो त्यति मात्रै छ । सरकार चुप लागेर बसेको अवस्था छ । संकटको दायराअनुसार काम गर्न सकेको छैन । अहिले यस्तो अवस्था आएको छ कि अब आफ्नो मान्छे मरेको हेर्नुबाहेक कुनै उपाय छैन ।

सबै आफै सुरक्षित भएको बस्नुको विकल्प छैन । हामी त बाध्य छौं । काम गरिरहेका छौं तर कोही कोरोनाको कारण सिकिस्त भए बचाउने अवस्था नै देखिँदैन । अहिले समुदायका तर्फबाट निःशुल्क पीसीआर गरिरहेका छौं । यो अवस्थामा त्यसको त्यतिको औचित्य देखिँदैन । चिकित्सकले यो व्यक्तिको पीसीआर परीक्षण गर्नु भन्ने प्रेस्किप्सन दिएपछि मात्रै पीसीआर गर्नु उचित हुन्छ ।

अहिले त निःशुल्क पायो भने जसले पनि पीसीआर परीक्षण गर्दा समस्या देखिएको छ । खर्च बढको छ । त्यसको सट्टा अन्य कोरोना नियन्त्रण गर्न अन्य सामाग्री खरिद गर्दा उचित होला । पीसीआर गर्नु भनेको खर्च बढाउनु हो जस्तो लाग्छ ।

वडाध्यक्षको हैसियतमा हामीले सबै काम जारी राखेका छौं । जनचेतना दिएका छौं । माइकिङ गर्ने गरेका छौं । संक्रमितको अवस्थाको बारेमा जानकारी लिने र औषधी वितरण गरेका छौं । यो वडामा वटु, भोटेबहाल, गणबहाल, धर्मपथ, रञ्जना गल्लीलगायत स्थान पर्छ ।

आइसोलेसन व्यवस्थापन गरेका छौं

मचाराजा महर्जन
वडा नं २३
नेपाल सरकारको स्वाथ्य मापदण्ड पालना गराउन माइकिङ गर्ने, विभिन्न क्षेत्रमा सूचना टाँस्ने कामलाई निरन्तरता दिएका छौं । जिल्ला जनस्वास्थ्य कार्यालयबाट खबर आएपछि संक्रमित पहिचान गर्छौं । होम आइसोलेसनमा रहेका संक्रमितकोे अवस्थाबारे जानकारी लिन्छौं । औषधीको व्यवस्थापन गर्छौं ।

संक्रमितलाई समस्या परे समाधान गर्न स्वाथ्यकर्मी परिचालन गर्नेछौं । अस्पताल लैजान सहयोग गर्छौं । सरसफाइमा ध्यान दिएका छौं । मास्क वितरण गरेका छौं । सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छौं । सबैले सहयोग गरेर मापदण्ड पालना गरे संक्रमण हुन सक्दैन ।

सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ । हाम्रो वडामा धर्मपथ, चिंकमुगल, वसन्तपुर यट्खालगायतका क्षेत्र रहेका छन् ।

बाहिरबाट आउनेले संक्रमण बढाए

बालकृष्ण श्रेष्ठ
वडा नं २४
बाहिरबाट आउने बासिन्दाको कारण यो वडामा संक्रमण बढ्दो अवस्थामा छ, भनेको मान्दैनन् । घरमा बस भन्यो किन बस्ने भन्दै अटेर गर्छन् । व्यापार गर्न गयो संक्रमण लिएर आएको कारण समस्या बढेको छ । यही अवस्थाको कारण महामारी फैलन सक्ने खतरा बढेको छ । वडाले सरसफाइ गरिरहेको छ । मास्क बाँडेको छ ।

सेनिटाइजर वितरण जारी राखेको छ । स्थानीयबासीले समस्या गराएको होइन । बाहिरको व्यक्तिले वडाको निर्देशन पालना गरे समस्या हुँदैन । सबै सचेत भएर बस्दा कोरोना संक्रमणबाट जोगिन सकिन्छ ।

हाम्रो वडामा अधिकांश पुराना बासिन्दा छन् । यहाँ सामान बेच्न बाहिरको मान्छे आउने गरेका छन् । पछिल्लो समय उनीहरुमाथि निगरानी बढाएका छौं । यो वडामा इन्द्रचोक, नरदेवी, भेडासिं, हनुमानढोका हुँदै न्युरोड क्षेत्र पर्छन् ।

खेलवाड भयो

नीलकाजी शाक्य
वडा नं २५
कोभिड संक्रमण चाइनामा देखिनेबित्तिकै महानगरको कार्यपालिकाको पहिलो बैठकमा मैले भनेको थिएँ– कोरोना राजधानीको भित्री शहरमा महामारीको रुपमा फैलिन्छ । काठमाडांै मशानघाटमा परिणत हुन्छ । अहिले त्यस्तै अवस्था सिर्जना हुन थालेको छ । अस्पतालामा बेड छैन । बिरामी छट्पटाएर मर्नुपर्ने अवस्था आएको छ ।
मैले भन्नुपर्दा काठमाडौंमा महामारी फैलिसक्यो । भित्री शहरबासीले उपचार नपाएर भकाभक मर्न थालेका छन् । मेरो आँखैअघि १५ लाख रुपियाँ खर्च भयो तर मान्छे बाँचेन । यस्तो अवस्थामा सरकार र महानगरपालिका के हेरेर बसेको छ?

वडाध्यक्षले मात्रै सबै समस्या समाधान गर्न सक्दै सक्दैन । स्वास्थ्यमा खेलवाड गरिएको छ । देशका प्रधानमन्त्रीका मान्छेले अस्पताल पाएका छन् । हामीले केही पाएका छैनौं । कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने दुई तिहाइको सरकार सत्ताको लुछाचँुडीमा तल्लीन छ । कोरोनालाई बेवास्ता गरिएको छ ।

वडाले आइसोलेसनमा पुगेर औषधी दिएको छ । पीसीआर गरिरहेका छौं । राहत वितरणलाई निरन्तरता दिएका छौं । प्रतिनिधि राखेर औषधी छर्किने गरेका छौं । माइकिङ गरेका छौं । सूचना टाँस गरेका छौं । जनचेतनाका कार्यक्रम जारी राखेका छौं । तैपनि जनताले सुनेका छैनन् । कतिपयले त मास्क लगाएकै छैनन् । सामाजिक दूरी कायम गरेका छैनन् । यस्तो अवस्थामा कसरी नियन्त्रण गर्न सकिन्छ?

मैले त सरकारकै कारण कोरोना संक्रमणको संख्या झन बढ्ने आकलन गरेको छु । यो वडामा टंगाल, यट्खा, वाङ्गेमुढा, नगल, ठहिटी, ज्याठालगायतका इलाका पर्छन् ।

नियन्त्रण गर्न लकडाउन गर्नुपर्छ

ख्यामराज तिवारी
वडा नं २६
यो वडामा संक्रमितको संख्या ५ सय पुगिसकेको छ । सरकारले यो अवस्थामा लकडाउन गर्नुपर्छ । लकडाउन गर्नुपर्ने बेलामा चुप लागेर बसेको भान भइरहेको छ । संख्या बढ्दो क्रममा छ । वडाले गर्नुपर्ने सबै कर्तव्य पूरा गरेको छ । वडाबासीलाई निरन्तर सूचित गराइहेका छांै । माइकिङ जारी राखेका छौं ।

हटस्पट बनेको राजधानी र त्यसमा पनि भित्री शहरको अवस्था डरलाग्दो देखिन थालेको छ । समयमै लकडाउन गर्ने वा अन्य कडाइ गर्ने निर्णय नगरे झन् भयावह हुने अवस्था देखेको छु ।

सबै सेवा दिएका छौं

चिनियामान वज्राचार्य
वडा नं २७
वडाबाट संक्रमितलाई दिने सबै सेवा दिएका छौं । आफ्नो क्षेत्रमा पर्ने सबै स्थानको सफाइ गरेका छौं । संक्रमितको संख्या बढ्दो क्रममा छ । औषधी छर्कने, आइसोलेसन सेन्टरमा निःशुल्क औषधी वितरण गरेका छौं । माइकिङ गरेका छौं । प्रचारका सबै काम गरेका छौं ।

सबैभन्दा ठूलो कुरा चेतनाको कमीको कारण समस्या देखिएको छ । संक्रमण नियन्त्रण गर्न वडाले मात्र पहल गरेर हुँदैन । जनता नै जुट्नुपर्छ । यो अवस्थामा सबैले मिलेर काम गरेमात्र कोरोना संक्रमण नियन्त्रण गर्न सकिन्छ । यो वडामा वीर अस्पताल, सञ्चयकोष, महाबौद्धका केही क्षेत्र पर्छन् ।

जनचेतनाको कमी नै समस्या हो

भाइराम खड्गी प्रकाश
वडा नं २८
जनचेतनाको कामलाई निरन्तरता दिएका छौं । ट्रेसिङमा परेका सबैको पीसीआर परीक्षण गराएका छौं । आइसोलेसन सेन्टरमा बसेकालाई औषधी विरतण गरेका छौं ।

समस्या भनेको स्वाथ्य मापदण्ड पालना नगर्नु नै हो । वडाले माइकिङ गरी सबै विषयमा जानकारी दिने गरेका छौं । मापदण्ड पालना नगर्दा संक्रमितको संख्या बढेर गएको छ । घट्ने भन्दा पनि दैनिकजसो बढिरहेको छ । यो वडामा धोबीघाट, कमलपोखरी बागबजार, पुतलीसडकका केही क्षेत्र पर्छन् ।

यसलाई नियन्त्रण गर्न आफैले स्वास्थ्य मन्त्रालयको मापदण्ड पूरा गर्नुपर्छ । हामीले महानगरले दिएको गाइडलाइनअनुसार सबै कर्तव्य पालना गरिरहेका छौं ।

 

प्रतिक्रिया दिनुहोस्